७ वैशाख २०८१ शुक्रबार
समाज

‘नाका नखुल्दा’ मौलाउँदै तस्करी

पशुपतिनगर बजार ।

इलाम–कहिले वन्यजन्तुका अंग र कहिले हतियार तथा लागूऔषधसहित मानिस पक्राउ पर्ने गरेको जिल्लाको पूर्वी भारतीय सीमाबाट चोरी–तस्करी अत्यधिक भइरहेको छ। केही सातायता प्रहरीले दिनहुँजसो सीमावर्ती क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको सामग्री बरामद गरिरहेको छ।    

यसरी अवैध रूपमा सामग्री ल्याउने मानिस चाहिँ किन समातिँदैनन् त? प्रहरीको सधैं रेडिमेड जवाफ छ, ‘प्रहरी देख्नेबित्तिकै तस्कर सामान छाडेर भाग्ने गरेकाले पक्राउ गर्न सकिएन।’

तर, पटक–पटक सामग्री बरामद भएपनि तस्करीमा संलग्न व्यक्ति भने पक्राउ पर्दैनन्। यसरी अवैध रूपमा सामग्री ल्याउने मानिस चाहिँ किन समातिँदैनन् त? प्रहरीको सधैं रेडिमेड जवाफ छ, ‘प्रहरी देख्नेबित्तिकै तस्कर सामान छाडेर भाग्ने गरेकाले पक्राउ गर्न सकिएन।’

पशुपतिनगरमा भन्सार कार्यालय नै रहेपनि आसपासका स्थानबाट वर्षाैंदेखि यहीक्रम चलिरहेको छ। दसैं–तिहारलगायत चाडबाडको समय सुरु हुन लागेकाले भदौयता मात्रै दर्जनौं पटक उपभोग्य सामान बरामद गरेको प्रहरी तथ्यांकले देखाउँछ। भारतबाट भन्सार तिरेरसमेत ल्याउन नपाइने रासायनिक मल, खानेतेललगायत पनि यही मौकामा भित्रिरहेका छन्।

पशुपतिनगर इलाकाबाट खटेको प्रहरीले शनिबार बिहान साढे ३ बजेतिर पशुपतिनगर–४ बाट कुर्ता–सुरुवाल र पर्दाको पोका कपडा बरामद गर्यो। भारतबाट ल्याइँदै गरेको १ लाख ३ हजार मूल्य अनुमानको यो सामग्री प्रहरीले पशुपतिनगर भन्सारमा आइतबार बुझायो। आइतबार नै भन्सारमा ६१ हजार मूल्यको अन्य उपभोग्य सामग्री पनि बरामद भएको भन्सारले जनाएको छ।
कार्यालयका अनुसार भदौ ३ मा ३ लाख ९२ हजार रुपैयाँको चिनी बरामद भएको थियो। भदौ १७ मा चालक र गाडीसहित ४ लाख २५ हजार

मूल्यको उपभोग्य सामग्री भन्सारमा बुझाइएको छ। त्यसैदिन ९९ हजार रुपैयाँ बराबरको कुर्ता–सुरुवाल पनि प्रहरीले बरामद गरी भन्सारमा बुझाएको थियो। भदौ १९ मा प्रहरीले १२ हजार मूल्यको चुरोट बरामद गरी बुझाएको थियो भने भदौ २१ मा गाडीका पार्टसहित ५ लाख ३ हजार रुपैयाँको सामान भन्सारमा बुझाएको छ। साउनमा भने तस्करीका साबुन, चिनी, बिस्कुटलगायत केही सामान मात्र बरामद गरिएका थिए।
पशुपतिनगर प्रहरीले चालू आर्थिक वर्षयता मात्रै करिब १६ लाख ८६ हजार मूल्य बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको इन्स्पेक्टर महेश खनालले बताए। उनका अनुसार साउनमा १३ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद भएकामा भदौमा ह्वात्तै बढेर यो दर १६ लाख १५ हजार पुगेको छ। यो अवधिमा १७ हजार ८ सय रुपैयाँको मदिरा बरामद गरी नष्ट गरेको उनले बताए।

‘चाडबाडको सिजन लागेकाले भदौमा अवैध रूपमा भारतबाट सामान आउनेक्रम दिनहुँजसो भइरहेको छ,’ उनले भने, ‘हामीले पनि यो सिजनमा गस्ती बढाएका छौं। सके र भेटेसम्म नियन्त्रण पनि गरिरहेका छौं।’ यो अवधिमा ३ व्यक्तिसमेत पक्राउ परेका छन् । केही सवारी साधन पनि नियन्त्रणमा लिएर भन्सारमा बुझाएको उनले बताए।

अवैध रूपमा सामान आयातको अवस्था हेर्दा अहिले तस्करी चुलिएको देखिन्छ। तर, यो तथ्यांक पनि प्रहरीले नियन्त्रणमा लिएका सामग्रीको मात्रै हो। प्रहरीले देखेको नदेख्यै गरेका र उनीहरूलाईसमेत छलेर ल्याउने सामान त्यसको चौगुणा हुनेगरेको स्थानीय नै बताउँछन्। छब्बिसेका एक स्थानीय भन्छन्, ‘प्रहरी एकातिर हुन्छ, अर्कातिरबाट सामान आइहाल्छ नि! कतिपय सामान ल्याएको त प्रहरीले पनि देखेको नदेख्यै गरिदिन्छ।’

