८ वैशाख २०८१ शनिबार
राजनीति

बिम्स्टेक सम्मेलनमा पुरानै बुलेट प्रुफ गाडी

काठमाडौं - बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सरकारले सार्क सम्मेलनमा प्रयोग भएका बुलेट प्रुफ गाडी नै प्रयोग गर्ने भएको छ। गृह मन्त्रालयले सम्मेलनको आवश्यक तयारीका क्रममा आइतबार बैठक डाकी सार्क सम्मेलनमा प्रयोग गरिएका र कतार सरकारले सहयोगस्वरुप दिएका बुलेट पु्रफ गाडी प्रयोग गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयले सम्मेलनमा भाग लिन आउने विशिष्ट पाहुनाको सुरक्षाका लागि आवश्यक तयारी गरिरहेको छ। मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘सम्मेलनमा हामीसँगै भएका गाडी प्रयोग गरिनेछन्। मन्त्रालयले कुनै पनि गाडी खरिद गर्नेछैन ।’ बिम्स्टेक सम्मेलन भदौ १४ र १५ गते काठमाडौंमा हुने भएको छ।

कतार सरकारले नेपाल सरकारलाई नौवटा बुलेट प्रुफ गाडी उपहार दिएको थियो। सन् २०१४ मा काठमाडौंमा आयोजना गरिएको सार्कको १८औं शिखर सम्मेलनअघि कतार सरकारले मर्सिडिज बेन्ज कार दिने भनिए पनि त्यति बेला प्राविधिक कारणले दिन नसकेपछि भारतबाट केही दिनका लागि गाडी ल्याएर काम चलाइएको थियो। ‘हामीसँग भौतिक सामग्री जे उपलब्ध छन्, तिनीहरुको प्रयोग हुनेछ। सरकार यति बेला मितव्ययी बनिरहेको छ। त्यसकारण पनि नयाँ सवारीसाधन किन्न सम्भव छैन’, उनले भने।

विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि, २०७० अनुसार अति विशिष्ट पाहुनाको सुरक्षा व्यवस्थापनका लागि चारवटै सुरक्षा निकायलाई एकीकृत रुपमा परिचालन गरिएको सुवेदीले जनाएका छन्। नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पर्याप्त मात्रामा खटिने उनले बताए। नेपाली सेनाले आवश्यकताअनुसार सुरक्षाकर्मी खटाउने जनाएको छ भने सशस्त्र प्रहरीले पनि नेपाली सेना र नेपाल प्रहरीलाई सहयोग पुग्नेगरी खटाउने जनाएको छ । त्यस्तै नेपाल प्रहरीले सो सम्मेलनको लागि ९ हजार ६ सय ४७ प्रहरी खटाउने निर्णय गरी आवश्यक तयारी गरिसकेको छ । ‘विशिष्टि पाहुनाका लागि नेपाली सेनाले सुरक्षा जिम्मेवारीको नेतृत्व गर्नेछ भने अन्य जिम्मेवारीमा नेपाल प्रहरीको भूमिका रहनेछ’, प्रहरी प्रधान कार्यालयका प्रवक्ता शैलेश थापा क्षेत्रीले भने।

‘मुख्यतया सवारीमार्ग सुरक्षा, निवास, स्थान र कारगेट सेक्युरिटी नेपाल प्रहरीको जिम्मेवारीभित्र पर्छ। त्यसको तयारीमा जुटेका छौं’, थापाले भने। उनका अनुसार महानगरीय प्रहरी कार्यालयका प्रमुख मनोज न्यौपानेको संयोजकत्वमा समिति बनाएर सुरक्षा तयारी भइरहेको छ।

बिम्स्टेकले गरिबी निवारण, व्यापार तथा लगानी, यातायात र सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, कृषि, मत्स्यपालन, वातावरण तथा विपद् व्यवस्थापन, जनस्वास्थ्य, सदस्य देशका जनता–जनताबीचको सम्पर्क विस्तार, प्रतिआतंकवाद र अन्तरदेशीय अपराध नियन्त्रण तथा जलवायु परिवर्तनलाई प्राथमिकताका क्षेत्रमा राखेको छ। बिम्स्टेकको स्थापना सन् १९९७ मा भएको हो। बिम्स्टेकमा नेपाल, बंगलादेश, भारत, म्यान्मार, थाइल्यान्ड र श्रीलङ्का सदस्य छन्।

परराष्ट्र मन्त्रालयले साउन २६ गतेमा परराष्ट्र सचिवस्तरीय बैठक गर्ने भएको छ। सो बैठकमा सातै राष्ट्रका विदेश सचिव सहभागी हुनेछन्। सो बैठकले बिम्स्टेक सम्मेलनका लागि आवश्यक अजेन्डा तय गर्नेछ। त्यस्तै भदौ १३ गते बस्ने बिम्स्टेक सदस्य राष्ट्रहरुको परराष्ट्र मन्त्रीस्तरीय बैठकले ती अजेन्डा अनुमोदन गरेपछि सम्मेलनमा सरकार प्रमुखहरुले हस्ताक्षर गर्नेछन्।

प्रकाशित: २१ श्रावण २०७५ ०१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App