७ वैशाख २०८१ शुक्रबार
अर्थ

मध्यपहाडीमा जग्गाको मूल्य आकासियो

सिन्धुली – झन्डै एक दशकअघिसम्म विघाकै ५० हजार रुपैयाँमा पाइने जग्गाको मूल्य हाल आनाकै आठ लाख रुपैयाँ पर्छ भन्दा विश्वास नलाग्न सक्छ । यहाँ मध्यपहाडी लोकमार्गका कारण जग्गाको मूल्य एक्कासी बढेको छ।

लोकमार्ग निर्माण हुनुअघि सिन्धुलीको बाशेश्वर, भुवनेश्वरी, डुडभन्ज्याङ लगायतका दर्जनबढी गाविसमा जग्गाको मूल्य नै थिएन । एक विघा बेच्दा ५० हजार रुपैयाँ हात लाग्न गाह्रो थियो । तर, हाल मध्यपहाडी लोकमार्गले छोएको त्यहीं ठाउँमा जग्गाको मूल्य प्रतिआना पाँच लाखदेखि आठ लाख रुपैयाँसम्म पुगेको स्थानीय बताउँछन् । लोकमार्गमा होटल तथा विभिन्न व्यवसाय चल्ने देखेपछि बाहिरका मान्छे आएर जग्गा किन्ने क्रम बढेको छ । जग्गा किनबेचको क्रम बढेसँगै मूल्य बढेको हो। 

करिब दुई दशकअघि बाशेश्वरकी शुष्मा श्रेष्ठ विवाह भएर कोसीनजिकै घरमा पुग्दा निराश बनेकी थिइन् । कोसीको तिरैमा घर, सिँचाइ सुविधा नभएको थोरै बारी । अबको दिनचर्य त्यहीँ बिताउनुपर्छ भन्दा उनी आत्तिएकी थिइन् । जसोतसो दिन कटाएका श्रेष्ठलाई अहिले भने नसोंचेको खुसी मिलेको छ । घरमुनीबाट बनेको मध्यपहाडी लोकमार्ग दायाबायाँ बारी परेपछि उनको त्यो निराश एक दशकमै हर्षमा परिणत भएको छ । पहिले खानसमेत नपुग्ने बारीबाट अहिले उनलाई घडेरी बेच्दा करोड हात पर्ने भएको छ। 

लोकमार्ग निर्माणले यस क्षेत्रका बासिन्दाको आयस्रोत बढेको छ । पूर्वी पहाडका जिल्लालाई समेट्ने गरी बनेको मध्यपहाडी आसपासमा जग्गा भएका स्थानीयका लागि करोडौं आम्दानी गर्नसक्ने स्रोत बनेको छ । लोकमार्ग निर्माणका क्रममा मुआब्जाको विषयमा संघर्ष गरेका स्थानीयलाई हाल मुआब्जा नपाएकोमा कुनै गुनासो छैन । विपी लोकमार्गको तुलनामा निकै ठूलो लोकमार्ग बनेपछि गाउँमै व्यापार व्यवसाय गरेर आम्दानी गर्न सकिने स्रोत खुलेको छ।

झन्डै एक दशकअघिसम्म विघाकै ५० हजार रुपैयाँमा पाइने जग्गाको मूल्य हाल प्रतिआना आठ लाख रुपैयाँसम्ममा कारोबार हुन थालेको छ।

ओखलढुंगाका अमर घिसिङले होटल व्यवसायका लागि भुवनेश्वरीको ग्वालटारलाई रोजे । उनले ग्वालटारको लोकमार्ग नजिकैको जग्गा भाडामा लिएर होटल व्यवसाय सुरु गरेका छन् । ‘वार्षिक लाखौं रुपैयाँ जग्गा भाडा तिरेर होटल सुरु गरेको छु,’ उनले भने, ‘लोकमार्गले जग्गाधनीसँगै अरुलाई पनि फाइदा पुर्याएको छ ।’ उनले लोकमार्गले गाउँको मुहार फेरिदिएको जनाए । ‘लोकमार्ग आसपासका जग्गा धेरै महंगिएको छ,’ भुवनेश्वरीका सुदीप कार्कीले भने, ‘केही महिनाअघिसम्म साढे पाँच लाख रुपैयाँ प्रतिआनामा कारोबार हुने जग्गालाई अहिले आठ लाखसम्म भन्न थालेका छन्।’ 

लोकमार्गअन्र्तगत खुर्कोट–घुर्मीखण्ड निर्माणको काम ९८ प्रतिशतभन्दा बढी पूरा भएको आयोजनाले जनाएको छ । केही स्थानमा कालोपत्रेबाहेक सबै काम सकिएपछि लोकमार्ग आसपासका जनता उत्साहित भएका छन् । तर, एकातर्फ बन्दै गर्दा अर्कोतर्फ भत्किदै गएकाले त्यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने कार्कीले बताए। 

लोकमार्ग निर्माणपछि स्थानीय उत्पादनले समेत सहजरुपमा बजार पाएका छन् । स्थानीयस्तरमा उत्पादित दूध, दही, तरकारी तथा अन्य फलफूल राम्रो मूल्यमा व्यापार हुने गरेको स्थानीय बताउँछन् । ‘अहिले तरकारी गाउँमै बिक्री हुन्छ । गाउँकै होटल र पसलमा पुर्याउन सकेका छैनौं,’ बाशेश्वरकी किसान शोभा रम्तेलले भनिन्, ‘गर्न सक्नेलाई आम्दानी ढोकैमा छ।’

पछिल्लो समय जिल्लामा सडक सञ्जाल विस्तारको कामले तीव्रता पाएको छ । लोकमार्गसँग जोडिएर ग्रामीण सडक निर्माण भएपछि विकट क्षेत्रमा समेत विकासको लहर पुगेको छ । लोकमार्ग निर्माण सकिएपछि पूर्वीपहाडका सवारीसाधन यही मार्ग भएर आवातजावत गर्ने हुँदा यस क्षेत्रमा जुनसुकै व्यवसाय फस्टाउने स्थानीयको भनाइ छ।

प्रकाशित: २० श्रावण २०७५ ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App