५ वैशाख २०८१ बुधबार
प्रविधि

प्रभावकारी बन्दै यु–लर्निङ

यु–लर्निङ विधिलाई ट्याबमा हेर्दै विद्यार्थी। तस्बिर साैजन्य : काठमाडाैं विश्वविद्यालय

बनेपा - बाजेबराजुले धुलौटो कोरेर लेखपढ गर्न सिके। यतिखेर नातिपनाति पुस्ता इ–लर्निङ हुँदै यु–लर्निङ विधिबाट पढ्न लेख्न सिक्दैछन्। त्यतिमात्रै होइन, विगतमा चक र डस्टर बोकेर कक्षाकोठामा छिर्ने शिक्षक अचेल ‘क्यारियर (सुटकेस)’ सहित कक्षाकोठामा जान थालेका छन्।

सुटकेसभित्र हातमै राखेर चलाउन मिल्ने सानो आकारको (युजर फ्रेन्डली) प्रोजेक्टर, पोर्टेबल सर्भर, ब्याट्री र स्पिकर छन्। यसैको मद्दतमा शिक्षकले ‘अनलाइन’ र ‘अफलाइन’ दुवै तरिकाले विद्यार्थीलाई शिक्षण सिकाइ कार्यकलाप गर्न थालेका छन्।

‘इ–लर्निङमा मोबाइल लर्निङको सम्मिश्रण गरिएको विधि यु–लर्निङ हो। यसमा मोबाइल, कम्प्युटर र मल्टिमिडियालाई एकीकृत रूपमा उपयोग गर्दै पढाउने र सिक्ने वातावरण मिलाइएको हुन्छ।’

काठमाडौं विश्वविद्यालय (केयू) र त्रिभुवन विश्वविद्यालय (त्रिवि) का कम्प्युटर विभागले यु–लर्निङ विधिमा पठनसामग्री विकास गरे सामग्रीलाई सामुदायिक विद्यालयमा प्रयोगमा ल्याउन थालिएको हो। ‘हिजोको इ–लर्निङमा मोबाइल लर्निङको सम्मिश्रण गरिएको विधि यु–लर्निङ हो। यसमा मोबाइल, कम्प्युटर र मल्टिमिडियालाई एकीकृत रूपमा उपयोग गर्दै पढाउने र सिक्ने वातावरण मिलाइएको हुन्छ’, काठमाडौं विश्वविद्यालय, कम्प्युटर विभागका एसोसिएट प्रोफेसर डा. पुरुषोत्तम खरेलले भने।

काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र एनएस डेभिल कम्पनी लिमिटेड कोरियाको ‘इक्वेल एजुकेसनल अपच्र्युनिटिज बाई युबिकुटस लर्निङ टेक्नोलोजी (इइओबल्ट)’ अन्तर्गत नेपालमा यु–लर्निङ थालिएको हो। यसमा कोरियाको जिन्जु नेसनल युनिभर्सिटी अफ एजुकेसन पनि सहभागी छ।

‘आइटी पार्कस्थित केयुको यु–लर्निङ तालिम तथा अनुसन्धान केन्द्रमा सामुदायिक विद्यालयका कक्षा १ देखि ७ सम्मका पाठ्यपुस्तक मल्टिमिडियामा रूपान्तरण भइरहेका छन्’, खरेलले भने, ‘अधिकांश विद्यार्थी अंग्रेजी, नेपाली, विज्ञान र गणितम कमजोर हुने गरेको पाइएकाले यिनै विषयमा सजिलै सिक्न सकिने पठन सामग्री तयार पार्न लागिएको हो’, उनले भने। त्रिविले पनि पुल्चोकस्थित सूचना तथा सञ्चार प्रविधि केन्द्र (आइसिटिसी) मा पठन सामग्री तयार पारिरहेको छ।

