coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

उनले रक्सी खाए, रक्सीले कलेजो

बिरामी राजेश तामाङ। तस्बिर : नागरिक

नुवाकोटका ४० वर्षीय राजेश तामाङ यतिखेर अस्पतालका भित्ताहरू हेरेर दिनरात काटिरहेका छन्। घरी आफ्नो फुलेको पेटमा आँखा पु-याउँछन् त घरी अस्पतालका भित्तामा। कलेजो पूरै बिगे्रपछि उनको यो हविगत भएको हो। कलेजो त बिगे्रेको छ नै, सँगसँगै निमोनिया हुनुका साथै उनको मिर्गौलासमेत बिगे्रेको छ। चालीस वर्षमा पाइला टेकेका तामाङ बुढ्यौली लागेजस्तो फुस्रा देखिन्छन्। कलेजो बिगे्रका कारण न उनी खान सक्छन् न खाएको पचाउनै नै।

औषधिका भरमा उनी एक महिनादेखि वीर अस्पताको बेडमा बिताइरहेका छन्। ‘डाक्टर, उपचार हुँदैछ भन्छन्, निको हुन्छ कि हुँदैन केही भन्दैनन्,’ बिरामी राजेशकी पत्नी सिर्जनाले शुक्रबार भनिन्। सिर्जनालाई पति लामो समयदेखि गम्भीर बिरामी परेको चिन्ता त छ नै, उपचारका क्रममा लागेको क्रण र कमाइ गर्ने मुख्य व्यक्ति थला पर्दाको पीडा छुट्टै छ।

वीर अस्पतालमा यो वर्ष मात्रै ४ हजार ८ सय जना कलेजोका बिरामी उपचारमा आएका छन् । तीमध्ये ६० प्रतिशत बिरामी रक्सीकै कारण कलेजो बिग्रेकामा पर्छन् ।

नागरिकर्मी अस्पताल पुग्दा उनले भनिन्, ‘हामीलाई केही सहयोग गर्न आउनु भएको हो र?’ तामाङ दम्पत्तिका अनुसार महिनौंदेखि दुवैजना अस्पतालमा बस्नु परेपछि आम्दानीको बाटो समाप्त भएको छ। उपचारका क्रममा एक महिनामै तीन लाख रुपैयाँ खर्च भइसकेको उनीहरूले बताए। ‘अस्पतालमा लागेको खर्च तिर्नै बाँकी छ,’ सिर्जनाले पीडा पोखिन्, ‘भएको जग्गाले खान पुग्दैन, किनेर खानु पर्छ।’

पत्नीले क्रणको कुरा गरिरहँदा बिरामी राजेश ओछ्यानमा आँसु खसालिरहेका थिए। उनले रुँदै भने, ‘कसैले सहयोग गरिदिए हुथ्यो।’ रोग निको नभएकाले अस्पतालले कहिले डिस्चार्ज गर्छ भन्ने विषयमा पनि उनीहरूलाई जानकारी छैन।

तामाङले आफ्नो कलेजो बिग्रनु कारण रक्सी हो भन्ने कुरा अस्पताल आएपछि मात्र थाहा पाए। लामो समयसम्म नियमित रक्सी खाएका कारण कलेजो धेरै नै नष्ट (लिभर सिरोसिस) भइसकेको चिकित्सकले बताएपछि बल्ल उनले चाल पाए।

तामाङ विपन्न परिवारका हुन्, उनी दैनिक खेतीपातीको काम गर्थे र घर खर्च जुटाउँथे। खेतीको काम गरेपछि दुःख भुल्ने बहानामा उनले पाएसम्म दैनिक रक्सी पिउँथे। तामाङ पत्नी भन्छिन्, ‘पहिला निको भएका बेला रक्सी खाइदिनु भयो र रोग बल्झियो।’ पत्नी सिर्जनाका अनुसार राजेशले वर्षांैदेखि नियमित रक्सी पिएका हुन्। साथमा चुरोट पनि।

कलेजो बिग्रिन लागेका लक्षणहरू

  • ग्यास्ट्राइटिस्जस्तो कोखामा दुख्नु
  • खाना मन नलाग्नु
  • दाहिने कोखा दुख्ने
  • खाना पचाउन गाह्रो हुने

