८ वैशाख २०८१ शनिबार
खेल

कठघरामा नेतृत्व

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग सम्बन्धित एक खेल पदाधिकारी छन्। अनौपचारिक कुराकानीमा मज्जासँग खुल्छन्। नाम उल्लेख गर्नुपर्दा ‘पार्टीमा अप्ठेरो पर्छ भित्रै कुरा राख्ने गरेको छु’ भनेर उम्किन खोज्छन्। अनौपचारिक भए पनि उनका कुरा सही हुने गर्छ। अध्ययनशील छन्। खेलकुदको मर्म बुझेका छन्। विधि र विधानको पक्षमा धाराप्रवाह बोल्छन्। टालटुले कुरामा विश्वास राख्दैनन्। दिगो विकास हुनुपर्छ भन्छन्।

खेलकुदको वर्तमान राम्ररी बुझेका छन्, भविष्य सुखद बनाउने योजना पनि छ। समग्रमा भन्नुपर्दा उनीसँग भिजन छ, खेलकुदको विकासका सैद्धान्तिक र व्यावहारिक योजना उनीसँग छ। सबैभन्दा महत्वपूर्ण कुरा खेलकुद दलगत हुँदैन, खेलकुद समाज र राष्ट्रको हुन्छ। यो कुनै पनि देश र समाजलाई अघि बढाउने माध्यम हो।

देशलाई एकताको सूत्रमा गाँस्ने डोरी हो भन्ने सैद्धान्तिक कुरालाई व्यवहारमा कसरी उतार्ने भन्ने पनि थाहा छ। त्यसैले त उनी आफ्नै दलका नालायकीबारे पनि मज्जाले बोल्छन्, कम्तीमा पत्रकारसँग अनौपचारिक कुराकानीका क्रममा।

यही कारण होला बहुदलपछि सबभन्दा बढी खेलकुदमा एमाले र माओवादी (हालको नेकपा)ले राज गरे पनि नेतृत्वमा उनी र उनीजस्ता त्यही दलका कार्यकर्ता कहिल्यै पुगेनन्। किनकि पार्टी र नेताहरूका व्यक्तिगत, राजनीतिक स्वार्थ उनीजस्ता खेलभावना भएकाबाट पूरा हुन सक्दैन। त्यसैले उनका कुरा सुन्न दिक्क लाग्दैन । कम्तीमा नबुझेका कुरामा पनि सबथोक बुझेजस्तो पाखण्ड प्रदर्शन गर्दैनन्।

पछिल्लो भेटमा उनको गुनासो राजनीतिक दल, नेता वा खेल नेतृत्वसँग थिएन। उनी पत्रकारसँग जायज गुनासो गर्दै थिए। ‘खेलकुदमा यति धेरै समस्या छन्। बेथितिले सीमा नाघिसक्यो। देशको गौरव र सकारात्मक प्रचार गर्नुपर्ने खेलकुद नै नेपालको बेइज्जत गर्न कम्मर कसेर लागेको छ। लौन केही लेख्नुप-यो। होइन भने तपार्इंहरूले नेपाली खेलकुदका सदस्यसचिव (राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी प्रमुख केशवकुमार विष्ट)ले भनेजस्तै स्वर्णकालमा छ भन्न सक्नुप-यो।’

नेपाली खेलकुदका विषयमा पत्रकारलाई मुछ्दै उनले गरेका कुरा वास्तवमै गम्भीर थिए। सधैं आशावादी रूपमा प्रस्तुत हुने उत्साहित ती नेकपा कार्यकर्ता नेपाली खेलकुदको भविष्यप्रति निक्कै उदासीन रूपमा प्रस्तुत  भए। पछिल्लो भेटमा आफ्नै दलको शीर्ष नेतृत्व र खेलनेतृत्वप्रति कुनै आशा नभएजस्तो थियो उनको प्रस्तुति, मानाैं कि अब खेलकुद ठूलै भड्खालोमा जाकिइसकेको छ, माथि उठन सम्भव छैन।

