coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

विदेशी कामदारको उद्धार हम्मे

काठमाडौं- सिराहा, तुल्सीपुर–५ का २० वर्षीय नगेन्द्रप्रसाद महतो दुबईमा अलपत्र परेको खबर पाएपछि यतिखेर परिवार बेचैन छ। आर्थिक जोहो गर्न २०६९ साल चैत २ गते वैदेशिक रोजगारीमा गएका महतो केही महिनायता कम्पनीको यातना सहन नसकेपछि लुकेर बसेको जनाउँदै परिवारले उद्धार गरिदिन सरोकारवाला निकायमा हारगुहार गरे पनि ती निकाय चुपचाप झैं छन्।

उद्धारको पहल गर्न राजधानी आइपुगेका उनका भतिजा रामप्रकाशले भने, 'कमाउन गएको व्यक्ति अलपत्र परेको खबर पाउँदा परिवारजन निकै तनावमा छन्।' पहिलो कम्पनी छाडेर दोस्रोमा काम गर्न थालेका महतोसँग पासपोर्टसमेत नभएको उनका आफन्तले जनाए। घरमा वृद्ध आमाले जतिखेर पनि छोरा खै भन्दै सोधेर हैरान पार्ने गरेको उनले बताए।

रोजगारीका लागि मलेसिया पुगेको छोरा बलराम ठाकुरलाई रोजगारदाता कम्पनीले कुटपिट गर्दै कोठामा थुनेको थाहा पाएपछि मोरङ, इनरुवाकी विन्दादेवी ठाकुरले उद्धारमा सहयोग जुटाउन हारगुहार गरिरहेकी छिन्। केही दिनअघि मलेसियामा बलरामसँगै काम गर्ने पाँचजना साथी फर्केपछि परिवारले उक्त घटनाबारे जानकारी पाएको थियो। विन्दादेवीले भनिन्, 'छोराका साथीहरूले कम्पनीका मान्छेले कुटेर कोठामा थुनेका छन् भन्ने खबर दिए। यताबाट फोन सम्पर्क गर्दा हुन सकेको छैन।' वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका कामदारलाई जतिसक्दो चाँडो उद्धार र सहयोग हुनुपर्ने वैदेशिक रोजगार ऐन २०६४ ले व्यवस्था गरे पनि सम्बन्धित निकायको ढिलासुस्तीले पीडित समस्यामा पर्दै आएका छन्।

वैदेशिक रोजगारीमा गएका युवायुवती दिनहुँ विभिन्न बहानामा ठगिने क्रम बढे पनि सरकारले अहिलेसम्म प्रभावकारी संयन्त्र तयार गर्न नसकेका कारण पीडितले न्याय महसुस गर्न नसकेको गुनासो गर्दै आइरहेका छन्। वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई उद्धार गर्न तथा अन्य सहयोग पुर्‍याउन विभिन्न कार्यालय स्थापना गरिए पनि ती कार्यालयबीच समन्वय नहुँदा पीडित समस्यामा पर्दै आएको धेरैको भनाइ छ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले वैदेशिक रोजगारीमा विकृति देखिन थालेकाले शक्तिशाली र अधिकारसम्म छुट्टै प्राधिकरण स्थापना गर्नुपर्ने अवस्था आएको बताउँछन्। सरकारी अधिकारीका अनुसार विदेशमा पीडित कामदारको उद्धार तथा आवश्यक सहयोगका लागि विदेशमा रहेका नेपाली नियोगमा भर पर्नुपर्ने अवस्था छ। विदेशमा रहेका ती नियोगले सहयोग नगर्ने हो भने वैदेशिक रोजगारीका रहेका व्यक्तिलाई नेपालबाट जति प्रयास गरे पनि सहयोग गर्न नसकिने सम्बद्ध अधिकारी बताउँछन्।

तर, विदेशस्थित नियोगमा कार्यरत कर्मचारीको तुलनामा कामदारको संख्या निकै बढी भएकाले पछिल्लो समयमा चाहेर पनि अलपत्र परेका कामदारलाई समयमै उद्धार गर्न चुनौती बनिरहेको कर्मचारी बताउँछन्। 'साउदीमा देखिएको अहिलेको समस्या त्यसकै एउटा कारण हो,' बोर्डका एक कर्मचारीले भने, 'कामदारले फोनमार्फत जतिसक्दो चाँडो उद्धार गर्न आग्रह गरिरहेका छन्। तर, त्यहाँको नियोगसँग सम्पर्क राख्दा जोखिममा परेका कामदारको विवरण संकलन भइरहेको जानकारी मात्र आउँछ।'

साउदीमा रहेको गैरआवासीय नेपाली संगठनले त्यहाँ कार्यरत नेपालीमध्ये करिब १० प्रतिशत कामदार उद्धार गर्नुपर्ने अवस्थामा रहेको जानकारी दिएको छ। यतिखेर समस्यामा परेका कामदारको उद्धार त कता हो कता साउदीमा रहेका नेपालीको संख्या यकिन गर्नै हम्मे परिरहेको छ। गैरआवासीय नेपाली संगठनले साउदीमा करिब साढे ६ लाख नेपाली रहेको बताउँदै आएको छ भने परराष्ट्र मन्त्रालयका अधिकारी त्यहाँ तीन लाख जति नेपाली हुन सक्ने अनुमान गरिरहेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले साउदीमा अलपत्र परेका कामदारको तत्काल उद्धार गर्न निर्देशन दिए पनि जिम्मेवार निकायले साउदीस्थित नेपाली दूतावासले विवरण नपठाएको भन्दै उद्धार थालेको छैन।

वैदेशिक रोजगार विभागका कानुन निर्देशक गोविन्दप्रसाद उपाध्याय विदेशमा अलपत्र परेकालाई उद्धारका लागि सहयोग माग्नेबित्तिकै विदेशमा रहेका नियोगसँग सम्पर्क गर्नुबाहेक अरु विकल्प नभएको बताउँछन्। वैदेशिक रोजगारीको क्रममा ठगिएको वा रोजगारदाताले अन्याय गरेको भन्दै विभागमा दैनिक १० भन्दा उजुरी पर्ने गरे पनि पीडितलाई न्याय पाउन समस्या भइरहेको धेरैको गुनासो छ। आर्थिक वर्ष ०७१/७२ मा वैदेशिक रोजगारीको क्रममा समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागमा तीन हजार ३४ उजुरी परेका थिए। आर्थिक वर्ष २०७२/७३ मा मेनपावरले ठगेको भन्दै विभागमा २१ सय ६१ उजुरी परे।

प्रकाशित: २७ भाद्र २०७३ ०५:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App