वीर अस्पतालको मेडिकल वार्डमै उपचाररत छन्, धादिङका ३९ वर्षीय इन्द्र बहादुर थापा पनि। खाना खान नसक्ने, कलेजो फुल्ने समस्याले थला परेपछि उनलाई नौ दिनअघि वीर अस्पताल ल्याइएको हो। पेशाले उनी सिकर्मी हुन्। उनी बिरामी परेपछि पत्नीले क्रण खोजेर उपचार गर्न वीर अस्पताल ल्याइ पु-याएकी हुन्। पतिको उपचारका लागि कमाउने दुवै जना अस्पताल बस्नुपरेपछि अहिले आम्दानीको बाटो पूरै बन्द भएको पत्नी शारदाले दुखेसो गरिन्। ‘घरमा दुई बच्चा छाडेर हिंडेका छौं, अब खर्च कसरी जुटाउने?’, उनले शुक्रबार नागरिकसँग भनिन्। नियमित रक्सी खाएकै कारण थापाको पनि कलेजा बिग्रेको वीर अस्पतालका चिकित्सकले बताएका छन्।

यसरी रक्सीका कारण कलेजो बिग्रनेमा पुरुष मात्र छैनन्। फिमेल मेडिकलमा जाने हो भने रक्सी पिएकै कारण कलेजो बिगे्रका थुपै्र महिला भेटिन्छन्। भक्तपुर बोडेकी ५० वर्षीया लक्ष्मी श्रेष्ठ सोही वार्डमा उपचार गराइरहेकी छन्। खाना खान नसक्ने, बेहोस हुने र पेट फुलेर ठूलो भएपछि उनलाई वीर अस्पताल ल्याइएको हो। कलेजो बिग्रेकाले उनको पेटमा पानी जमेको छ। रक्सीकै कारण उनको कलेजो बिग्रेको चिकित्सकले बताएका छन्। श्रेष्ठ परिवारका अनुसार उनले दैनिक तीन/चार गिलास रक्सी पिउने गरेकी थिइन्।

सोही वार्डमै काभे्रकी ५२ वर्षीया सञ्चमाया तामाङ उपचाररत छिन्। खान मन नलाग्ने, खाना खाएको नपच्ने, पेट फुल्ने भएपछि उनी वीर अस्पताल आइपुगेकी हुन्। तामाङ चार महिनादेखि गम्भीर बिरामी हुन थालेकी हुन्। चिकित्सकले सञ्चमायालाई पनि रक्सीकै कारण कलेजो बिगे्रेको बताएका छन्।

वीर अस्पताल, कलेजो विभागका अनुुसार बिहीबार मात्र २६ जना कलेजो बिगे्रका बिरामी भर्ना भएका छन्। तीमध्ये २३ जना रक्सीका कारण कलेजो बिगे्रका अर्थात् लिभर सिरोसिसका बिरामी छन्। अस्पतालको तथ्यांकअनुसार यो वर्ष मात्रै ४ हजार ८ सय जना कलेजोका बिरामी उपचारमा आएका छन्। तीमध्ये ६० प्रतिशत बिरामी रक्सीकै कारण कलेजो बिग्रेकामा पर्छन्। नियमित रूपमा सय जनाले रक्सी पिउने हो भने तीमध्ये १५ जनालाई कलेजोसम्बन्धी रोग लाग्छ। रक्सी पिएर पनि कलेजो नबिग्रनुको एकिन कारण भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

चिकित्सकका अनुसार मुख्य तीन कारणले लिभर सिरोसिस् हुन्छ। पहिलो,  नियमित रक्सी पिउने व्यक्ति जसको निरन्तर कलेजोको कोष नष्ट हँुदै कलेजो कडा भई पूरै बिग्रिन्छ। दोस्रो, हेपाटाइटिस ‘बी’ र ‘सी’ को संक्रमणले पनि लिभर सिरोसिस हुन्छ।  तेस्रो, कलेजोमा बोसो जम्मा हुने र लामो समय उपचार नगर्दा कलेजो कडा भई सिरोसिस हुन्छ।

कलेजो बिग्रिन थालेपछि सुरुको अवस्थामा ग्यास्ट्राइटिस् भएजस्तो हुने, खाना मन नलाग्ने, दाहिने कोखा दुख्ने, खाना पचाउन गाह्रो हुनेलगायत लक्षण देखिन्छन्। कलेजो पूरै फेल भएपछि भने रगत वान्ता हुने, अनुहार पहेंलो देखिने, पेट फुल्ने, खुट्टा सुन्निने, नाकबाट रगत बग्नेजस्ता लक्षण देखिन्छन्।

