८ वैशाख २०८१ शनिबार
विचार

एन्टिबायोटिकले निम्त्याएको जटिलता

विभिन्न ब्याक्टेरिया, भाइरस, फन्जाइ आदिबाट उत्पन्न संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनहुँ बढ्दो छ । हुम्ला र कालीकोट जस्ता दूरदराजसम्म पुग्नै पर्दैन, राजधानीका सुविधा सम्पन्न अस्पतालमा समेत संक्रमित रोगको सही पहिचान हुन नसकेर कैयौँले ज्यान गुमाइरहेका छन् । गत साता निधन भएका पत्रकार यादव थपलियाको मृत्युको कारण भाइरल इन्फ्लुएन्जा भनिए पनि  अस्पतालले प्रयोगशाला परीक्षणमा इन्फ्लुएन्जा नेगेटिभ भएको रिपोर्ट दिएको थियो । समाजमा यस्ता सयौँ उदाहरण भेटिन्छ असफल प्रयोगशाला परीक्षणका कारण बिरामीहरू पीडित भएको । संक्रमित रोग लाग्नुको कारण पत्ता लगाउन प्रयोगशाला परीक्षण अत्यन्त आवश्यक हुन्छ । र, डाक्टरले त्यसकै आधारमा औषधि लेख्छन् । तर जब प्रयोगशाला रिपोर्ट नै गलत आउँछ बिरामीले सही उपचार पाउने कुरै हुँदैन।

नेपालको स्वास्थ्य क्षेत्रमा अझैसम्म पनि माइक्रोबायोलोजी विधा परिष्कृत हुन सकेको छैन । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले त्रिभुवन विश्वविद्यालयको विज्ञान सङ्कायमा मेडिकल माइक्रोबायोलोजी पढेकालाई स्वास्थ्य क्षेत्रमा काम गर्न अनुमति दिँदैन । उता त्रिविकै टिचिङमा क्लिनिकल माइक्रोबायोलोजी पढेकाबाट मात्र देशमा आवश्यक जनशक्ति (माइक्रोबायोलोजिस्ट) पूर्ति हुन सकेको देखिँदैन । शायद दक्ष जनशक्ति अभावका कारण होला, देशका अधिकांश स्वास्थ्य संस्थामा अझैसम्म पनि (बिरामीको नमुनामा) ब्याक्टेरिया, भाइरस, परजीवी, फन्जाइ आदिको परीक्षण ज्यादै पुरानो र परम्परागत विधिबाट नै गरेको पाइन्छ । स्मरण रहोस्, विदेशमा जसरी नेपालमा माइक्रोबायोलोजी परीक्षण डिएनए लेभलमा गरिँदैन । तथापि दुई÷चारवटा प्रयोगशालाले भने माइक्रोबायोलोजी परीक्षण डिएनए लेभलमा गर्न सुरु गरेको सुनिएको छ।

सन् २०५० सम्ममा क्यान्सरभन्दा एन्टिबायोटिक प्रतिरोधक ब्याक्टेरियाका कारण बढी मानिसको मृत्यु हुने अनुमान गरिएको छ।

डिएनए र जिनको परीक्षण विधि परम्परागत विधिभन्दा छिटोछरितो हुन्छ र यसलाई विश्वसनीय पनि मानिन्छ । परम्परागत विधिमा ७२ घण्टा लाग्ने जाँच एक घण्टामा नै गर्न सकिन्छ डिएनए परीक्षणमा । तर हालसम्म त्यस्तो प्रविधि आमजनताको पहुँच र जानकारीमा पुग्न सकेको छैन । विदेशमा स्थापित प्रयोगशाला विधिलाई देशको स्वास्थ्य क्षेत्रमा भित्राउने प्रयास नभएकोचाहिँ होइन । हाल नेपालमा सहरी क्षेत्रका स्वास्थ्य प्रयोगशालामा संक्रमित रोगको परीक्षणमा उपयोगी रियल टाइम पिसिआर, ब्याकटेक, फ्लोसाइटोमेट्री जस्ता उपकरणको व्यवस्था गरेको भेटिन्छ तर नेपालमा ती उपकरण सञ्चालन गर्ने अति दक्ष जनशक्ति छैनन् । महँगा उपकरणचाहिँ किन्ने, सरकारी दस्तावेजमा लिपिबद्ध गर्ने तर त्यसको सञ्चालनमा ध्यान नदिने प्रवृत्तिले गर्दा देशको स्वास्थ्य क्षेत्रमा प्रयोगशाला परीक्षण सेवामुखी हुन सकेको छैन।

