७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

चिलीमा प्लास्टिक झोला प्रतिबन्ध

सान्तियागो (बिबिसी) – दक्षिण अमेरिकी राष्ट्र चिलीले व्यापारिक प्रयोजनका लागि प्रयोग हुने प्लास्टिक झोलालाई प्रतिबन्ध गरेको छ।

चिलीको संसद्ले पारित गरेको र राष्ट्रपति सेबास्टियन पिनेराले लागू गरेको नयाँ विधेयकअनुसार अब चिलीमा व्यापारिक प्रयोजनका लागि प्लास्टिक झोला प्रयोग गर्न पाइने छैन। यो निर्णयसँगै प्लास्टिक झोला प्रतिबन्ध गर्ने चिली पहिलो दक्षिण अमेरिकी राष्ट्र बनेको छ । विधेयकले साना पसलहरुलाई दुइ वर्षभित्र पूर्ण रूपमा प्लास्टिक झोला प्रतिबन्ध गर्न भनेको छ भने ठूला व्यापारिक क्षेत्रलाई भने ६ महिनाभित्र प्लास्टिक झोला प्रयोग बन्द गर्न भनेको छ ।

यसैबीच चिलीका व्यापारिक क्षेत्रले प्रत्येक ग्राहकलाई दुई वटा सामान बोक्ने झोला मात्रै दिन पाउने पनि सरकारी निर्णय रहेकोे छ। सरकारी नियम नमान्ने वा कानुन नमान्ने व्यापारीलाई तीन सय ७० डलर जरिवाना गरिने चेतावनी पनि दिइएको बिबिसीले जनाएको छ। बढ्दो प्लास्टिक प्रयोगका कारण सामुद्रिक जीव र मानव जीवनमा प्रत्यक्ष असर पुगिरहेको वैज्ञानिकहरुले बताउने गरेका छन्। सफा चिली बनाउने योजनाका लागि नयाँ नियम ठूलो कदम भएको राष्ट्रपति पिनेरालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ‘पुनः प्रयोगको स्वस्थ सँस्कृतिका लागि सबै कुरा प्रयोग गर्ने अनि फ्याँक्ने सँस्कृतिबाट हामीबाहिर निस्कनुपर्छ,’ राष्ट्रपतिले पिनेराले बताए।

‘विश्वमा करिब सात अर्ब ६० करोड मानिसको वसोबास छ। यदि यो संसारलाई बचाइराख्ने हो भने हामीले प्रदुषण कायम राख्न हुँदैन,’ राष्ट्रपतिलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। देशमा प्लास्टिकको झोला प्रतिबन्ध गर्ने औपचारिक घोषणा कार्यक्रममा शुक्रबार उनले पुनः प्रयोग गर्न मिल्ने कपडाले बनेको झोला हस्तान्तरणसमेत गरेको बिबिसीले जनाएको छ।

चिलीमा प्लास्टिक झोला प्रतिबन्ध गर्नेबारेको विधेयक वर्तमान राष्ट्रपति भन्दाअघिका राष्ट्रपति मिचेल बाचलेटले प्रस्ताव गरेका थिए। पूर्वराष्ट्रपति बाचलेटले चिलीको पातागोनिया क्षेत्रमा प्लास्टिक झोला प्रतिबन्ध गरेका थिए । दक्षिण अमेरिकामा रहेका अन्य कैयौं देशले पनि प्रदुषण रोक्न यस्तै कदम चाल्नका लागि विभिन्न गतिविधि गरिरहेको बिबिसीले जनाएको छ। जनवरी महिनामा पानामाले व्यापारिक प्रयोजनका लागि प्लास्टिक झोला प्रतिबन्ध गर्नेबारेको विधेयक पारित गरेको थियो। पानामाले २४ महिनाको समय दिँदै सबै व्यापारिक क्षेत्रमा प्लास्टिक झोला प्रतिबन्ध गर्न भनेको थियो।

प्रकाशित: २० श्रावण २०७५ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App