८ वैशाख २०८१ शनिबार
समाज

गाँजा तस्करीको ट्रान्जिट बन्दै महोत्तरी

साउन १ मा महोत्तरी प्रहरीको कारबाहीमा बरामद गाँजाको विवरण र घटनाबारे जानकारी दिँदै डिएसपी खगेन्द्रबहादुर खडका। तस्बिर : महेश/नागरिक

महोत्तरी - प्रहरी र गाँजा तस्करबीच साउन १ को मध्यराति भिडन्त भयो। एकडारा गाउँपालिका ३ अजमरपट्टी पर्सा हुँदै भारततर्फ गाँजा निकासी गर्न थालिएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खडकाको नेतृत्वमा खटिएको प्रहरी टोली र तस्करबीच गोली हानाहान भयो। त्यसक्रममा तस्करहरू ५ पोका गाँजा छाडी फरार भए। रातिको समय भएकाले तस्करले केही परिमाणमा गाँजा घटनास्थलमै छाडे। तर, उनीहरू भारी मात्रामा गाँजा लिएर भाग्न सफल भएको प्रहरीको अनुमान छ।

सर्च अभियानका क्रममा प्रहरीमाथि तस्करका तर्फबाट ४ राउन्ड गोली फायर भएपछि प्रहरीले पनि जवाफमा ६ राउन्ड गोली फायर गरे। २० मिनेटसम्म गोली हानाहान र करिब एक घण्टासम्मको सर्च अभियानपछि गाँजा छाडेर तस्करहरू भागेका थिए। घटनास्थलबाट ३३ किलो गाँजा बरामद गरियो । यस्तै जेठको अन्तिम सातातिर जिल्ला प्रहरी कार्यालय महोत्तरीले एकडारा गाउँपालिका ३ कै अजमरपट्टी बस्ने जितेन्द्रकुमार मण्डल र श्रीमती चुनचुनदेवी मण्डलको घरमा गाँजा भण्डारण गरिएको सूचनाका आधारमा खानतलासी गरेपछि दुवैका घरबाट एक क्विन्टल ८६ किलोग्राम तयारी गाँजा र एक थान हतियार बरामद भयो। प्रहरीका अनुसार रातो प्लास्टिकभित्र चारपाटे आकारका ३१ वटा बन्डलमा गाँजा लुकाईछिपाई राखिएको थियो।

महोत्तरीमा तीन महिनाकै अन्तरालमा धेरै परिमाणमा गाँजा बरामद हुनु र तस्करले प्रहरीसँग नै मुठभेड गर्ने आँट गर्नुले महोत्तरी गाँजा तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको प्रस्ट हुन्छ। जिल्लाको सीमावर्ती क्षेत्रमा संगठित रूपमै गाँजा तस्करी हुने गरेको देखिन्छ।

प्रहरीले जितेन्द्रको घरबाट १२ वटा प्याकेटमा रहेको ४६ किलो गाँजा, डिजिटल बेटिङ मेसिन, कमानी तराजु र ढक बरामद गरेको छ भने चुनचुनदेवीको घरबाट १९ वटा पोकामा राखिएको एक क्विन्टल ४० किलो गाँजा, मोबाइल फोन, अटोमेटिक पेस्तोल एक थान, म्याग्जिन एक थान र गोली ३ राउन्ड बरामद ग-यो। दुई साताअघि सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय महोत्तरीले बिसबिट्टी ७ बाट १५ किलोग्राम र नैन्ही ७ बाट ४३ किलोग्राम गरी ५८ किलोग्राम गाँजा बरामद ग¥यो । त्यस दिन प्रहरी टोलीलाई देखेर गाँजा छाडी घरधनीहरू टाप ठोकेका थिए।

महोत्तरीमा तीन महिनाकै अन्तरालमा यति धेरै परिमाणमा गाँजा बरामद हुनु र तस्करले प्रहरीसँग नै मुठभेड गर्ने आँट गर्नुले महोत्तरी गाँजा तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको प्रस्ट हुन्छ। जिल्लाको सीमावर्ती क्षेत्रमा संगठित रूपमै गाँजा तस्करी हुने गरेको देखिन्छ। भारतसँगको खुला सिमानाका कारण गाँजा तस्करी गर्न सजिलो भएकाले महोत्तरी जिल्ला पछिल्लो समयमा गाँजा तस्करीको ट्रान्जिट प्वाइन्ट बनेको जानकारहरूको दाबी छ।

मकवानपुर, पर्सालगायत विभिन्न जिल्लाबाट ल्याइने गाँजा महोत्तरी जिल्ला हुँदै भारतीय क्षेत्रमा बिक्रीवितरणका लागि पु¥याउने गरिन्छ । मकवानपुर, बारा पर्सा, रौतहट, सर्लाही, महोत्तरीलगायत जिल्लाका प्रहरीलाई अवैध रकम दिएर गाँजाको ओसारपसार हुने गरेको जानकारहरूको भनाइ छ। प्रहरीको मिलेमतोका कारण जिल्लाका विभिन्न ठाउँमा ट्रकका ट्रक गाँजा अनलोड गरी भण्डारण गर्ने गरिन्छ। तस्करले जिल्लाका कोल्हुवा बगेया, जाउख अजमरपट्टी, बखरी, कोल्हुवा महादेवपट्टी भटौलिया आदि गाउँमा गाँजा भण्डारण गर्ने गरेको प्रहरी स्रोतको भनाइ छ।

भण्डारण गरिएको गाँजा ससाना बोरामा प्याक गरी घरभित्र खाल्डो खनी गाडेर राख्ने गरिन्छ। यी गाउँमा पारिका तस्कर आएर गाँजा किनबेचको टुंगो लगाउँछन्। त्यसपछि ‘डिल’ भएकै राति भरिया लगाई सीमापारिका भारतीय एजेन्टसम्म गाँजा पु-याउने गरिन्छ। मकवानपुर, बारा र पर्सालगायत जिल्लाबाट तस्करले खरिद गरेर ल्याएको गाँजा महोत्तरीमा जम्मा गरेर थोक र खुद्रा बिक्री गर्ने गरेको बुझिएको छ। जिल्लामा गाँजा उत्पादनसमेत हुनेगर्छ। प्रहरी स्रोतका अनुसार महोत्तरीका भिठ्ठामोड, बथनाहा सिसवाकटैया, खैरबन्नी, रघुनाथपुर, सम्सी नाकाबाट संगठित रूपमै गाँजा तस्करी हुनेगर्छ। गाँजा ओसारपसार हुने पर्सादेखि महोत्तरीसम्मका विभिन्न ठाउँमा डेढ दर्जनभन्दा बढी सुरक्षा जाँच गर्ने प्रहरी एकाइ छन्। प्रहरी स्रोतकै अनुसार ‘माल’ पास गराउनुअघि तस्करले प्रहरी अधिकृतलाई मोटो रकम दिएर सुरक्षा जाँच एकाइमा आफू अनुकूलका प्रहरी तैनाथ गर्न लगाउँछन्। यसरी सजिलै गाँजाको ओसारपसार हुनेगर्छ।

गाँजा तस्करी रोक्न महोत्तरी प्रहरीले कुनै कसर बाँकी नराखेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खडकाले बताए। साउन १ को कारबाहीबाट गाँजा तस्कर हतोत्साहित भएको उनको भनाइ छ। ‘साउन १ को घटनाबारे अनुसन्धान गर्दैछौं, बरामद भएको गाँजा कसको हो र कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ उनले भने।

प्रकाशित: १९ श्रावण २०७५ ०१:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App