coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सम्पदाकोभन्दा भोटको चिन्ता

खोटाङ - खोटाङका नेकपाका सांसद एवं नेताको टोलीले त्रि–धार्मिकस्थल हलेसीलाई केन्द्रीय सरकार मातहतमा राख्नका लागि आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसमक्ष माग राखे। हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीको आम्दानीलाई हलेसी तुवाचुङ नगरपालिकाको मातहतमा ल्याउने निर्णय गरिएको पाँच दिनपछि नेकपाका सांसद तथा नेताहरूको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै हलेसीलाई केन्द्रीय सरकारको मातहतमा राख्न, गुरुयोजना कार्यन्वयनमा ल्याउन आग्रह गरेका हुन्। केहीदिनको अन्तरालमा हलेसीलाई स्थानीय सरकारको मातहतमा राख्ने निर्णय र संघीय सरकारको मातहतमा राख्ने माग परस्पर बाँझिन पुगेको छ। स्थानीय सरकार कार्यान्वयनमा आएको वर्ष दिनपछि साउन ८ गते हलेसीमै भएको बैठकले हलेसी मन्दीरको भेटीपाती लगायतका आम्दानीलाई नगरपालिकाको मातहतमा ल्याउने निर्णय गरेको थियो।

नेकपाको कोटाबाट नियुक्त हलेसी महादेवस्थान विकास समिति र मन्दीर व्यवस्थापन समिति कार्यरत हलेसीलाई कांग्रेस नेतृत्वमा गठन गएको नगरपालिका वर्षदिनको प्रयासपछि मात्र आफ्नो मातहतमा ल्याउन सफल भएको हो। हालसम्म हलेसी मन्दीर व्यवस्थापन समितिमार्फत सञ्चालन हुँदैआएको हलेसीको आम्दानीलाई नगरपालिकाका एकजना, हलेसी महादेवस्थान विकास समितिका एक जना र हलेसी मन्दीर व्यवस्थापन समितिका एक जना प्रतिनिधिको संयुक्तदस्तखतबाट चल्ती खाता सञ्चालन हुनेगरी हलेसीको आम्दानीलाई नगरको मातहतमा ल्याउने निर्णय गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। तर, हलेसीलाई स्थानीय सरकारको मातहतमा ल्याउन बल गर्नु वा हलेसीलाई संघीय सरकारको मातहतमा राख्न माग गर्नुुका पछाडि हलेसीको भविष्यको चिन्ता भन्दा पनि राजनीतिक स्वार्थ रहेको स्थानीय बुद्धिजीवीको बुझाइ छ।

हलेसीलाई स्थानीय सरकारको मातहतमा ल्याउन बल गर्नु वा हलेसीलाई संघीय सरकारको मातहतमा राख्न माग गर्नुुका पछाडि हलेसीको भविष्यको चिन्ता भन्दा पनि राजनीतिक स्वार्थ रहेको स्थानीय बुद्धिजीवीको बुझाइ छ।

हलेसीको आगामी परिवर्तनको श्रेय लिन दलगतरूपमा त्रि–धार्मिकस्थल हलेसीको नाममा राजनीति भइरहेको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका एक बुद्धिजीवीले बताए। ‘हलेसीको विषयमा गरिने धेरैजसो गतिविधि हलेसीको भविष्यको चिन्ताका लागिभन्दा पनि राजनीतिक क्रेडिटका लागि हो,’ राजधानी बसिरहेका ती बुद्धिजीवीले भने, ‘नत्र एउटै उद्देश्य भएपछि हलेसीको हरेक मुद्दामा सँगसँगै हिँड्न सक्नुपर्छ।’ कांग्रेस होस् या नेकपाका नेता काठमाडौं वा प्रदेश राजधानी विराटनगर पुगेका बेलामा सकेसम्म हलेसीको गुरुयोजनाको कुरा उठाउन छुटाउँदैनन्। अधिकांश दलका नेताको भाषणमा हलेसीको पर्यटन प्रवर्धनको नारा छुट्दैन। हलेसीको मुद्दा उठाउने विषय अहिले फेसन नै बनेको छ।