नेपालमा हावापानी तथा जातिगत र पेशागत संस्कारका कारण रक्सी पिउने चलन छ। अस्पतालमा आउनेहरूको स्थिति हेर्दा किसान, ज्यामी, हिमाली भेगमा बस्नेहरू जाडो छल्ने बहानामा, चाडपर्वका नाममा रक्सी पिउने चलनका कारण यसको लतमा फसेको देखिएको कलेजो विभागका इन्डोग्यास्ट्रोलोजिस्ट डा. सुधाशुं केसी बताउँछन्।

चिकित्सकका अनुसार रक्सीले कलेजोको कोष नष्ट गर्दै जान्छ। रक्सी नियमित लामो समयसम्म पिएमा कलेजो पूरै नष्ट हुन्छ। बीच–बीचमा छाड्दै फेरि पिउनेलाई भन्दा नियमित रक्सी पिउनेको छिटो कलेजो नष्ट हुन्छ। ‘रक्सी पिउँदा नष्ट भएको कलेजोको भाग रक्सी छाडेपछि पलाउँछ तर, दिनहुँ रक्सी पिएपछि यसो हुन पाउँदैन र पूरै कलेजो फेल हुन्छ,’ केसीले भने।

उपचार
डा.सुधांसु केसीका अनुसार रक्सीका कारण कलेजो बिगे्रर अनुहार पहेंलो हुने समस्या देखिएपछि धेरैजसो बिरामी भाइरल हेपाटाइटिस् भएको भ्रममा  पर्छन् र आयुर्वेदिक उपचारमा पुग्छन्। कलेजो बिग्रिनुको कारण नुबझी जथाभावी जडीबुटी तथा आयुर्वेदिक औषधि खाने गर्दा निको हुनुको साटो रोग झ्न जटिल बन्दै जान्छ। कलेजो बिग्रेको लक्षण देखिएपछि रक्सी पिउनै हुँदैन।  यस्तो अवस्थामा रक्सी पिएमा स्थिति झन् जटिल बन्छ। ‘लिभर सिरोसिस्मा जडीबुटी खाएमा ९० प्रतिशत जटिलता थपिन्छ,’ डा.केसीले भने।

रक्सीले कलेजो बिगार्दै गएको सुरुमै पत्ता लाग्न सके रक्सी छाडेर औषधि सुरु गरेपछि बिरामी सामान्य अवस्थामा फर्किन सक्छ। उपचार ढिला भएमा भने कलेजोको अवस्था जटिल बन्दै जान्छ। जटिल बन्नु भनेको लिभर सिरोसिस् अर्थात् कलेजो पूरै फेल हुनु नै हो।

लिभर सिरोसिस् भइसकेपछिको उपचार भनेको कलेजो प्रत्यारोपण नै हो। नेपालमा हालसम्म धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्रले तीन जनामा कलेजा प्रत्यारोपण गरेको तथ्यांक छ। विदेशी चिकित्सकको निगरानीमा भएको कलेजो प्रत्यारोपण नियमित भने हुन नसकेको अवस्था छ।

अब चाँडै महराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले कलेजो प्रत्यारोपण गर्ने तयारी गरिरहेको छ। नेपालमा नियमित प्रत्यारोपण हुन नसकेका कारण अहिले पनि धेरै बिरामी कलेजो प्रत्यारोपणका लागि भारत पुग्ने गरेका छन्। भारतमा उपचार गर्दा कम्तीमा नेपाली ४० लाख रुपैयाँ खर्च हुने गर्छ। आफन्त तथा नातेदारले मात्र दिन कलेजो दान गर्न मिल्छ। मानिसको शरीरमा आफूलाई चाहिनेभन्दा ठूलो आकारको कलेजो हुने भएकाले केही भाग काटेर दान गर्दैमा दान गर्नेलाई कुनै पनि असर नपर्ने चिकित्सक बताउँछन्।

भारत गएर महँगो खर्चमा कलेजो प्रत्यारोपण गर्न नसक्ने विपन्न वर्गका बिरामी भने यो सुविधाबाट बञ्चित हुने गरेका छन्। ‘उपचार महँगो भएकाले रक्सीको लतमा परेकाहरूले बेलैमा रक्सी पिउन छाड्नु नै कलेजो बचाउने उत्तम उपाय हो,’ डा.केसीले भने।

प्रकाशित: १९ श्रावण २०७५ ००:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App