हाल मानिसको जीवनशैली खानपिन र वातावरणमा आएको परिवर्तनका कारण दिन÷प्रतिदिन नयाँखालका माइक्रोअर्गानिज्म वा जैविक वस्तु देखा पर्दैछन् । र, तिनको बिस्तार अग्रगतिले हुनुमा विभिन्न वैज्ञानिक कारण देखिन्छ । त्यसमध्ये एक हो– एन्टिबायोटिकको गलत वा अनावश्यक प्रयोग । यस विषयमा सञ्चारमाध्यममा यथेष्ठ चर्चा पनि यसअघि नै भइसकेको छ । नेपालमा मात्र होइन विश्वव्यापीरूपमा नै एन्टिबायोटिकको अत्यधिक प्रयोगका कारण कैयौँ नयाँ संक्रमित ब्याक्टेरिया देखा परिरहेका छन् । चालु औषधि प्रतिरोधात्मक क्षमता देखाउने त्यस्ता ब्याक्टेरियाले बिरामीको उपचारमा थप चुनौती थपेका छन् । र, यस अवस्थालाई एन्टिबायोटिक प्रतिरोधात्मक समस्या भनिन्छ । त्यस्ता एन्टिबायोटिक प्रतिरोधात्मक ब्याक्टेरियाले गर्दा देखा पर्ने रोगको उपचारमा नयाँ एन्टिबायोटिकको आवश्यकता पर्छ । तर हाल विश्वमा नयाँ एन्टिबायोटिकको आविष्कारमा सुस्तता आएको छ । त्यसैले त्यस्ता ब्याक्टेरियाको रोकथामका लागि एन्टिबायोटिकको सही प्रयोग गर्नुपर्छ ताकि संक्रमित ब्याक्टेरिया न्यूनीकरण गर्न सकियोस् । विदेशमा डाक्टरको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक किन्न पाइँदैन तर नेपालमा यसलाई बजारमा खुलै छाडिएको छ । जसका कारण नेपालमा एन्टिबायोटिक प्रतिरोधात्मक ब्याक्टेरियाको समस्या डरलाग्दो छ।

बिरामीमा एन्टिबायोटिक प्रतिरोधक समस्या देखिएपछि उपचार खर्च बढ्ने, उपचारमा थप समय लाग्ने र कहिलेकाहीँ मृत्युसम्म हुने गरेको छ । विश्वमा हाल प्रतिवर्ष करिब ७ लाख मानिसको मृत्यु औषधि प्रतिरोधक ब्याक्टेरियाका कारण हुने गरेको अनुमान छ । सन् २०५० सम्ममा क्यान्सरभन्दा एन्टिबायोटिक प्रतिरोधक ब्याक्टेरियाका कारण बढी मानिसको मृत्यु हुने अनुमान गरिएको छ । ब्याक्टेरिया र भाइरसमात्र होइन, नेपालमा फन्जाइबाट हुने संक्रमणको पनि सही प्रयोगशाला परीक्षण हुँदैन भन्ने आममानिसको आरोप छ । मधुमेहका बिरामीमा फन्जाइको संक्रमणका कारण हुन सक्ने ‘फुट अल्सर’ देखि ‘हिस्टोप्लाज्मा’ सम्मको परीक्षण विधि पुरानै छ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार खासमा तिनको परीक्षण डिएनए लेभलमा नै हुनुपर्ने हो।

महँगा उपकरणचाहिँ किन्ने, सरकारी दस्तावेजमा लिपिबद्ध गर्ने तर त्यसको सञ्चालनमा ध्यान नदिने प्रवृत्तिले गर्दा देशको स्वास्थ्य क्षेत्रमा प्रयोगशाला परीक्षण सेवामुखी हुन सकेको छैन।