तर, हलेसीको परिवर्तनभन्दा पनि हलेसीको नाममा हुने अनावश्यक राजनीतिरणले हलेसीको पर्यटन प्रवर्धनमै असर पुग्ने स्थानीय बताउँछन्। हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले भने केन्द्रको सहयोगबिना हलेसीको विकास सम्भव नभएकाले हलेसीलाई संघीय सरकार मातहत राख्न माग राखिएको बताए। ‘गुठीलाई प्रदेश सरकारको मातहतमा राख्ने चर्चा चलिरहेको छ,’ भुजेलले भने, ‘त्यसको सट्टा संघीय सरकारकै मातहतमा राख्नु उपयुक्त हुन्छ भन्ने हाम्रो माग हो।’

पार्टी नमिल्नु नै समस्या
हलेसी तुवाचुङ नगरपालिकाका मेयर राई कांग्रेसकातर्फबाट निर्वाचित जनप्रतिनिधि हुन्। हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक भुजेल तत्कालीन नेकपा (एमाले)कातर्फबाट चयन भएका हुन् भने हलसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राई नेकपा निटककै हुन्। नगरपालिका र दुई समितिको नेतृत्वको पार्टी फरक हुनु नै हलेसीको विकासमा सहयोगीभन्दा समस्याकारूपमा देखिएको छ। स्थानीय सरकारकारूपमा नगरपालिकाले हलेसीलाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छ । तर, हलेसी महादेवस्थान विकास समिति र हलेसी मन्दिर व्यवस्थापन समिति नगरको मातहतमा बस्न चाहन्न । स्थानीय सरकार र दुवै समिति हलेसीमा भएका हरेक कामको उपलब्धिको श्रेय आफू मात्र लिन चाहन्छ। र, आउने निर्वाचनका लागि आफ्ना पार्टीको उम्मेदवारका लागि स्थान सुरक्षित राख्ने मेलो बसाउन चाहन्छ।

भौतिक योजना मन्त्रालयको आवास तथा शहरी विकास विभागले २०५६/०५७ सालमा बनाएको पुरानो गुरुयोजनालाई खारेज गरेको बताउँदै नगरपालिकाले नयाँ गुरुयोजनाको काम अघि बढाएका कारण पनि समस्या सुरु भएको श्रोत बताउँछ। माओवादी केन्द्रका तर्फबाट नियुक्ति पाएका हलेसी महादेवस्थान विकास समितिका पुर्वकार्यकारी निर्देशक तामन राईको पालामा सोही पुरानो गुरुयोजना कार्यान्वयनमा ल्याउनका लागि पहल गरिएको थियो।

नगरपालिकाले त्यही पुरानो गुरुयोजनालाई बेवास्ता गरेकामा बर्तमान हलेसी महादेब मन्दीर व्यवस्थापन समिति र मन्दिर व्यवस्थापन समिति असन्तुष्ट बनेको स्रोतले बताएको छ । हलेसीको गुरुयोजना निर्माणको प्रारम्भिक चरणको कामका रूपमा नगरपालिकाले गत असार १४ गते भूगर्भविद, आर्किटेक्ट इन्जिनियरको उपस्थितिमा स्थानीयसँग छलफल गरेको थियो । मेयर राईले हलेसीमा पुरानै तरिकाले काम गर्ने मानसिकताले हलेसीको गुरुयोजनालगायतका काममा समस्या सिर्जना भइरहेको बताए।

भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किराँती समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसम्भवले बोधिसत्व प्राप्त गरेको, नजिकै किराँत समुदायको आदिम थलो तुवाचुङ स्थल रहेको लगायतका आधारमा हलेसी त्रि–धार्मिकस्थलका रूपमा परिचित छ।

प्रकाशित: २० श्रावण २०७५ ०१:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App