८ वैशाख २०८१ शनिबार
राजनीति

राजपामा र फोरममा जनजाति नेता पाखा लाग्दै

काठमाडौं - तराइ मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालमा जनजाति नेताहरू क्रमशः पाखा लाग्दै गएका छन्।

यद्यपि दुवै दलले आफ्नो पार्टीलाई समावेशी र राष्ट्रिय चरित्रको देखाउन पहाडी मूल र जनजाति मूलका नेताहरूलाई पार्टीका विभिन्न समितिमा थोरै भए पनि प्रतिनिधित्व गराउने गरेका छन्।

प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावअघि राजपामा एकीकृत भएको तत्कालीन खुम्बूवान पार्टीका अध्यक्ष रामकुमार खुम्बू (आरके खुम्बू)लाई राजपा अध्यक्षमण्डलमा राख्ने प्रतिबद्धता पार्टीका अध्यक्षमण्डलका सदस्यहरूले सार्वजनिकरूपमै गरेका थिए । राजपा र खुम्बूवान पार्टीबीच एकीकरण कार्यक्रममा बोल्दै अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले खुम्बूलाई अध्यक्षमण्डलको सदस्य सरहको हैसियतमा जिम्मेवारी दिने घोषणा गरेका थिए। तर त्यो घोषणा व्यवहारमा कहिल्यै लागू भएन। अध्यक्षमण्डलको बैठकमा उनलाई बोलाइएन। चुनावपछि उनलाई झनै बेवास्ता गरियो । चुनावपछिका कुनै कार्यक्रमा खुम्बूवानका नेताहरूलाई राजपाका नेतृत्वले बोलाउने गरेको छैन। पार्टीका नेताहरूले बेवास्ता गरेपछि तत्कालीन खुम्बूवानका नेताहरूले पार्टी कार्यालयसमेत टेक्ने गरेका छैनन्।

राजपा र खुम्बूवान पार्टीबीच एकीकरण कार्यक्रममा बोल्दै अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले खुम्बूलाई अध्यक्षमण्डलको सदस्य सरहको हैसियतमा जिम्मेवारी दिने घोषणा गरेका थिए। तर त्यो घोषणा व्यवहारमा कहिल्यै लागू भएन।

केही दिनअघि तत्कालीन खुम्बूबान पार्टीका केही नेताहरूले आफूलाई राजपाका नेताले बेवाास्ता गर्ने गरेको गुनासो पार्टीका एक पदाधिकारीसँग पोखेका थिए। राजपा अध्यक्षमण्डलका सदस्य महेन्द्र यादवले राजपासँग खुम्बूवान पार्टीलाई एकीकरण गर्दा तत्कालीन खुम्बूवानका अध्यक्ष आरके खुम्बुलाई अध्यक्षमण्डलको सदस्यसरह हैसियत दिने घोषणा गरिएको स्वीकार गर्दै भने, ‘हामीले उहाँ (खुम्बू)लाई अध्यक्षमण्डलको सदस्यसरह हैसियत दिने घोषण गरेका त हांै, तर कुनै पनि बैठकमा उहाँ आउनुभएको छैन।’ राजपाका एक पदाधिकारी भने प्रतनिधिसभा र प्रदेशसभा चुनावमा खुम्बूवानको प्रभाव रहेको भनिएको पूर्वी पाहाडी जिल्लामा राजपाले अत्यन्त न्यून भोट ल्याएपछि तत्कालीन खुम्बूवानका नेताहरू आफैं आउन छाडेका बताए। राजपाका एक पदाधिकारीले भने, ‘उहाँहरूको प्रभाव भनिएको ठाउँमा पार्टीले निकै कम भोट आएपछि सायद उहाँहरूलाई पार्टी कार्यालय आउन अप्ठ्यारो लागेको होला। ’

राजपासँग एकीकरण गरेको तत्कालीन नागरिक समाजवादी पार्टीका कार्यकर्ता पनि पार्टी एकीकरणपछि खासै उत्साहित नभएको एक नेताले गुनासो पोखे। तत्कालीन नागरिक समाजवादी पार्टीका अध्यक्ष राजकुमार लेखी हाल राजपाका महासचिव छन्। तर उनी पनि पार्टीका कार्यक्रममा सक्रिय छैनन् । तत्कालीन ६ पार्टी मिलेर राजपा गठन भएपछि राजपाका नेताहरू भने राजपा राष्ट्रिय चरित्र बोकेको पार्टी भएको दाबी गर्दै आएका छन्। अध्यक्षमण्डलका सदस्य यादव भन्छन्, ‘हाम्रो पार्टी राष्ट्रिय चरित्रको पार्टी हो। यसमा सबै समुदायलाई उत्तिकै सम्मान गछौंँ।’ यादवले आागमी महाधिवेशनपछि पार्टीको सबै संचरना जातीय आधारबाट बनाउन पार्टीभित्र प्रस्ताव राखेको छन्। सो प्रस्तावलाई अन्य नेताहरूले पनि सहमति दिएको उनले बताए।

संघीय फोरममा पनि यस्तै अवस्था छ। २०७२ जेठमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीबीच एकीकरण भई संघीय समाजवादी फोरम नेपाल गठन भएपछि संघीय समाजवादीमा आबद्ध जनजाति नेताहरू एकीकृत पार्टी संघीय समाजवादी फोरम नेपालमा एकैपटक प्रवेश गरेका थिए। जनजाति नेताहरूलाई ठूलो संख्यामा एकैपटक भित्र्याएर फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिमा नयाँ प्रयोग गरेका थिए। उनको नयाँ प्रयोग राजपाले पनि लागू गर्ने प्रयास गरेको छ। तर त्यतिखेर तत्कालीन संघीय समाजवादीबाट पार्टी एकिकरणसँगसँगै संघीय समाजवादी फोरममा प्रवेश गरेका केही प्रभावशाली नेता फोरम छाडेर अन्य पार्टीमा प्रवेश गरेका छन्। विजय सुब्वा, अजम्बर राई काङदम्वा, रमेश राई, वीरबहादुर लामा, रिजमान अन्सारी, मिना गुरुङलगायका नेताले संघीय फोरम छाडेका छन्। पार्टीका छाडेका नेतामध्ये केही अन्य पार्टीमा प्रवेश गरेका छन् भने केही निस्क्रिय बसेका छन्।

यसैगरी, फोरम र राजपा सम्मिलित प्रदेश २ मा मन्त्रीमण्डल बनाउँदा पनि फोरम र राजपाका नेताहरूले समानुपाति र समावेशी सिद्धान्तलाई पूरै लत्याएका छन्। प्रदेश २ को १३ सदस्यीय मन्त्रीमण्डलमा फोरम र राजपाको नेतृत्वले पहाडी मूल, दलित र थारूको प्रतिनिधित्व गराएका छैनन्। यसैगरी, फोरमबाट सहभागी भएका मन्त्रीमध्ये अधिकांश यादव समुदायका छन्। मुख्यमन्त्री बाहेक ६ मन्त्रीमध्ये ४ मन्त्री यादव थरका छन्। विजय यादव, ज्ञानेन्द्र यादव, योगेन्द्र यादव र उषा यादव यादव समुदायका छन्। गैर यादवमा सैलेन्द्र साह र सरोजसिंह मात्र छन्।

प्रकाशित: २० श्रावण २०७५ ०१:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App