coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

२५ अर्बमा सरकार जमानी बस्न तयार

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दुईथान 'वाइड बडी' जहाज खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँका लागि सरकार जमानी बस्न तयार भएको छ। यो परिमाण बराबरको रकम निगमले कर्मचारी सञ्चय कोष र कर्मचारी लगानी कोषसँग ऋण स्वरूप लिने तयारी तीव्र गतिले अगाडि बढाइरहेको छ। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आइतबार दिउँसो पर्यटन मन्त्री, सचिव, निगमका महाप्रबन्धकदेखि उच्च अधिकारीलाई जहाज किन्न सरकार जमानी बस्ने प्रतिबद्धता जनाएका हुन्।

'दुइटा वाइड बडी जहाज खरिद गर्नु मुलुकको अर्थतन्त्र र पर्यटन उद्योगका लागि फाइदाजनक काम हो,' अर्थमन्त्री महराको भनाइ उद्धृत गर्दै निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आइतबार नागरिकसँग भने, 'चाँडै यो सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद बैठकमा लैजान्छु।'  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही, पर्यटन सचिव प्रेमकुमार राई, निगमका महाप्रबन्धक कंसाकार तथा निगमका कर्पोरेट, फाइनान्स, कमर्सियल लगायत विभागका उच्च अधिकारीसँग अर्थमन्त्री महराले दुई ठूला जहाज खरिदका लागि आवश्यक रकममा सरकार जमानी बस्न तयार रहेको बताएपछि निगमलाई जहाज किन्ने बाटो खुलेको छ। महराको प्रतिबद्धताप्रति अर्थ सचिव शान्तराज सुवेदी र राजस्व सचिव राजन खनाल पनि सकारात्मक रहेको कंसाकारले बताए।

'अर्थमन्त्रीज्यूको प्रतिबद्धता सुनेपछि अब दुईथान वाइड बडी जहाज काठमाडौं आउने निश्चित भयो,' महाप्रबन्धक कंसाकारले भने, 'अब हामी २०७४ असोजमा पहिलो वाइड बडी र त्यसको ६ महिनापछि २०७५ वैशाखमा दोस्रो वाइड बडी जहाज काठमाडौं अवतरण गराउँछौं।'

कंसाकारका अनुसार युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित २ सय ५० देखि २ सय ८० सिट क्षमतायुक्त 'ए३३०–२००' सिरिजका दुईथान जहाज ल्याएर लामो दुरी (लङ हल) गन्तव्यमा उडान गर्ने योजना बनाइएको छ।

निगमले पछिल्लो पटक खरिद गरी ल्याएका १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०–२००' सिरिजका दुईथान जहाज पनि एयरबसमै उत्पादन भएका हुन्। यी दुई जहाज खरिद गर्न भने कर्मचारी सञ्चय कोषले १० अर्ब रुपैयाँ ऋण दिएको छ।

'हामीलाई दुइटा जहाज किन्न आवश्यक २५ अर्ब रुपैयाँ उपलब्ध गराउन सञ्चय कोष र नागरिक लगानी कोष तयार छन्,' महाप्रबन्धक कंसाकारले भने, 'अब दुवै संस्थासँग ब्याजबारे छलफल गर्ने छौं।'

वाइड बडी आएपछि पहिलो उडान जापानको टोकियो वा दक्षिण कोरियाको सोलमध्ये एकमा हुने निगमको व्यापारिक योजनामा उल्लेख छ। निगमले खरिद गर्न लागेको वाइड बडी जहाज ए३३०–२०० ले एकतर्फी सिधा ९ देखि १० घन्टा 'नन्स्टप' उडान गर्न सक्छ।

आगामी मंसिर दोस्रो साताभित्र वाइड बडी जहाज खरिदका लागि ग्लोबल टेन्डर आह्वान गर्ने र फागुन दोस्रो साताभित्र खरिद सम्झौता गर्ने तयारी भइरहेको कंसाकारले बताए। टेन्डरमा जहाज निर्माता कम्पनी एयरबस, जहाज भाडामा दिने लिजिङ कम्पनी, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलगायतले सहभागिता जनाउन पाउने सम्बद्ध अधिकारीले जानकारी दिए।

एयरबसकै ए३३०–२०० सिरिजको जहाज भएका कारण एयरबस कम्पनी आफैं पनि टेन्डरमा सहभागी हुन पाउने छ भने लिजिङ कम्पनी वा अन्य वायुसेवा कम्पनी पनि प्रतिस्पर्धामा उत्रिन सक्नेछन्। निगमले सकेसम्म सन् २०१४ भन्दा यता उत्पादन भएका ए३३०–२०० जहाज खरिद गर्ने सर्त राख्ने जनाएको छ।

'पाँच सयदेखि एक हजार घन्टा उडेको जहाज हामी लिँदैनौं,' कंसाकारले भने, 'ब्रान्ड न्यु भए झनै बेस हुन्छ भने पाँच सय घन्टाभन्दा कम उडेको जहाज कुनै लिजिङ कम्पनी वा एयरबस आफैंसँग रहेछ भने पनि हामी लिने छौं।'

निगमले विगतमा बेलायतको लन्डन, फ्रान्सको पेरिस, जर्मनीको फ्र्यांकफर्ट, जापानको ओसाका, चीनको सांघाई लगायत 'लङ हल' गन्तव्यमा उडान गरिसकेको छ। दुईथान वाइड बडी काठमाडौं आएर उडान गर्न थालेपछि लगत्तै अर्को दुईवटा सानो आकार (न्यारो बडी) का ए३२०–२०० जहाज पनि खरिद गर्ने निगमको योजना छ। यति गर्न सके अन्तर्राष्ट्रिय उडान गर्न आठथान जहाज हुनेछन् भने मुलुकको उड्डयन बजारको १६ प्रतिशत हिस्सा ओगट्न सकिने लक्ष्य निगमको छ।

प्रकाशित: २७ भाद्र २०७३ ०५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App