खरेलले भने, ‘विज्ञानको किताबमा ग्यास बन्ने तरिका लेखिएको हुन्छ, तर ग्यास कसरी बन्छ भनेर विद्यार्थीलाई सिकाउन मल्टिमिडियामार्फत जानकारी गराइन्छ। यस्तै, फूल कसरी फुल्छ भन्ने प्रक्रिया पनि अडियो, भिडियो र टेक्स्टहरूको मद्दतबाट सिकाइन्छ। पाठ्यक्रममा रहेका कुराहरूलाई यसैगरी रूपान्तरित सामग्रीको मद्दतले सिकाइन्छ।’ नेपालमा नमुना (पाइलटिङ) का रूपमा दोलखा, सप्तरी, , चितवन र काठमाडौंका नौवटा सामुदायिक विद्यालयमा यु–लर्निङ सञ्चालनमा आइसकेको छ।

‘यसरी पढाउँदा विद्यार्थीले सजिलैसँग स्मरणमा लिँदा रहेछन् भन्ने हाम्रो अध्ययनले प्रमाणित गरेको छ। परम्परागत विधिमा सिकाउँदा अंग्रेजी, नेपाली, विज्ञान र गणितका विषयमा २० देखि २२ प्रतिशतमात्र विद्यार्थी पास हुन्थे। हामीले यु–लर्निङ सुरु गरेपछिको तेस्रो महिनामा लिएको परीक्षामा यिनै विषयमा ८० प्रतिशतसम्म विद्यार्थी पास भए’, खरेलले भने।

यु–लर्निङको सिकाइ प्रभावकारी भएको पाएपछि मुलुकका विभिन्न एक सयवटा सामुदायिक विद्यालयमा यसलाई विस्तार गर्ने योजना अघि सारिएको छ। अब काभ्रेका मन्डनदेउपुर नगरपालिकाका १२ वटा, नमोबुद्धका ११ र सिन्धुलीको कमलामाईका १४ वटा सामुदायिक विद्यालयमा यु–लर्निङ लागू गर्न लागिएको जानकारी खरेलले दिए।

‘हामीले यु–लर्निङको प्रयोग विधि र पठन सामग्री (कन्टेन्ट) विकासका लागि ४८ वटा विद्यालयका ६१ जना शिक्षकलाई ल्याबमै ल्याएर तीन चरणमा प्रशिक्षण दिइसकेका छौं। अब शिक्षक आफैंले पनि सिकाइ सामग्री विकास गर्न सक्नुहुन्छ। कक्षा १ देखि ७ सम्मका अंग्रेजी, नेपाली, विज्ञान र गणितका ८० प्रतिशतभन्दा बढी सामग्री मल्टिमिडियामा रूपान्तरण भइसकेका छन्’, उनले भने।

सामुदायिक विद्यालय स्थानीय तहमा गइसकेकाले चौथो तथा अन्तिम चरणको तालिम नगरपालिकामै गएर प्रदान गर्ने लक्ष्य केयूले लिएको छ। कोरियाबाट विद्यार्थीका लागि ट्याब र शिक्षकका लागि क्यारियर आइसकेको जानकारी खरेलले दिए । उनले भने, ‘ती उपकरणमा पठनसामग्री अपलोड भइरहेको छ। तालिमलगत्तै विद्यालयलाई हस्तान्तरण गर्छौं। यु–लर्निङका उपकरण ब्याट्रीबाट सञ्चालन हुने हुँदा बिजुली नभएका स्कुलमा नियमित कक्षा सञ्चालनमा समस्या आउँदैन।’

कोरियाको एनएस डेभिल कम्पनीले त्यहाँका विभिन्न विश्वविद्यालयको सहकार्यमा इइओबल्ट कार्यक्रमलाई सन् २०१२ मा २ वटा राष्ट्रमा सुरु गरेको थियो। नेपालमा भने अघिल्लो वर्षमात्र सुरु भएको हो। दक्षिण कोरिया, इन्डोनेसिया, भियतनाम, दक्षिण अफ्रिका, मंगोलिया, हाइटी र नेपाल गरी १० देशमा इइओबल्ट कार्यक्रम सञ्चालन भइरहेको खरेलले जानकारी दिए।

प्रकाशित: २० श्रावण २०७५ ००:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App