सामान तस्करीमा नेपाल र भारत दुवैतिरका व्यापारीको संलग्नता हुने गरेको छ। तर, सामान ल्याएका बेला मुख्य व्यवसायीभन्दा उनीहरूका कामदार चाहिँ सामानसँगै हुने गरेका छन्। प्रहरीले सामान बरामद गरेपनि ‘थोरै सामान ल्याउने त हुन्’ भनेर मानिसलाई चाहिँ छाडिदिने गरेकाले तस्करी मौलाएको स्थानीय बताउँछन्। पशुपतिनगर बजारकै एक अगुवा भन्छन्, ‘प्रहरीले कडाइ गर्ने हो भने तस्करीको समस्या धेरै नियन्त्रण भइहाल्छ।’
 

किन हुन्छ तस्करी ?

पशुपतिनगर आसपासबाट तस्करी मौलाउनुको कारण स्थानीय र प्रहरीको कमजोरी मात्र पनि होइन। भन्सार कार्यालयलाई शुल्क तिरेरै सामान ल्याउने व्यवस्था नहुँदा यहाँका बासिन्दाले कतिपय दैनिक उपभोग्य सामग्री ल्याउनसमेत कष्ट झेल्नुपरेको गुनासो वर्षाैंदेखि गरिरहेका छन्।

पशुपतिनगर नाका नखुल्दा उनीहरूले सामान आयात र निर्यातमा समस्या झेल्नुपरेको बताएका हुन्। स्थानीय व्यवसायी मिलन क्षेत्रीले पशुपतिनगर नाका नखुल्दा व्यवसायी मात्र होइन, सर्वसाधारणले पनि सधैं दुःख पाइरहेको बताए। ‘नाका खुलेको छैन भनेर भारतबाट भन्सार छलेरै सामान ल्याउनुपर्छ भन्ने चाहिँ होइन, अवैध आयात–निर्यात नियन्त्रण गर्नैपर्छ,’ उनले भने, ‘तर, सामान ल्याउने–लैजाने वैध बाटो खोलिमाग्न दर्जनौंपटक सरकारी अड्डा धाएपनि सरकार भने हाम्रो माग सुनेको नसुन्यै गरिरहेको छ।’ उनले पशुपतिनगर नाका खुलाउँदा मेची पहाड मात्र होइन, मध्यपहाडी लोकमार्गका दर्जनौं सहरलाई भारतसँगको नाका सहज हुने बताए।

यो नाका खोल्न पटक–पटक माग गरेपनि कसैले चासो नदिएको जिल्लाका अन्य व्यवसायीको पनि गुनासो छ । पहाडी जिल्लाको ‘सबैभन्दा सुरक्षित’ मानिने पशुपतिनगर नाका खुल्दा पूर्वी पहाडका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटालगायत जिल्ला प्रत्यक्ष लाभान्वित हुनेछन्। यो नाका आसपासबाट बर्सेनि लाखौं रुपैयाँबराबरको सामग्री अवैध रूपमा आयात भइरहेको सशस्त्र प्रहरी र भन्सारकै तथ्यांक छ। तर, स्थानीयले भने ‘भन्सार शुल्क तिरैरै सामान आयात–निर्यात गर्न पाउँ’ भन्ने माग राखेपनि वर्षाैंसम्म पूरा हुन नसकेको हो ।

पशुपतिनगरमा मूल भन्सार नै भएपनि भारततर्फ ल्यान्ड कस्टम अफिस हुनुपर्नेमा कस्टम चेक पोइन्टमात्रै हुँदा यताको भन्सार कार्यालय भएको अधिकारसमेत खुम्च्याएर बसेको छ। भारतबाट आएको सामान बिल काटेर नेपाल पठाउने कार्यालय भारततर्फ छैन। यताबाट बिल काटेर पठाएपनि भारततर्फ सामानको राजस्व लिने निकाय छैन। दुवैपट्टि अधिकारसम्पन्न निकाय नहुँदा पशुपतिनगर भन्सारको काम चाहिँ भारतबाट चोरीका सामान आए नियन्त्रण र लिलामी गर्नेमात्रै भएको भन्सार कार्यालय स्रोतले जनाएको छ। अवैध रूपमा कुनै सामान आए नियन्त्रण गर्न जनशक्तिसमेत कम छ।

भन्सार प्रमुख प्रकाश पोख्रेलले इलामलगायत पहाडी जिल्लाका अधिकतर व्यवसायीले पशुपतिनगर नाका भएरै अलैंची, अदुवा, कुचोलगायत सामान निर्यात गर्न चाहेको बताए। उनले नाका खुल्दा आवश्यक पर्ने भवनलगायत भौतिक पूर्वाधारसमेत पुग्दो नै हुने जनाए।

 

प्रकाशित: २७ भाद्र २०७३ ०६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App