coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

लेखकहरूको सामूहिक घर

पहिलोपटक आयरल्याण्ड जाँदै गर्दा मलाई केही आइरिस कविका बारेमा थाहा थियो । त्यो भन्दा बढी आइरिस रक ब्यान्ड ‘यु टु’का बोनोको बारेमा बढी थाहा थियो । डब्लिनमा लामो समय बसे पनि मैले डेरा नजिकैको राइटर्स म्युजियम जाने मौका पाएको थिइन्।  

केही समयअघि म फेरि डब्लिन पुगेँ । नेपालबाट उड्नुअघि नै मनमा एउटा चाहनाले घर जमाएको थियो, त्यो थियो यसपटक राइटर्स म्युजियम जसरी भए पनि घुम्ने ।५ सेप्टेम्बर २०१७ को बिहान फोनमा घन्टी बज्यो । मैले अघिल्लो रात फेसबुकमा भोलि राइटर्स म्युजियम जान्छु भनेर लेखेको थिएँ । त्यही स्टाटस देखेर फोन गर्नु भएको रहेछ दाजु चेतराज ओलीले । उहाँले पनि सँगै जान्छु भन्नुभयो । मैले सहर्ष स्वीकारे।

हामी बिहान ११ बजे सिटी सेन्टर, जेम्स जोयसको सालिकनेर भेट भयौं । डब्लिन भन्नेबित्तिकै साहित्यप्रेमीको आँखामा आउने पहिलो चित्र जेम्स जोयसको हो । उनी प्रख्यात उपन्यास ‘उलिसिस’का लेखक हुन् । जोयसको शालिक डब्लिनको मुख्य बजार सिटी सेन्टरको दायाँपट्टि छ । डब्लिन आउने हजारौं पर्यटक जोयससँगै फोटो खिँचेर आनन्द लिन्छन् । मैले पनि तत्कालै फोटो फेसबुकमा राखें । तुरुन्तै एलबी सरको कमेन्ट आयो ।नेपालमा छोरी सुरभिले पनि त्यो फोटो हेरिछन् र मसँग फोनमा रिसाएर ‘किन जोगीसँग फोटो खिचेका ?’ भनिन् ।आइरिस साहित्यबारे जानकारी लिन चाहनेलाई जोयस मात्र पर्याप्त हुँदैन । जोनाथन स्विफ्ट, अस्कर वाइल्ड, सिमल बकेट, डब्ल्यु बिइट्स, जर्ज बर्नाड श लगायत थुप्रै लेखकबारे जानकारी नलिई हुँदैन ।

पार्नेल स्कवायरमा रहेको डब्लिन राइटर्स म्युजियम सन् १९९१ मा तत्कालीन आइरिस प्रधानमन्त्री चाल्र्स हयीले उद्घाटन गरेका थिए । सुरुवातीका दिनमा यसलाई डब्लिन टुरिजमले स्वामित्व लिएको थियो भने अहिले यसको  व्यवस्थापन ‘फल्चा आयरल्यान्ड’ले गर्दै आएको छ । फल्चा आयरल्यान्ड, आयरल्यान्डको आधिकारिक पर्यटन प्रर्वद्धन गर्ने संस्था हो ।

आयरल्यान्डका तीन साहित्यकारले नोबल पुरस्कार पनि जितेका छन् । जर्ज बर्नड श, सिमल बकेट र सिमस हिनेले ।बिहान ११ बजे चेतराज दाइ, म र साथी अन्तिम लाग्यौं राइटर्स म्युजियमतिर । चेतराज दाइ साहित्यको राम्रो पाठक हुनुहुन्छ । नेपालबाटै किताब मगाएर पढ्ने उहाँको बानी छ । त्यही भएर पनि होला उहाँलाई आइरिस साहित्यबारे पनि केही जान्ने इच्छा भएको । र, हामी जुट्यौं एउटै यात्रामा।

पार्नेल स्कवायरमा रहेको डब्लिन राइटर्स म्युजियम सन् १९९१ मा तत्कालीन आइरिस प्रधानमन्त्री चाल्र्स हयीले उद्घाटन गरेका थिए । सुरुवातीका दिनमा यसलाई डब्लिन टुरिजमले स्वामित्व लिएको थियो भने अहिले यसको  व्यवस्थापन ‘फल्चा आयरल्यान्ड’ले गर्दै आएको छ । फल्चा आयरल्यान्ड, आयरल्यान्डको आधिकारिक पर्यटन प्रर्वद्धन गर्ने संस्था हो । साहित्यबाट पनि पर्यटन प्रर्वद्धन गर्न सकिन्छ भन्ने यसले देखाएको छ।

