coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रसुवागढी नाकामा साउन महिनाभर सवारीसाधन सञ्चालन नहुने

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय ब्यापारिक नाका रसुवागढीमा साउन महिनाभर सवारी साधन सञ्चालन नहुने भएको छ। जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ घट्टेखोलामा बाढीले क्षति पु-याएको पुलको मर्मतमा ढिलाई हुँदा यो महिना सवारी सञ्चालन हुने सम्भावना टरेको हो।

पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती खण्डको तिरतिरे भीरमा पहिरो गएपछि निर्माण सामग्री आयात गर्न नसक्दा एक हप्तादेखि निर्माण कार्य सुरु हुन सकेको छैन्। डिभिजन सडक कार्यालय नुवाकोटका अनुसार आज निर्माण सामग्री आइपुग्ने छ।

पुल मर्मतका लागि आवश्यक पर्ने गिट्टी, बालुवा, सिमेन्ट, रड, जाली र फर्मा आज साइडमा आइपुग्ने डिभिजन प्रमुख निरज शाक्ले बताए। जोखिमलाई मध्यजनर गर्दै एक सातादेखि सवारी सञ्चालनमा रोक लगाइएको छ। गत शनिबारदेखि नाकामा सवारी साधन सञ्चालन भएका छैनन्।

मर्मत सुरु भएको १५ दिनमा यातायात सञ्चालनमा ल्याउने कार्यालयले लक्ष्य राखेको छ। ‘तिरतिरे भीरमा पहिरो गएपछि निर्माण सामग्री आयात हुन सकेन', डिभिजन प्रमुख शाक्यले भने, 'आज निर्माण सामग्री आएपछि द्रुत गतिमा कार्य अघि बढ्छ।’

‘पानीको बहाव उच्च भएकाले ठुलाठुला ढुङ्गा खसालेर ढलान गर्न लागिएको छ', डिभिजन प्रमुख शाक्यले भने, 'मर्मत सुरु भएपछि १५ दिनमा सम्पन्न गर्ने लक्ष्य छ।’ स्थानीयले घर निर्माणका लागि जग खन्ने क्रममा ठुलाठुला ढुङ्गा खोलामा हालेका कारण पुलमा क्षति भएको कार्यालयले जनाएको छ।

सवारी सञ्चालन हुन नसक्दा स्याउ, लसुनलगायतका सामग्री कुहिन थालेपछि व्यापारीले भरियालाई बोकाएर सामग्री टिमुरेसम्म ल्याएका छन्। सवारी सञ्चालन हुन छाडेपछि नाका सुनसान बन्न थालेको छ।

भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट सामग्री आयात तथा निर्यात हुँदै आएको छ। रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ।

चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेण्डल, रबर, प्लाष्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस, प्लाष्टिकका सामग्रीहरू आयात हुने गरेको छ।

नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, श्रृंगारका सामान, चाउचाउ, पास्ता, जुस जाम, चकलेट, उनी गलैंचा कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रीम लगायतका मुख्य बस्तुहरु निकासी भइरहेको छ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ।

रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: १९ श्रावण २०७५ ०२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App