६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रधानमन्त्रीको भारत भ्रमणको औचित्य छैन : थापा

नेपालगन्ज–राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको औचित्य र आवश्यकता नरहेको टिप्पणी गरेका छन्। मिडिया नेपाल बाँकेले सोमबार बिहान नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालजी भारत भ्रमणमा जाँदै गर्दा म नकारात्मक टिप्पणी गर्न चाहन्न, तर मैले भ्रमणको औचित्य र आवश्यकता बुझ्न सकेको छैन।’

एउटा प्रधानमन्त्रीले भ्रमण गरेको ६ महिना नपुग्दै अर्को प्रधानमन्त्री भ्रमणमा जानु आवश्यकता नरहेको पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री थापाले जिकिर गरे। ‘आफू प्रधानमन्त्री भए लगत्तै उहाँ(दाहाल)ले उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भारत पठाइसक्नु भएको छ, भारतमा गएर अब प्रधानमन्त्रीले के काम गर्न बाँकी छ त ?’ उनले आश्चर्यता प्रकट गर्दै भने।

भारतसँग सम्बन्ध नबिग्रेको दाबी अध्यक्ष थापाको छ । उनले थपे, ‘भारतसँगको तिक्ततालाई अघिल्लो सरकारले कुटनीतिक माध्यमबाट पहल गरेर हटाइसकेको छ, दुई देशको सन्तुलन पनि अघिल्लो सरकारले गरिसकेको छ।’ प्रधानमन्त्री दाहालको भ्रमणले पुनः भारतसँग असन्तुलन कायम गर्न सक्ने खतरा थापाले औंल्याए । अघिल्लो सरकारले मधेस समस्या समाधानका लागि महत्वपूर्ण कार्य गरेको दाबी गर्दै उनले नयाँ सरकार आएपछि ओठे प्रतिवद्धता बाहेक अरु केही गर्न नसकेको बताए।

 

प्रकाशित: २७ भाद्र २०७३ ०५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App