coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सडकमा थुप्रिएको फोहोर उठाएर नगरपालिका गेटमा

लहान- लहान नगरमा थुप्रिएको फोहोरको डंगुर १८ दिनपछि नेवि संघ र तरुण दलका युवाहरुको सक्रियतामा उठेको छ। नगर प्रमुख मुनी साहको निर्देशनमा नगरको फोहोर उठ्न छोडेपछि फोहोर थुप्रिएर नगर दुर्गन्धित बनेको थियो।

युवाहरुले नगरको मुख्य चोकमा थुप्रिएको फोहोरको डंगुर हटाएपछि नगरवासी थोरै भएपनि राहत महसुस गरेका छन्। 'फोहोर नजिकै बसेर सामान बेच्न कठिन भैरहेको थियो सडक पेटिमा फलफूल विक्रि गर्ने रोणु पण्डितले भनिन्,‘फोहोरको डंगुर हटाएर राहत पाएको महसुस गर्दै छु।’

१८ दिनसम्म नगरपालिकाले नगरको मुख्य चोकको फोहोर नउठाएपछि आफुहरुले उठाएको नेवि संघका जिल्ला अध्यक्ष सीतल चौधरीले बताए। उनले भने,‘नगरवासीसँग सरसफाई कर लिएर फोहोर थुपार्ने नगरपालिकाको गलत कार्यको बिरोध गर्दै संकलित फहोर नगरपालिका परिसरमा जम्मा गरिदियौ।’ मुख्य चोकको फोहोर तरुण विधार्थीहरुले उठाएर ट्रयाक्टरमा राखेर नगरपालिका परिसरमा खन्याईदिएको उनले बताए। नगरपालिकाले नगरक्षेत्र सफाई गर्न नसकेपनि आफ्नो कार्यालय परिसर त सफा गर्लान भनेर हामी फोहोर त्यहीं खन्याईदिएको उनको भनाई छ।

'सडक कार्यालयका प्रमुखले गैरकानुनी काम गर्न नमान्दाको रिस नगर प्रमुख साहले नगरको फोहोर सडकमा थुपारेर फेर्ने मिल्छ ?' तरुण दलका नगर अध्यक्ष शम्भु चौधरीले प्रश्न गर्दै भने,‘हामीसँग फोहोर विर्सजन गर्ने स्थानको जानकारी नभएकाले नगरपालिका परिसरमा जम्मा गरिदिएका हौं।’ अब यहाँबाट नगरपालिकालाई उचित स्थानमा फहोर विसर्जन गर्न सजिलो होला, उनले भने।

नगरपालिकाले सरसफाई कर लिने तर नगर प्रमुखले फोहोर उठाउन रोक्ने काम अनुचित, अव्यवहारिक भएको भन्दै स्थानीयहरुले आलोचना गरिरहेका छन्।

डिभिजन सडक कार्यालयका प्रमुख रामकुमार देवलाई मेयर मुनी साहले नगरक्षेत्र भित्रको  सडकलाई १०३ फिट चौडा गर्न भनेका थिए। तर, देवले कानुनअनुसार त्यसो गर्न नमिल्ने जवाफ फर्काएपछि मेयर साह उनीसँग चिढिएका थिए। राजमार्गक्षेत्र चौडा नगरेसम्म यस क्षेत्रको फोहोर नगरपालिकाले नउठाउने भन्दै मेयर साहले फोहोर संकलन कार्य रोकिदिए। १८ दिनदेखि लहानको मुख्य चोकको नियमित सरसफाई रोकिएपछि फोहोर थुप्रिएर दुर्गन्ध फैलिएको थियो।

नेकपाका केन्द्रिय सदस्य गंगा यादवले फोहोर संकल र व्यवस्थापनको काम निर्वाध रुपमा नगरपालिकाले गर्न पर्ने बताए। 'कुनैपनि बहानामा नगरको फोहोर व्यवस्थापन गर्दिन भनेर नगरपालिका पन्छिन् पाउँदैन', उनले भने। नगरको नियमित सरसफाईको काम नगरपालिकाले नै गर्ने हो, उनले भने,‘नगर सफा र सुन्दर भए त्यसको श्रेय(जस) नगरपालिकाले नै पाउने हो।’

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ अनुसार गाउँ वा नगर सरसफाइ सम्बन्धी मापदण्डको कार्यान्वयन, सरसफाइ तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैलाको व्यवस्थापन र स्थानीय स्तरमा सरसफाइ तथा फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी गाउँपालिका तथा नगरपालिकाको कर्तव्यभित्र पर्छ।

प्रकाशित: १९ श्रावण २०७५ १३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App