८ वैशाख २०८१ शनिबार
खेल

नेपालद्वारा नेदरल्याण्ड्स सामु २ सय १७ रनकाे चुनाैती

तस्विर : अाइसिसि

काठमाडाैं -नेदरल्याण्ड्स विरुद्धको दोश्रो एकदिवसीय खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि २ सय १७ रनको लक्ष्य दिएको छ । नेदरल्याण्ड्सको एम्सटेल्भिन रङ्गशालामा जारी खेलमा पहिले टस जितेर ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्का र सोमपाल कामीको अर्धसतकीय पारीमा नेदरल्याण्ड्सलाई २ सय १७ रनको सम्मानजनक लक्ष्य दिएको हो । नेपालले ४८ दशमलव ५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय १६ रन जोडेको थियो ।  

सुरुवातमा कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपालको इनिङ उकास्न पारस र त्यसपछि सोमपालले महत्वपूर्ण भुमिका खेले । पहिलो विकेट ज्ञानेन्द्र मल्लका रुपमा ७ दशमलव ३ ओभरमा गुमाएको नेपालको त्यसपछि विकेट पतन हुने सिलसिला सुरु भएको थियो । ज्ञानेन्द्र आउट भएकै ओभरको अन्तीम बलमा अनील शाह समेत आउट हुँदा नेपालले ३४ रनको स्कोरमा ओपनर ब्याटसम्यान गुमाइसकेको थियो । त्यसपछि ११ दशमलव १ ओभरका सुवास खकुरेल, १५ दशमलव ५ ओभरमा दिपेन्द्र सिंह ऐरी, १९ दशमलव ५ ओभरमा रोहित पौडेल आउट हुँदा नेपालले ८८ रनको स्कोरमा महत्वपूर्ण पाँच विकेट गुमाइसकेको थियो । त्यसपछि नेपालको इनिङ सम्हालिरहेको कप्तान पारस खड्का ५१ रनमा आउट हुन पुग्दा नेपाल नेदरल्याण्ड सामु सम्मानजनक स्कोर खडा गर्नबाट चुक्ने अवस्थामा पुगेको थियो तर सोमपाल कामीले उत्कृष्ट व्याटिङ गर्दै नेपाललाई नेदरल्याण्ड विरुद्धको दोश्रो एकदिवसीय खेलमा सम्मानजनक योगफल तर्फ अघी बढाएका थिए ।

नेपालकालागि सोमपालले सर्वाधिक ६१ रन बनाउँदा कप्तान खड्काले ५१ तथा दिपेन्द्र सिंह ऐरी तथा सुवास खकुरेलले समान १९ रन जोडेका थिए । कामीले ४६ बलमा ५ चौका तथा ३ छक्काको मद्दतमा ६१ रन बनाएका थिए भने खड्काले ६९ बलमा ५१ रन जोडेका थिए। उनले ६ चौका तथा २ छक्का प्रहार गरे। नेदरल्याण्ड्सका फ्रेड क्लासेनले ३ तथा माइकल रिपन र पिटर सिलरले दुई दुई विकेट लिए।

खड्का नेपालले एकदिवसीय मान्यता प्राप्त गरिसकेपछि अर्धसतक बनाउने दोश्रो खेलाडी बनेका छन् भने कामी तेश्रो खेलाडी बनेका छन् । पहिलो खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले यसअघि पहिलो अर्धसतक हिर्काएका थिए। 

 

प्रकाशित: १८ श्रावण २०७५ १२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App