coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘मिस वल्र्ड’ मा चेपाङ बस्तीको स्वास्थ चौकी भवन

मिस नेपाल श्रृंखला ।    तस्बिरः नागरिक

काठमाडौं – चीनको सान्यामा हुने ‘मिस वल्र्ड’ प्रतियोगितामा नेपालकोतर्फबाट सहभागी हुने ‘मिस नेपाल वल्र्ड २०१८’ की विजेता श्रृंखला खतिवडाले मकवानपुरको चेपाङ वस्तीमा स्वास्थ चौकी भवन निर्माण गरी त्यसको वृत्तचित्र लैजाने भएकी छिन्। 

चीनको सान्यामा डिसेम्वर ८ अर्थात मंसिर २२ गते शनिबार हुने ‘मिस वल्र्ड’ प्रतियोगितामा मकवानपुरको कैलाश गाउँंपालिका वडा नं ७ मा ६ कोठे स्वास्थ्य चौकी भवन बनाई त्यसको वृत्तचित्र त्यहाँं देखाउने भएकी हुन्।

‘व्युटी विथ पर्पाेज’ अर्थात ‘उद्देश्यसहितको सौन्दर्य’ भन्ने नाराका साथ हरेक वर्ष हुने ‘मिस वल्र्ड’ प्रतियोगितामा नेपाली सहभागी ‘मिस नेपाल’ले यसरी नै कुनै न कुनै उद्देश्य लिएर जाने गर्दछन् । प्रतिस्पर्धीहरुको मूल्यांकनको एउटा आधार उनीहरुले लिएर गएको यही ‘व्युटी विथ पर्पाेज’ पनि हुने गर्दछ। 

पिछडिएका चेपाङ जातिको स्वास्थ्य सेवा पहुँंचका लागि बनाइएको वृत्तचित्र लिएर जान लागेको यो पहिलो हो । यसअघिका नेपाली सुन्दरीले यसबाहेकका विभिन्न उद्देश्यहरु लिएर गएका थिए। 

प्रतियोगितामा प्रत्येक देशबाट प्रतियोगी सुन्दरीहरुले आ–आफनो उद्देश्य ल्याउने गर्दछन् । यो वर्ष हुने प्रतियोगितामा विश्वभरका एक सय २० वटा देशका सुन्दरीले सहभागिता जनाउँदैछन्।

‘म स्वयम आफैं आर्किटेक्ट इन्जिनियर भएकाले पिछडिएका चेपाङ समुदायलाई स्वास्थ्य सेवा दिनुपर्छ भन्ने विश्वव्यापी रुपमा सन्देश दिन चेपाङ गाउँंलाई नै लक्षित गरी स्वास्थ्य चौकी बनाई त्यसको वृतचित्र लैजान लागेकी हुँं,’ उनले भनिन् । चेपाङहरु नेपालकै पिछडिएको समुदायमा पर्दछन्।

गोर्खा इको प्यानलको निर्माणबाट तीव्र निर्माण सम्पन्न हुने मात्रै नभई भूकम्पप्रतिरोधी, वातावरणमैत्री, हलुका, ध्वनि तथा तापप्रतिरोधी भएकाले निर्माणाधिन स्वास्थ्य चौकी भवनमा गोर्खा इको प्यानल प्रयोग गर्न लागेको श्रृंखलाले बताइन्।

आर्किटेक्ट श्रृंखलाले आफैले डिजाइन गरी स्वास्थ्य चौकी भवन बनाउन लागेकी हुन् । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालले स्वास्थ्य चौकी भवन बनाउन गोर्खा इको प्यानल (स्थायी तथा अस्थायी संरचना निर्माणमा वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री) दिई सहयोग गर्न लागेको हो। 

सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालले करिब १२ लाख बराबरको गोर्खा इको प्यानल (निर्माण सामाग्री) सहयोग गर्न लागेको जनाएको छ । मिस वल्र्ड प्रतियोगितामा हालसम्म नेपालले ताज पहिरिन सफल भएको छैन। 

प्रकाशित: २० श्रावण २०७५ ०५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App