८ वैशाख २०८१ शनिबार
राजनीति

दीपकराज जोशीले भने : म माथी अन्याय भयो

काठमाडौं- कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले आफुमाथी अन्याय भएको बताएका छन्। शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै जोशीले  आधिकारीक निकायको अध्ययन विना नै आफ्ना प्रमाणपत्रका विषयमा सम्मानीत संसदीय सुनुवाई विशेष समितिले धारणा बनाउँदा आफुलाई असाध्यै अन्याय भएको बताएका छन्।

सम्मानीत संसदीय सुनुवाई विशेष समितिमा संविधान बमोजिम सुनुवाई भई सार्वजनिक संचार माध्यममा मेरो विषयमा सम्प्रेषित समाचारका आधार, आशंका र भ्रमका आधारमा तथ्यगत निष्कर्ष विना नै निर्णय भएको विषयमा आफ्नो गंभीर सरोकार रहेको उनले बताएका छन्।

जोशीलाई संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशको लागि शुक्रबार अस्वीकृत गरेको थियो।

तत्कालिन श्री ५ को सरकार शिक्षा मन्त्रालयको परीक्षा महाशाखाबाट एसएलसी सरह समकक्षी नेपाल राष्ट्रिय बिद्यापीठमा  आफुले २०२९ सालको ब्याचमा परीक्षा दिई २०३० बैशाख ३० गते प्रवेशिका परीक्षा उतीर्ण गरेको तथ्यलाई नजर अन्दाज गरिएको उनको भनाई छ। 'विभिन्न सार्वजनिक सञ्चार माध्यममा सम्प्रेषण भएको विषयलाई आधार मानी मेरा शैक्षिक प्रमाणपत्रहरुको आधिकारिकता सम्बन्धित निकायबाट बुझ्दै नबुझी बनाइएको धारणा तथ्य परक नभई हचुवा र अनुमानको आधारमा भएको विषयमा विवाद छैन', विज्ञप्तिमा भनिएको छ।

शैक्षिक प्रमाणपत्रहरु शिक्षामन्त्रालयको परीक्षा विभागले र सम्बन्धित परीक्षाबोर्डले जारी गरेको विषयमा बुझपचाई आफ्नो विरुद्धमा प्रचारबाजी भएको उनको भनाई छ। 'मैले तत्कालिन अवस्थामा दिएको एसएलसी सरहको प्रवेशिका परीक्षाको लागि जारी भएको प्रवेश पत्रमा उल्लेख भएको क्रमांक एवं शैक्षिक प्रमाणपत्रहरुमा सोही नम्बर उल्लेख भएको एवं गोरखापत्रमा समेत सोही नम्बर प्रकाशित भएको तथ्य स्पष्ट भइरहेकोमा जुन निकायबाट परीक्षा दिएको हो सोही परीक्षा बोर्डबाट रुजु गर्नु पर्नेमा त्यसरी रुजु नगरी हचुवाका आधारमा गरिएको चर्चा परिचर्चा र त्यसै आधारमा बनाइएका धारणाले मेरो व्यक्तिगत मानमर्दन गरेको मात्रै नभई सो बोर्ड, सो बोर्डबाट शैक्षिक योग्यताहासिल गरेका सम्पूर्ण महानुभाव र न्यायपालिकालाई नै बदनाम गरिएको छ', जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यसलाई आफुले स्वतन्त्र न्यायालय माथि हस्तक्षेप गरी न्यायालयलाई विस्तारै कमजोर बनाई आफ्नो अभिष्ट पूरा गर्ने तत्वहरु सक्रिय भएको चरम अवस्थाको रुपमा बुझेको उनले बताएका छन्।

 आफुले नेपाल राष्ट्रिय विद्यापीठ काठमाडौं केन्द्रबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेको  र सो समयमा एसएलसी वा प्रवेशिकाका लागि दुईवटा छुटटा छट्टै  बोर्डहरुको व्यबस्था रहेको तथ्यलाई नजर अन्दाज गरिएको उनले बताएका छन्।  

 

प्रकाशित: १९ श्रावण २०७५ ११:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App