८ वैशाख २०८१ शनिबार
खेल

जितबाट लाम्पार्डको प्रशिक्षण यात्रा सुरु

लन्डन – इङ्ल्यान्डका पूर्वमिडफिल्डर फ्रांक लाम्पार्डले जितका साथ प्रशिक्षण यात्रा सुरु गरेका छन् । यसै साता मात्र डर्बी काउन्टीको प्रशिक्षण थालेका लाम्पार्डले शुक्रबार च्याम्पियनसिपमा उत्कृष्ट पुनरागमन गर्दै रिडिङमाथि २–१ को जित हात पारेका हुन्।

टम लरेन्सले ९४औं मिनेटमा गरेको गोल डर्बीको जितमा निर्णायक बन्यो । यसअघि ५३औं मिनेटमा डाडी भोडभार्सनले गोल गर्दा रिडिङले अग्रता लिएको थियो । तर त्यसको ७ मिनेटपछि मासोन माउन्टले गरेको गोलमा डर्बी खेलमा फर्किएको थियो।

‘सनसनीपूर्ण खेल र प्रशिक्षण जीवनको सुखद सुरुआत,’ लाम्पार्डले भने, ‘खेलको अन्तिम मिनेटमा गरेको गोलमा हात पारेको जित सधैं अविस्मरणीय हुन्छ । यो फुटबल हो र म त्यसैले प्रशिक्षणमा आएको हुँ।’

‘च्याम्पियनसिपका खेलहरू प्रिमियर लिगका जस्तै अत्यन्त कठिन हुन्छन्,’ लाम्पार्डले थपे, ‘टोलीमा सुधार गर्नुपर्ने अझ धेरै ठाउँ छन् ।’ २०१७ मा बुट थन्क्याएपछि सुरुमा लाम्पार्डले सञ्चारमाध्यममा काम गरेका थिए । खेलाडीका रूपमा लाम्पार्डले चेल्सीबाट ३ प्रिमियर लिग, ४ एफए कप र एक च्याम्पियन्स लिगको उपाधि जितेका थिए।

१० वर्षअघि प्रिमियर लिगमा रहेको डर्बीमाथि च्याम्पियनसिपको शीर्ष स्थानमा बस्दै पुनः शीर्ष लिगमा फर्कन बढ्दो दबाब छ । डर्बीले गत सिजन ग्यारी रोबेटको प्रशिक्षणमा छैटाैं स्थानमा रहँदै सिजनको अत्य गरेको थियो।

प्रकाशित: २० श्रावण २०७५ ०३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App