८ वैशाख २०८१ शनिबार
खेल

गेलको आक्रामक हुने विश्वास

नयाँ दिल्ली – वेस्ट इन्डिजका ओपनर क्रिस गेलले २०१९ को इङ्ल्यान्ड विश्वकपमा पनि आफ्नो आक्रामक ब्याटिङशैली निरन्तर हुनेमा विश्वस्त भएको बताएका छन्।

गेल विश्व क्रिकेटको सीमित ओभरका खेलमा विस्फोटक ब्याट्सम्यानका रूपमा चर्चित छन् । उनले एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल गरी ११ हजारभन्दा बढी रन प्रहार गरिसकेका छन्। 

गेलले हालै बंगलादेशविरुद्ध सम्पन्न तीन एकदिवसीय शृंखलामा १ सय ४२ रन प्रहार गरेका थिए । उक्त शृंखला बंगलादेशले २–१ ले जितेको थियो । तर गेल बंगलादेशविरुद्धकै तीन ट्वान्टी–२० शृंखलामा भने टोलीमा स्थान बनाउन असफल भए।

गेल सेप्टेम्बरमा ३९ वर्षमा प्रवेश गर्दै छन् । सञ्चारमाध्यमले गेलको वेस्ट इन्डिज क्रिकेट बोर्डसँगको चिसो सम्बन्धका लागि आगामी विश्वकपसम्ममा संन्यास लिने उल्लेख गरिरहँदा उनले भने आफूले तत्काल बिदाइ दिने खबरको खण्डन गरे।

‘अबको मेरो एउटै उद्देश्य भनेको टोलीलाई २०१८ को विश्वकपमा छनोट गराउनुका साथै आफ्नो स्वाभाविक लय प्रस्तुत गर्दै टोलीलाई विश्वविजेता बनाउने हो,’ गेलले भने, ‘त्यसका लागि हामी सबै पक्ष (क्रिकेट बोर्ड, छनोटकर्ता, कप्तान र खेलाडी) निरन्तर छलफल गर्नेछाैं।’

गेलले बंगलादेशविरुद्धको तेस्रो खेलमा ७३ रन जोड्ने क्रममा सबै संरचनाका खेल गरी पाकिस्तानका साहिद अफ्रिदीको नाममा रहेको ४ सय ७६ छक्काको कीर्तिमानसँग बराबरी गरेका थिए । गेलको नाममा ट्वान्टी–२० खेलको एकै इनिङमा १८ छक्का हान्ने कीर्तिमानसमेत छ । उनले इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेङ्लोरबाट किङ्स इलेभेन पन्जाबविरुद्ध एकै इनिङमा १८ छक्का प्रहार गरेका थिए।

‘मेरो विस्फोटक ब्याटिङप्रति सबै खुसी भएको हुनुपर्दछ र सबैले मेरो उक्त लयले २०१९ को विश्वकपमा पनि निरन्तरता पाएको हेर्न चाहन्छन्,’ गेलले भने । तर गेलले पछिल्लो समय भने स्वाभाविक लयअनुसारको प्रदर्शन गर्न सकिरहेका छैनन्।

१९७०  र ८० को दशकमा विश्व क्रिकेटमा दबदबा बनाएको वेस्ट इन्डिजको प्रदर्शन पनि अहिले खस्कँदै गएको छ । वेस्ट इन्डिज टेस्ट क्रिकेटको आठाैं, एकदिवसीयको नवाैं र ट्वान्टी–२० विश्व वरीयताको साताैं स्थानमा छ।

‘सबै कुराहरू एकै पटक सम्भव हुने होइनन्,’ गेलले भने, ‘टोलीमा क्षमतावान् खेलाडी छन् तर उनीहरूले सधैं एकरूपको प्रदर्शन गर्न सकेका छैनन् । खेलाडीहरूमा एउटा खेल मात्र भन्दा पनि शृंखला र प्रतियोगिता नै जित्ने आत्मविश्वास हुन आवश्यक छ।’

‘निरन्तरको जितले मात्र थप राम्रो प्रदर्शन गर्न प्रेरणा मिल्छ,’ गेलले थपे, ‘टोलीमा धेरै यस्ता क्षमतावान् खेलाडी छन्।’

 

 

प्रकाशित: २० श्रावण २०७५ ०४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App