७ वैशाख २०८१ शुक्रबार
समाज

प्रभावकारी भएन प्लाष्टिकमुक्त अभियान

सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई प्लाष्टिकमुक्त बनाउने अभियानको सुरुवात भएको पाँच वर्ष पुग्यो। नगरलाई प्लाष्टिकमुक्त बनाउनका लागि २०७१ सालमा नेपालका चर्चित गायकद्वय सुगम पोखरेल र डम्बर नेपालीलाई ‘सरसफाई दूत’ नियुक्त गर्यो। पोखरेल र नेपालीको उपस्थितिमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू पनि सम्पन्न भए। प्लाष्टिकको समस्या भने जस्ताको त्यस्तै छ। 

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि पनि प्लाष्टिकमुक्त अभियान जारी छ। परिणाम भने अहिलेसम्म देखिएको छैन्। बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले २०१८ जुनमा नगरपालिकालाई बुझाएको अध्ययन प्रतिवेदन अनुसार वीरेन्द्रनगरमा दैनिक ३१.३० टन फोहर उत्पादन हुन्छ। त्यो मध्ये ४३ प्रतिशत नकुहिने फोहरभित्र पर्छन्। केन्द्रका अनुसार वीरेन्द्रनगरमा दैनिक उत्पादन हुने कुल फोहरको १२ प्रतिशत प्लाष्टिकजन्य छ।

वीरेन्द्रनगरमा कालो प्लाष्टिकका झोला भने प्रतिबन्ध छ। ‘पाँच वर्षदेखिको निरन्तरको अभियानबाट कालो प्लाष्टिकका झोलामुक्त वीरेन्द्रनगर बनाउन हामी सफल भएका छौं’ वरिष्ठ अधिकृत प्रकाश पौडेलले भने, ‘हाम्रो दीर्घकालिन लक्ष्य सबै प्रकारका प्लाष्टिकमुक्त वीरेन्द्रनगर बनाउने हो।’ 

जनप्रतिनिधि निर्वाचित भएपछिको पहिलो नगरसभाले वीरेन्द्रनगरको वडा नम्वर–१० लाई प्लाष्टिकमुक्त बनाउने घोषणा गर्याे। सो अनुसार वडामा कार्यक्रम पनि सञ्चालन गरिए। प्रत्येक टोललाई कपडा र कागजका झोला पनि अनुदानमा वितरण गरिए। प्लाष्टिकमुक्तको अभियान सञ्चालन गरिराखेका वडा अध्यक्ष रत्नबहादुर विसी अहिले समस्यामा छन्।

‘एकै पटक पूरै उपत्यकालाई प्लाष्टिकमुक्त बनाइनु आवश्यक देखियो’ वडा अध्यक्ष विसीले भने, ‘अरुका कारणले हामीले अभियान सफल बनाउन सकेनौं।’ अध्यक्ष विसीका अनुसार खासगरी वीरेन्द्रनगरको मुटु छ नम्वर वडा र अन्य ठाउँबाट हावाहुरी लाग्दा होस् वा पानी पर्दा नालीमार्फत प्लाष्टिक वडामा आउँछ। ‘हामीले प्रत्येक टोललाई अनुदानमा कपडा र कागजका झोला वितरण गरेका छौं, यहाँका पसलहरूले पनि प्लाष्टिकका झोला राख्न छोडेका छन्’ उनले भने, ‘बाहिरबाट आउने प्लाष्टिकले समस्या पारेको छ।’

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरलाई प्लाष्टिकमुक्त बनाइने बताउँछन्। ‘अघिल्लो वर्ष बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा यहाँ दैनिक उत्पादन हुने फोहरको अवस्थाका बारेमा तथ्याङ्क संकलन गर्यौ, अब सोही अनुसार आफ्ना कार्यक्रमहरु ल्याउँछौं’ उनले भने, ‘कपडा र कागजका झोला उद्योगहरुलाई प्रोत्साहन गर्दै बाहिरबाट आउने प्लाष्टिकमा प्रतिबन्ध लगाउँछौं।’ वीरेन्द्रनगरमा हाल कपडा र कागजको झोला उत्पादन गर्ने दुई वटा कम्पनी छन्।

सुर्खेतका रहेका नौ वटा स्थानीय तह मध्ये प्लाष्टिकमुक्त अभियान चलाउने वीरेन्द्रनगर एक्लो हो। अन्य नगरपालिका तथा गाउँपालिकाले प्लाष्टिक न्यूनिकरणका लागि पनि कुनै कार्यक्रम ल्याएका छैनन्।

प्रकाशित: १९ श्रावण २०७५ ०८:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App