८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अमेरिकी राजदूतको माथि हमला

राजधानी ढाकामा आयोजित विद्यार्थी प्रदर्शनका क्रममा बंगलादेशको राष्ट्रिय झन्डा फहराउँदै विद्यार्थी । तस्बिर :एजेन्सी

ढाका– बंगलादेशको राजधानी ढाकामा बंगलादेशका लागि अमेरिकी राजदूत बोकेको गाडीमाथि हतियारधारी मानिसले शनिबार राति आक्रमण गरेको अमेरिकी अधिकारीहरुले बताएका छन्।

यद्यपि उक्त आक्रमणबाट अमेरिकी राजदूत मार्सिया बर्निक्याट र उनको सुरक्षा समूह कुनै हानीबिना बाहिर निस्कन सफल भए पनि दुई वटा कार भने क्षति भएको अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
बंगलादेशमा हजारौं विद्यार्थी र स्कुले बालबालिकाले सुरक्षित सडकको माग गर्दै साता अघिदेखि जारी राखेको प्रदर्शनकैबीच अमेरिकी राजदूतमाथि आक्रमण प्रयास भएको छ।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । पछिल्लो सडक प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परी कम्तीमा ५० जना घाइते भएको बिबिसीले उल्लेख गरेको छ । विद्यार्थी र स्कुले बालबालिकाले गरेको शान्तिपूर्ण प्रदर्शनमा हिंसा भड्किएको भन्दै अमेरिकी राजदूत बर्निक्याटले आइतबार निन्दा गरेकी छन् । प्रदर्शनकारीमाथि शनिबार भएको आक्रमणको जवाफ खोज्न सत्तारुढ दलका राजनीतिक कार्यकर्ताले उनीहरुको कार्यालयतर्फ अघि बढिरहेका विद्यार्थीलाई पिटेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जसका कारण दर्जनौं प्रदर्शनकारी घाइते भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ‘शान्तिपूर्ण रूपमा आफ्नो प्रजातान्त्रि अभ्यासको प्रयोग गरिरहेका हजारौं युवाविरुद्ध शनिबार भएको हिंसा र निर्दयी आक्रमणलाई कुनै पनि चिजले प्रमाणित गर्न सक्दैन,’ बंगलादेशका लागि अमेरिकी दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

‘बंगलादेशभर विद्यार्थी र स्कुले बालबालिकाले राम्रो यातायात सेवा र सुरक्षित सडकको माग गर्दै गत साता भएको शान्तिपूर्ण प्रदर्शनले समग्र देशको परिकल्पना र वास्तविकताको ध्यान आकृष्ट गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘पार्टी कार्यालयतर्फ अघि बढिरहेका विद्यार्थीबाट आत्मसुरक्षाका लागि पार्टीका कार्यकर्ताले प्रतिक्रिया दिएका हुन्,’ सत्तारुढ अवामी लिगका महासचिव ओबाइदुल क्वादरले पत्रकारहरुलाई बताए।

तीब्र गतिमा रहेको बसले गत आइतबार एक जना केटा र एक जना केटीको हत्या गरेपछि बंगलादेशभर युवा जमातले सडक प्रदर्शनको आयोजना गरिरहेका छन् । सरकारले पटकपटक आफ्नो घरतर्फ जान गरेको आग्रहलाई वेवास्ता गर्दै विद्यार्थी र स्कुले बालबालिकाले सुधारको माग गर्दै प्रदर्शन जारी राखेको बिबिसीले जनाएको छ ।पछिल्ला दुई दिन भने हेल्मेट लगाएका र हातमा लौरो र फलामका रड बोकेका अपरिचत मानिसले प्रदर्शनकारी र पत्रकारलक्षित आक्रमण जारी राखेका छन् । आक्रमणमा सत्तारुढ अवामी लिगसँग सम्बन्धित मानिसको हात रहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

प्रदर्शनकारी र त्यस्ता मानिसबीच भएको झडपलाई क्यामेरामा कैद गर्ने सर्वसाधारण र पत्रकारलाई ती मानिसले आक्रमण गरी उनीहरुका उपकरण ध्वस्त बनाउने गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । विद्यार्थी र स्कुले बालबालिको प्रदर्शन देशव्यापी भएपछि बंगलादेशी सरकारले २४ घण्टाका लागि देशैभरको मोबाइलमा इन्टरनेट सेवा बन्द गराएको छ । प्रदर्शनकारी युवाले भने आफ्नो विचार आदानप्रदान गर्न र संगठित हुन नदिनका लागि सरकारले यस्तो कदम चालेको आरोप लगाएका छन् ।देशको सडक असुरक्षित भएपछि १३ वर्ष जत्तिका देखिने किशोरकिशोरीले गाडीमा यात्रा गर्नुअघि चालकका आधिकारिक कागजात र गाडीको अवस्थाबारे चेकजाँच गर्न थालेको बिबिसीले जनाएको छ ।
 

प्रकाशित: २१ श्रावण २०७५ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App