उनी भन्दै थिए, ‘लौन तपार्इंहरूले केही लेख्नुप-यो, ताकि शीर्ष नेतृत्वले वास्तविकता थाहा पाओस्। नत्र सरकार र पार्टीका ठूला नेता खेलकुदको वास्तविकताबाट अनविज्ञ नै हुने भए। उनीहरूलाई त खेलकुदमा हालीमुहाली गरेर देशकै बदनाम गर्ने, आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्नेहरूले दिग्भ्रमित गरिरहेका छन्। शीर्ष नेतृत्वले सुन्ने यिनीहरूबाटै हो।’

खेलकुदको विषयमा कुरा गरिरहँदा उनले पत्रकारितालाई पनि मुछेका थिए। एउटा पत्रकारको नाताले उनका कुराको खण्डन गर्नुपर्ने थियो । ‘होइन खेलकुद र यहाँको नेतृत्व गलत हो। हामी पत्रकार ठीक छौं भनेर पेसाको रक्षा गर्नुपर्ने’ थियो । तर त्यसका लागि पर्याप्त तथ्य र तर्क आवश्यक पर्छ। जुन तत्काल जुटाउन धेरै खेलपत्रकारलाई हम्मे पर्छ ।
किन त यस्तो? कहाँनिर चुकेको छ त हाम्रो खेलपत्रकारिता? आफैंले समीक्षा गर्नुपर्दा केही बुँदा भेटिए, जहाँ खेल पत्रकारिता मौन छ। वा मिडियाबाट जति आवाज उठनुपर्ने थियो, त्यति हुन सकेको छैन् । अथवा कतिपय अवस्थामा त खेलकुदको बलात्कार गरिरहेको नेतृत्वप्रति सहयोगी छ।

कहाँ चलेन त बलियो रूपमा पत्रकारको कलम ? वा कमजोर भयो त? बुँदागत रूपमै चर्चा गर्ने हो भने पनि सूची लामो हुन सक्छ। जस्तै :

– सम्पूर्ण देशको खेलकुद विकासको जिम्मेवारी बोकेको सरकारी प्रतिनिधि संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेतृत्वको जवाफदेहिताहीन प्रवृत्ति।

– राखेपका सदस्यसचिव केशवकुमार विष्टले उसु संघमा गरेको कब्जा प्रयास ।

– युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आसन्न एसियाली खेलकुदमा सहभागिताका लागि खेलाडी तथा प्रशिक्षक चयनमा समेत हस्तक्षेप गरेका चर्चा। जसका कारण खेलाडी पनि अब देशको होइन, पार्टीको हुनुपर्छ भन्ने जस्तो सन्देश प्रवाह भएको। बिना कुनै मापदण्ड २९ खेलमा झन्डै २ सय खेलाडीको जन्ती इन्डोनेसिया लगेर व्यक्तिगत स्वार्थका लागि देशको प्रतिष्ठालाई दाउमा राखिएको।

– १३औं दक्षिण एसियाली खेलकुद आउँदो फागुनमा काठमाडौंमा गर्ने स्वार्थप्रेरित बालहठ। पूर्वाधारको अत्यन्त दयनीय अवस्था रहँदा गरिने यस्तो बालहठले त्यही खेल महोत्सवको बहानामा जथाभावी रूपमा अरबौं रुपैयाँ खर्च गर्न पाउने र त्यो पैसाको जवाफदेहिता सामान्य अवस्थामा भन्दा कम हुने हुँदा भ्रष्टाचारको सम्भावना हुने। टालटुले पारामा १३औं साग गर्दा ठूलो रकम कुम्ल्याउन पाउने नेतृत्वको स्वार्थ भए पनि यसले देशको दरिद्रता मात्र प्रचार हुने सत्य। मंसिरमा नेपालगन्जमा हुने भनिएको आठौं राष्टिय खेलकुदको कमजोर तयारी र चर्को प्रचारका बीचमा लुकेका आर्थिक पारदर्शिताका विषय।

– स्थानीयदेखि केन्द्रसम्मको सरकार, राखेप, नेपाल ओलम्पिक कमिटी सबै एकै दलको हुँदा पनि खेल विकासका लागि कुनै गुणात्मक कार्यक्रम नल्याउने, बरु सबै खेल संघहरूमा आफ्नो दल र गुटको कब्जा प्रयास गरिनु।

