coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इन्जिनियरहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

काठमाडौं– एसिया प्यासिफिक क्षेत्रका २० देशका इन्जिनियरहरुको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ।

‘इन्नोभेसन इन टीभीईटी फर सोसियल इकोनोमिक डेभलपमेन्ट’ नाम दिइएको सम्मेलन डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन), कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी) मनिला र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) को आयोजनामा असोज १८ र १९ गते काठमाडौंको याक एन्ड यति होटलमा हुन लागेको हो। 

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था डिनले इन्जिनियरहरुको अन्तर्राष्ट्रिय सम्मेलनबारे जानकारी दियो। डिनका अनुसार पहिलाेपटक अायाेजना गर्न लागिएकाे सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सार्क डिप्लोमा इन्जिनियर्स फोरम (एसडीइएफ) को सहकार्य रहनेछ।

सम्मेलनले प्राविधिक व्यवसायिक शिक्षा तथा तालिम (टिभीइटी) क्षेत्रमा भइरहेको कार्यका बारेमा छलफल गर्नुका साथै इन्जिनियरिङ्ग क्षेत्रका उत्कृष्ट उपलब्धिको अवलम्बन, सफल मोडलहरुको आदानप्रदान गर्ने डिनका अध्यक्ष तथा सम्मेलन आयोजक समितिका अध्यक्ष कामेश्वर प्रसाद सिंहले बताए। यसले राष्ट्रिय, क्षेत्रीय मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बन्ध विस्तार गर्दै गुणस्तरीय विकासका लागि सम्बन्ध विस्तार गर्ने उनको भनाई छ। 

सम्मेलनले विश्वका पछिल्ला प्रविधि र प्राविधिक उत्पादन विकास र विकास निर्माणको शैलीप्रति जागरुकता फैलाउनुका साथै सकारात्मक प्रतिस्पर्धा निम्त्याउने विश्वास आयोजकले लिएको छ। २० हजार सदस्यको हकहित, पेशागत नीति निर्माणमा सुझाव, सल्लाह दिँदै आएको डिनले सम्मेलनमार्फत  विभिन्न मुलुकमा सिटिईभिटीको माध्यमबाट भइरहेको सोसियल इकोनोमिक विकासका बारेमा जानकारी गराउने तथा एकापसमा सहयोग र ज्ञानको आदानप्रदान गर्न मद्दत पुग्ने  अपेक्षा गरेको छ। 

सम्मेलनले सामाजिक, आर्थिक क्षेत्रमा गुणस्तरीय विकासको मापदण्ड निर्माण गर्ने डिनका महासचिव जीवन घिमिरेले बताए। 

नीतिगत अस्पस्टताका कारण निर्माणमा समस्या, अलमल र कमसल अवस्था देखिएको बेला आसन्न अन्तर्राष्ट्रिय सम्मेलनले सकारात्मक प्रभाव पार्ने बताइएको छ। सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रका २० मुलुकका ५० जना, विज्ञ र सहभागी र नेपाली गरी ५०० जनाको  सहभागिता रहनेछ। 

सम्मेलनमा टेक्निकल भोकेसनल एजुकेशन एन्ड ट्रेनिङ विषयमा २० देशका अनुभव आदानप्रदानसहित २५ भन्दा बढी कार्यपत्र प्रस्तुत गरिनेछन्। छलफल, प्यानल डिस्कसनबाट निस्केका निचोडहरु समेटेर घोषणापत्र जारी गरेर सम्मेलन सम्पन्न हुनेछ।

पत्रकार सम्मेलनमा डिनका सल्लाहकार राजेन्द्र प्रसाद अधिकारी तथा मुरलीधर मिश्रले संस्थाबारे कामकारवाहीबारे जानकारी गराएका थिए भने निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजा, सिटीइभिटीका महासचिव निर्मल सापकोटा लगायतको उपस्थिती थियो। 

प्रकाशित: १८ श्रावण २०७५ १४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App