८ वैशाख २०८१ शनिबार
अर्थ

‘सिक्टा आयोजनामाथि छानबिनमा ढिलाइ नहोस्’

फाइल फाेटाे : नागरिक

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाई आयोजनाको मूल नहर सञ्चालन अगाडि नै परीक्षणका क्रममा दुईपटक भत्कन पुगेको छ।

कृष्णप्रसाद श्रेष्ठ
केन्द्रीय सदस्य, उद्योग वाणिज्य महासंघ
सरकारले सिक्टा सिँचाइ आयोजनाका लागि वर्षेनी एक अर्बभन्दा बढी बजेट खन्याइरहेको छ । तर, कामको गुणस्तर चित्त बुझ्दो छैन ।

कमसल निर्माणका कारण सिक्टाको नहर दीर्घकालीन समयसम्म टिक्ने अवस्था देखिदैन । अझैपनि २० औं ठाउँ भत्किने अवस्थामा छन् । पटक–पटक भत्किने समस्या किन आइरहेको छ । यसको जिम्मेवारी सम्बन्धित ठेकेदार र आयोजना कार्यालयले लिनुपर्छ । सिक्टाको सुक्ष्म अध्ययनका लागि संसदीय टोली चाँडोभन्दा चाँडो पठाउनुपर्छ । सिक्टामाथि छानबिनमा ढिलाइ नहोस् ।

 

बलबहादुर चन्द
अध्यक्ष, उच्च अदालत बार नेपालगन्ज
सिक्टा सिँचाइ आयोजनामा अहिले देखिएको समस्या गम्भीर छ । नहर सञ्चालनमा नआउँदै भत्किनुले यसको गुणस्तरमाथि प्रश्न उठ्नु स्वाभाविक हो ।

यसको लागि सिँचाइ मन्त्रालयले तत्काल अनुगमन गरेर समाधान गर्नुपर्छ । छानबिनका क्रममा सम्बन्धित निकाय, निर्माण कम्पनी, स्थानीय प्रशासन, सरोकारवाला, प्रभावित क्षेत्रका बासिन्दाको पनि कुरा सुन्नुपर्छ । सिक्टा नहरलाई सरकारले दीर्घकालीन समयसम्म टिक्ने गरी बलियो बनाउनुपर्छ । सार्वजनिक सरोकारको विषय भएको हुनाले यसमा हाम्रो पनि ध्यानाकर्षण भएको छ ।

हेमन्त कर्माचार्य
पूर्वकेन्द्रीय उपाध्यक्ष, नेपाल पत्रकार महासंघ
सिक्टा सिँचाइ आयोजनाको नहर भत्किने समस्या अहिलेदेखको होइन । यसअघि २०७३ मा भत्किएको नहरलाई ठेकेदारले त्यतिखेर हतारहतारमा बनायो ।

सरकारले आयोजनाको गुणस्तर छानबिनमा कुनै चासो देखाएन । अहिले त्यही समस्या दोहोरिएको छ । यो हिसाबले सिक्टा आयोजना दीर्घकालीन समयसम्म टिक्नेमा शंका नै छ । आयोजना निर्माणको काममा सुरुदेखि संलग्न कर्मचारी र ठेकेदारलाई सरकारले कानुनी दायरामा ल्याउनुपर्छ ।

लोकबहादुर शाह
कानुन व्यवसायी
सबैभन्दा पहिला त सम्बन्धित निकायले सिक्टा नहरको अनुगमन गर्नुपर्छ । डिजाइन अनुसारको काम भएको छ कि छैन । छैन भने डिजाइन अनुसारको काम गर्न लगाउनुपर्छ ।

यदी डिजाइनमै त्रुटी भएको हो भने संलग्न कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । यो राष्ट्रिय गौरवको आयोजना हो, यसलाई राज्यले दीर्घकालीन समयसम्म चल्ने खालको बलियो बनाउनुपर्छ । सम्बन्धित पक्ष समयमै सचेत हुनुपर्छ ।

वसन्त गौतम
कानुन व्यवसायी
सरकारले राष्ट्रिय गौरवको आयोजनामा निगरानी बढाउन अनुगमन संयन्त्र बनाउनुपर्छ । आयोजनाको काम मापदण्ड अनुसारको छ कि छैन भन्ने अनुगमन पहिलेदेखि नै हुनुपथ्र्यो ।

दीर्घकालीन समयसम्म असर पुर्याउने यस्ता योजनालाई सरकारले चासो दिनुपर्छ । जसरी सिक्टा सिँचाइ आयोजना निर्माणकै अवस्थामा भत्किन पुगेको छ । यो हिसाबले दीर्घकालीन समयसम्म आयोजना रहन्छ कि रहँदैन भन्ने कुरालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ।

 

अशोक कर्माचार्य
समाजसेवी
सिक्टाको नहर पटक–पटक भत्किनु बाँकेवासीका लागि दूर्भाग्य हो । सिक्टाको गुणस्तरमाथि प्रश्न उठ्नु अस्वाभाविक होइन । अर्बौं रुपैयाँ खर्च भइसक्दा पनि नहर परीक्षणकै क्रममा भत्किरहेको छ । यसले गर्दा ‘सरकारको लगानी बालुवामा पानी’ भएसरह त हुने होइन भन्ने चिन्ता थपिएको छ ।

सुरेशकुमार गौतम
अधिकारकर्मी
सिक्टा सिँचाइ आयोजना पटक–पटक भत्किनुले यसको गुणस्तरमाथि प्रश्न चिन्ह खडा भएको छ । सरकारले अर्बौं रुपैयाँ खर्च गरेर नहर बनाउँदै जाने, पछाडिबाट भत्किदै गर्ने अवस्था आउने हो भने राज्यको बजेटको सहीरुपले उपयोग हुन सक्दैन ।

सिक्टामा पटक–पटक समस्या दोहोरिन नदिन सरकारलेसमस्याको दीर्घकालीन समाधान खोज्न जरुरी छ । सिक्टामा भएका त्रुटीविरुद्ध सार्वजनिक सरोकारसम्बन्धि मुद्दा हाल्न पनि पछि पर्नु हुँदैन ।

झलक गैरे
पत्रकार
सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटक–पटक भत्किरहेको छ । सिक्टाको गुणस्तरबारे मिडियामा बारम्बार उठिरहेको छ । अहिलेसम्म किन सरकारले यो विषयलाई गम्भीररुपमा लिएको छैन ? स्थानीय स्तरबाट दबाव बढिरहेको छ । सिक्टा आयोजनालाई अब संसदीय समितिले छानबिन गर्नुपर्छ । कमजोरी कहाँनिर भएको हो, कसबाट भएको हो ? यसको उचित छानबिन होस् ।

प्रकाशित: २१ श्रावण २०७५ ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App