– दशरथ रंगशाला, मूलपानी क्रिकेट रंगशाला तथा अन्य पूर्वाधार निर्माण वा पुनर्निर्माणमा देखिएको लापरबाही।

– खेल पर्यटनको ठूलठूला भाषण गरिरहँदा मूलपानी रंगशालाको अदूरदर्शी योजना, झोपडपट्टी शैलीमा बनाइन लागेको पोखरा रंगशाला कम्प्लेक्स, एडभेन्चर स्पोर्ट्स र हाई अल्टिच्युट स्पोटर््स सेन्टरलगायतका पक्षमा राज्यको उदासीनता।

– खेलकुदमा कुनै माखो नमार्ने, विदेश भ्रमण र राजनीति गर्ने थलोको रूपमा मात्र स्थापित भएका वा कतिपय अवस्थामा मानव तस्करीमा समेत संलग्न भएका थुप्रै खेल संघ र तिनका पदाधिकारीमाथि कारबाही गर्नुको साटो खेलकुदको मसिहाका रूपमा प्रवद्र्धन गरिनु।

– खेलकुदको गुणात्मक फड्को मार्नका लागि कुनै वैज्ञानिक काम नगर्ने तर त्यसैको नाममा कागज मिलाएर विभिन्न फाइदा लिइएका थुप्रै घटना।

यस्ता थुप्रै अरू पनि विषय छन् नेपाली खेलकुदमा बेथितिका। जसमा कलम अझै बलियो बनाउन जरुरी छ। जब राज्य आफैं बेइमान हुन्छ, राज्यबाटै सबभन्दा बढी खतरा महसुस हुन्छ, त्यो बेला पत्रकारिता र सर्वसाधारण अभियन्ता बन्नुपर्छ। देशको खेलकुदलाई अगाडि बढाउन र भड्खालोमा जाकिनबाट जोगाउन अहिलेसम्म सबभन्दा इमानदार र प्रभावकारी कदम विगतमा पनि पत्रकारिताले नै गरेको इतिहास छ।

नवौं दक्षिण एसियाली खेलकुदमा नेपालको झन्डा उपस्थिति पक्का गरेर होस् वा पदाधिकारीका नालायकी भण्डाफोर गरेर किन नहोस्, नेपाली खेलकुद पत्रकारिताले खेलकुदको अस्तित्व बचाउन ठूलो योगदान गरेको छ। अहिले फेरि नेपाली खेलकुद चरम संकटमा रहेको बुझेर ती नेकपा कार्यकर्ताले राखेको अपेक्षा फेरि पनि पत्रकारिताले पूरा गर्नुपर्नेछ, गर्नेछ। साथमा अहिले नेपाली खेलकुदमा भएका कुनै पनि गलत कुराबाट नेकपा उम्किन पाउनेछैन। किनकि अहिले काम गर्न उनीहरुलाई रोक्ने कोही छैन। केही छ भने उनीहरुकै स्वार्थ र उनीहरुकै सोच अनि उनीहरुकै अक्षमता। त्यसैले भोलि जबाफ दिनका लागि पनि नेकपाले इमानदारीपूर्वक काम गर्नुपर्छ।

अहिले केही गलत भएमा विश्वकर्मा, विष्ट वा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई मात्र भविष्यले कठघरामा उभ्याउने छैन। सबभन्दा पहिला कठघरामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल उभिनुपर्छ। किनकि विश्वकर्मा, विष्ट र श्रेष्ठलाई आम खेलकर्मी र खेलप्रेमीले उनीहरूकै प्रतिनिधिका रूपमा लिएका छन्। यिनकै अनुहारमा खेलप्रेमीले ओली र दाहाललाई देख्ने हो।

अहिले केही गलत भएमा विश्वकर्मा, विष्ट वा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई मात्र भविष्यले कठघरामा उभ्याउने छैन। सबभन्दा पहिला कठघरामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल उभिनुपर्छ।

प्रकाशित: २० श्रावण २०७५ ०२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App