काठमाडौं- चेस ओलम्पियाडको आठौं चरणमा नेपालका दुवै टोली पराजित भएका छन्। अजरबैजानको बाकुमा जारी ४२ औं ओलम्पियाडमा नेपाली पुरुष टोली आइतबार इन्टरनेसनल ब्रेल चेस एसोसिएसन (आइबिसिए) को टोलीसँग ३–१ ले पराजित भयो भने महिला टोलीले मलवीलाई ३.५–०.५ को नतिजा सुम्पियो।
नेपाल बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जनका अनुसार समुह 'डी' मा रहेको नेपाली पुरुष टोलीको ७ अंक छ भने महिला टोलीले अहिले सम्म ४ अंक जोडेको छ।
महिलातर्फ अस्मिता अधिकारीले बराबरी गरिन्। उनले डेसिडेराटासँग अंक बाडेकी थिइन्। सिन्दिरा जोशी, सिर्जना लोहनी र शान्ता थापा पराजित भए। सिन्दिरा तुपोकिवी, सुजना लिन्डा जाम्बो र शान्ता इलिन एमपिनगान्जिरासँग पराजित भएका थिए।
पुरुषतर्फ नेपालका क्षितिज्ञ भण्डारीले मात्र सफलता प्राप्त गरे। अर्को चरणमा बराबरी गरे पनि उनले क्यान्डिडेट मास्टरको उपाधि प्राप्त गर्नेछन्। १९१३ रेटेज क्षितिले २१९२ रेटेड जाकेक सान्टेचकलाई हराएका थिए। क्विन्स इन्डियन प्रणालीमा सेतो गोटी लिएर खेल सुरु गरेका क्षितिजले निरन्तर आक्रमण गरि जाकेकलाई रक्षात्मक खेल्न बाध्य बनाएका थिए। जसका कारण जाकेकले ३५ औं चालमा खेल त्यागेका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका फिडे मास्टर विलमलाल श्रेष्ठ, सजिन महर्जन र भुपेन्द्र निरौला पराजित भए। विलमलाल (२०१७) ६० औं चालमा ओलिभर मुलेर (२२७२) सँग माथ खाए। सिजन (२०३४रेटेड ) युरी मेस्ताकोभ (२३५४ रेटेड) सँग निराश बनेका थिए। त्यस्तै भूपेन्द्र स्टानस्लाभ बाबारकिनसँग पराजित भएका थिए।
नवौं चरणमा सोमबार नेपाली पुरुष टिमले जमैका र महिला टोलीले दक्षिण एसियाको प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ।
प्रकाशित: २७ भाद्र २०७३ ०४:२७ सोमबार