वैज्ञानिकका अनुसार एन्टिबायोटिक प्रतिरोधक ब्याक्टेरिया हाम्रो शरीरमा प्रवेश गर्ने विविध तरिका छन् । हावामा हुन सक्ने एन्टिबायोटिक प्रतिरोधक जिन सजिलै स्वास/प्रस्वासको माध्यम मानव शरीरमा प्रवेश गर्छन् । त्यस्तै वातावरणमा पाइने कुनै संक्रमित ब्याक्टेरियाबाट अर्को असंक्रमित ब्याक्टेरियामा जेनेटिक मेटेरियल (डिएनएको सानो भाग) ‘होराइजेन्टल ट्रान्फर’ भएर पनि नयाँ संक्रमित ब्याक्टेरिया पैदा हुन सक्छ । यसै सम्बन्धमा एक अध्ययनअनुसार प्रशोधित खाद्यान्नले पनि मानव शरीरभित्र भएको माइक्रोबायोम र रसायनमा गडबडी ल्याउने रहेछ । ट्रेहालोज एक किसिमको सुगर हो जसलाई प्रशोधित खाद्यान्नको फ्रिज हुने विन्दु (तापक्रम) घटाउन र आइसक्रिम बनाउँदा पनि प्रयोग गरिन्छ । मानव शरीरभित्र पाइने केही ब्याक्टेरियाले ट्रेहालोजलाई उपयोग गरेको पाइन्छ । यसको अर्थ प्रशोधित खाद्यान्नमा भएको पदार्थले रोग प्रतिरोधात्मक क्षमता भएका ब्याक्टेरिया हुर्काउन सहयोग गर्ने अनुमान गरिएको छ।

कम्बिनेसन ड्रग
बढ्दो संक्रमण रोकथाम गर्न नयाँ एन्टिबायोटिकको आविष्कारमा शिथिलता आएपछि वैज्ञानिकको ध्यान हाल ‘कम्बिनेसन ड्रग’ बनाउनेमा केन्द्रित भएको छ । अचेल त्यस्ता प्रतिरोधक ब्याक्टेरियाबाट हुने संक्रमित बिरामीको उपचारमा एउटा एन्टिबायोटिकमात्र प्रयोग नगरेर ‘कम्बिनेसन ड्रग’ प्रयोग गर्ने चलन छ । एउटा एन्टिबायोटिकमा अर्को रसायन वा एन्टिबायोटिक मिसाएर नयाँ फर्मुलाअनुसार ‘कम्बिनेसन ड्रग’ बनाइन्छ । अन्तर्राष्ट्रिय शोध पत्रिका ‘नेचर’ मा प्रकाशित अनुसन्धानका अनुसार स्पेक्टिनोमाइसिन नामक एन्टिबायोटिकमा भ्यालिन भन्ने रसायन मिसाएर बनाएको औषधि (कम्बिनेसन ड्रग) संक्रमित रोग गोनोरियाको उपचारमा उपयोगी देखिएको थियो।

विश्वमा ब्याक्टेरिया, जस्तै– ‘इकोलाइ’, ‘सालमोनेला’, ‘सुडोमोनस’ का प्रजातिमा बढी एन्टिबायोटिक प्रतिरोधात्मक अवस्था देखापरेको छ । र, त्यस्ता ब्याक्टेरियाबाट हुने रोगको निवारणका लागि नयाँ औषधि विकास गर्न वैज्ञानिकको ध्यान केन्द्रित छ । यसै क्रममा हालै युरोपियन मलिक्युलर बाइलोजी ल्याबले ३ हजार कम्बिनेसन ड्रग बनाएर परीक्षण गरेको थियो । त्यसमध्ये केहीले राम्रै परिणाम देखाएको छ । भविष्यमा संक्रमित रोगको उपचारमा त्यस्ता कम्बिनेसन ड्रग अझ उपयोगी हुने आशा गरिएको छ । र, नेपालमा यस विषयमा थप अध्ययन र अनुसन्धानको आवश्यकता देखिन्छ । नेपालमा पनि हाल संक्रमित रोग (क्षयरोगलगायत) को उपचारमा कम्बिनेसन ड्रगकै प्रयोग हुँदै आएको छ।