हाम्रो देशमा पनि नेपाल पर्यटन बोर्डले नेपाली लेखकहरूको संग्रहालय बनाए नेपाली साहित्यको प्रवद्र्धनमा सघाउ पुग्थ्यो । स्वदेशी पर्यटकको त्यो आकर्षक बन्न सक्थ्यो ।जोयसको शालिकबाट ठिक अगाडि ‘जिपिओ’ अर्थात् राष्ट्रिय हुलाक घर पर्छ । डा. ताना शर्माले ‘बेलायततिर बरालिँदा’मा यसको राम्ररी बयान गर्नुभएको छ । हामी यही शालिकबाट दायाँ लाएर अघि बढ्यौं । एकैछिन हिँडाइमा हामी ‘गार्डेन अफ रिमेम्बेरेन्स’मा पुग्यौं । यो बगैंचा क्रान्तिकारी युद्धमा मारिएका सहिदहरूको सम्झनामा बनाइएको।

थोरै अगाडि, यही बगैंचा नजिकमा १८ पार्नेल स्क्वायर लेखेको घर देखियो । त्यही घरनै म्युजियमका नाममा सन् १९९१ देखि सुरु गरिएको रहेछ । म्युजियम अहिले डब्लिन आउने पर्यटकको प्रमुख गन्तव्य बनेको छ । नाम डब्लिन राइटर्स भए पनि म्युजियम सम्पूर्ण आइरिस लेखकको संग्रहालय हो । त्यसभित्र पस्नुअघि मनमा अनेक कुरा खेले । मेरो सोच अनुसार छ कि छैन । वा त्यहाँ छिर्न लाग्ने यूरो ७.५० असुल हुन्छ कि हुँदैन !मलाई धेरै आइरिस लेखकका बारेमा जान्न मन थियो । साहित्यको विद्यार्थी भएका नाताले मैले जसरी पनि यो हेर्नु थियो ताकि हाम्रो देशमा पनि कुनै दिन ‘नेपाल राइटर्स म्युजियम’ बनाउन सकियोस्। 

  म्युजियम छिर्नेबित्तिकै पहिलो कोठामा मेरी टेको लेख्ने टेबल थियो भने जर्ज बर्नड शको अर्धकदको मूर्ति । भित्ताभरि लेखकका फोटा र क्याप्सनमा नाम, जन्म मिति, मृत्यु मिति र चर्चित लेखको अंश राखिएको थियो । त्यहाँ राखिएका पोट्रेट हेरेर एकै छिनमा लेखकको जानकारी पाउन सकिन्छ । संग्रहालयको दोस्रो कोठामा केही व्यक्तिगत महŒवपूर्ण सामग्री राखिएको छ । जोयसको पियानो, पेट्रिक क्याभानाको टाइपराइटर, पाइपहरू, ब्याकेटले पेरिसमा प्रयोग गरेका फोन र मेरी लेभिनको पत्र आदि ।माथिल्लो तलामा साहित्यकारका मूर्ति, लेखकका तस्बिर राखिएका छन् । तीमध्ये म्येभ ब्रेननको सन् १९४९ मा न्युयोर्कमा खिँचिएको फोटो निकै रोचक छ।  

घुमन्तेका लागि सजिलो होस् भनेर अडियोफोन व्यवस्था गरिएको छ । म्युजियममा धेरै दुर्लभ किताबका साथै ब्राम स्टोकरको ‘ड्राकुला’, जोनाथन स्वीफ्टको ‘गुलिभर्स ट्राभलर्स’को पहिलो संस्करण, बे्रन्डन बेहान्सको ‘बोर्स्टल ब्वाय’को पहिलो संस्करण र जेम्स जोयस हस्ताक्षरित ‘उलिसिस’ को कपी पनि सुरक्षित छन् ।संग्रहालय सँगैको घरमा किताब पसल छ, जहाँ आइरिस लेखकका पुस्तक किन्न सकिन्छ । आइरिस लेखकका विषयमा सरसर्ती जानकारी लिन मन छ भने पनि यो संग्रहालय उपयोगी छ । यसको मुख्य उद्देश्य भनेको आइरिस साहित्य र साहित्यकारबारे विश्वलाई जानकारी दिनु हो।

बाँच्दा आ–आफ्नै तरिकाले बाँचे पनि मृत्युवरणपछि आउने सामूहिक थलो बनेको छ संग्रहालय । त्यहाँबाट आइरिस साहित्यको उदय, यसका प्रभाव र इतिहासको जानकारी लिन सकिन्छ ।  एउटै घरमा आइरिस साहित्यबारे धेरै कुरा दिनु चानचुने कुरा होइन । एउटा प्रतिभाशाली आइरिस लेखक म¥यो भने उसको शरीर त गाडिन्छ । तर ऊ त्यही घरमा भावनात्मक रूपमा पुग्छ त्यो हो ‘डब्लिन राइटर्स म्युजियम’ ।

 

प्रकाशित: १९ श्रावण २०७५ ००:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App