coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सरुवामा चासो छैन ग्वार्डिओलालाई

लन्डन – इङ्लिस प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ‘कुनै विशेष प्रतिभा’ भएका खेलाडी बिक्रीमा भए मात्र सरुवा बजारमा चासो दिने बताएका छन्।

सिटीले नयाँ सिजनका लागि सरुवा बजारमा खासै चासो देखाएको छैन । सिटीले लामो समयको प्रयासपछि लेस्टर सिटीका मिडफिल्डर रियाद महारेजलाई टोलीमा अनुबन्धन गरे पनि इटालीका मिडफिल्डर जर्जिन्होलाई भने अनुबन्धन गर्न असफल भयो । जर्जिन्हो अर्को प्रिमियर लिग क्लब चेल्सीमा आबद्ध भएका थिए।

‘हामी अध्ययन गरिरहेका छौं,’ ग्वार्डिओलाले भने, ‘सरुवा बजारको अन्तिम दिनसम्म हामीलाई कुनै खेलाडीमा विशेष प्रतिभा छ र उक्त खेलाडीको आगमनमा क्लबले थप सफलता चुम्छ जस्तो लागेमा मात्र हामी सरुवा बजारमा चासो दिनेछौं । क्लबमा खेलाडीको संख्या थप गर्न मात्र भने हामी कुनै खेलाडी अनुबन्धन गर्ने पक्षमा छैनाैं।’ सिटीले आइतबार वेम्बलीमा हुने कम्यिुनिटी शिल्डमा एफए कप विजेता चेल्सीको सामना गर्नेछ।

‘म क्लबको पहिलो सिजन बसाइ र टोलीमा भएका खेलाडीबाट सन्तुष्ट थिइनँ । टोलीले क्रमिक रूपमा सुधार गर्दै अघि बढ्यो,’ ग्वार्डिओलाले थपे, ‘अब सोमबारबाट हामी पुनः एकसाथ अभ्यासमा हुनेछाैं । हाम्रो लक्ष्य गत सिजन टोलीले गरेको उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै प्रिमियर लिगको उपाधि रक्षा गर्नु हो । त्यसैले हामी नयाँ खेलाडी अनुबन्धनमा भन्दा पनि क्लबमा भएका खेलाडी सधैं लयमा रहेको हेर्न चाहन्छौं।’

‘हामी नयाँ खेलाडी अनुबन्धनमा भन्दा पनि क्लबमा भएका खेलाडी सधैं लयमा रहेको हेर्न चाहन्छौं।’

ब्रिटेनका सञ्चारमाध्यमले केही दिनअघि सिटीका केही खेलाडी बिहीबार सरुवा बजार बन्द हुनुभन्दा अघि अन्य क्लबमा जाने खबर सार्वजनिक गरेका थिए । उनीहरूले यसअघि लोनमा टोरिनो र वेस्ट ह्याम पुगे पनि सिजनपूर्वको  अभ्यासमा सिटी फर्किएका गोलकिपर जो हार्ड क्लबबाट बाहिरिने सम्भावित खेलाडी भएको उल्लेख गरेका थिए।

ग्वार्डिओलाले ब्राजिली स्ट्राइकर ग्याब्रियल जिससले क्लबसँगको सम्झौता नवीकरण गरेकोमा खुसी व्यक्त गरे।
‘जिसस क्लबमा अनुबन्धित भएपछि धेरै सुधार गरेका छन्,’ ग्वार्डिओलाले भने, ‘उनी मिहिनेती छन् र उनको उपस्थिति टोलीका लागि सधैं विशेष रहनेछ । जिससले शुक्रबार सिटीसँगको सम्झौता २०२३ सम्मका लागि नवीकरण गरेका थिए।

रूस विश्वकपमा ब्राजिलले क्वार्टरफाइलनसम्मको यात्रा तय गर्दाका सदस्य २१ वर्षे जिसस यसअघि २०१७ को जनवरीमा सिटीसँग अनुबन्धित भएका थिए । सिटीबाट ५३ खेल खेलका जिससले २४ गोल गरेका छन् ।  
विश्वकपमा सहभागी भएका खेलाडीमध्ये सिटीमा अब रहिम स्टर्लिङ र केभिन डी ब्रुयना मात्र फर्कन बाँकी छ ।
सरुवा बजमार जर्जिन्होलाई अनुबन्धन गर्न असफल भए पनि ग्वार्डिओलाले चेल्सीका नयाँ प्रशिक्षक माउरिसियो सारीको प्रशंसा गरेका छन्।

‘चेल्सीमा आएको केही समयमा नै सारीले खेलाडीहरूलाई आफ्नो रणनीतिमा अभ्यस्त गराउन थालिसकेका छन्,’ ग्वार्डिओलाले भने, ‘आफूलाई प्रमाणित गर्न सारीलाई अझै केही समय चाहिन्छ तर उनको रणनीति मैदानमा स्पष्ट देखिन थालिसकेको छ । त्यसैले शनिबार चेल्सीविरुद्ध हुने खेल रोचक हुनेमा म आशावादी छु।’

प्रकाशित: २० श्रावण २०७५ ०४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App