एन्टिबायोटिकको असर पत्थरीमा
असावधानीपूर्वक प्रयोग गरिएको एन्टिबायोटिककै कारण थप संक्रमित ब्याक्टेरिया हुर्किरहेको चर्चा गरिरहँदा यसका कारण हाम्रो शरीरभित्रको माइक्रोबायोममा पर्ने असरबारे पनि चर्चा गर्नु सान्दर्भिक हुन्छ । बच्चा र वयस्क जसले सल्भास, सेफालोसपोरिन, फ्लोरोक्युनोलोन, पेनिसिलिन र नाइट्रोफ्युरान्टोइन जस्ता एन्टिबायोटिक सेवन गर्छन् तिनमा भविष्यमा किड्नीमा पत्थरी जम्ने रोग देखा पर्न सक्ने अध्ययनले देखाएको छ । जर्नल अफ अमेरिकन सोसाइटी अफ नेफ्रोलोजीमा हालै प्रकाशित शोधमा उक्त तथ्य उल्लेख छ । अनुसन्धानकर्ताले करिब ५० हजार बिरामी (कन्ट्रोल स्याम्पलसमेत) को पुरानो मेडिकल रेकर्ड हेरेर गरेको अध्ययनमा उक्त विषय फेला परेको हो । एन्टिबायोटिकले विश्वमा करोडौँ मानिसलाई संक्रमित रोगबाट बचाइरहेको कुरामा शंकै छैन । र, उक्त शोधमा संलग्न बेलायती अनुसन्धानकर्ताले एन्टिबायोटिकको प्रयोग नै रोक्नुपर्छ भन्ने मत राखेका छैनन् तर तिनको सही प्रयोग गर्नुपर्ने धारणा राखेका छन् । जस्तै– भाइरसबाट हुने संक्रमणमा एन्टिबायोटिक्सको प्रयोग काम छैन।

वैज्ञानिकका अनुसार एन्टिबायोटिक्सले हाम्रो शरीरभित्र हुने माइक्रोअर्गानिज्म (ह्युमन माइक्रोबायोम) मा जैविक परिवर्तन ल्याउन सक्छ । माइक्रोबायोम भनेको ब्याक्टेरिया, भाइरस र फन्जाइ भन्ने बुझिन्छ । अध्ययनमा शरीरभित्रको माइक्रोबायोममा एन्टिबायोटिकको प्रयोगले ल्याउने परिवर्तनलाई किड्नी पत्थरीसँग जोडिएको छ । तर यस विषयलाई प्रमाणित गर्ने ठोस वैज्ञानिक तथ्य भने देखिँदैन । अनुसन्धानकर्ताले अध्ययन गरेका अन्य सात एन्टिबायोटिक, जस्तै– माइक्रोलाइड, टेट्रासाइक्लिन आदिले भने किड्नीमा पत्थरी रोग पैदा हुन सहयोग पु-याएको देखिएन।

यसै क्रममा किड्नी पत्थरीमा भएको क्यालियमबाट निकालिएका करिब ७० प्रतिशत ब्याक्टेरियाले विभिन्न एन्टिबायोटिकसँग प्रतिरोधक गुण देखाएको भेटिएको छ । यसबाट के अनुमान गर्न सकिन्छ भने मूत्रथैलीभित्रको माइक्रोबायोममा बिरामीले पहिला सेवन गरेको एन्टिबायोटिकले असर गर्ने रहेछ । फलस्वरूप ती ब्याक्टेरियाले पत्थरी बन्न मद्दत गर्ने अनुमान गरिएको छ । तर यस अनुसन्धानमा उल्लेख भएअनुसार माथि उल्लिखित पाँच एन्टिबायोटिककै कारण मात्र किड्नी पत्थरीको खतरा हुने होइन । अर्को पक्ष कुनै व्यक्तिमा किड्नी पत्थरी देखा पर्न वर्षौँ लाग्न सक्छ र करिब १० प्रतिशतमात्र त्यसको असर देखिने गर्छ । विज्ञहरूले किड्नी पत्थरीको केस बढ्नुमा धेरै अवधारणा राखेका छन्, जस्तै– भूमण्डलीकरणका कारण तापक्रम बढेकाले शरीरमा सुक्खापन बढ्नु र खानपिनका कारण शरीरमा माइक्रोबायोममा हुने जैविक परिवर्तन आदि।

अन्तमा, सरकारले जनस्वास्थ्यलाई ख्याल गर्दै देशका सबै स्वास्थ्य संस्थामा माइक्रोबायोलोजी प्रयोगशालालाई आधुनिकीकरण गर्दै जटिलखालका संक्रमित रोगको परीक्षणमा ध्यान दिनुपर्छ । साथै डिएनए परीक्षण विधि र यसको उपयोगिताबारे आवश्यक तालिम व्यवस्था गर्नुपर्छ ताकि आमजनताको उपचारमा गुणात्मक सुधार ल्याउन सकियोस्।

प्रकाशित: २१ श्रावण २०७५ ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App