८ वैशाख २०८१ शनिबार
खेल

दोस्रो एकदिवसीय क्रिकेटः पारस खड्का अर्धशतक प्रहार गर्दै आउट

काठमाडौं – ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ।

नेदरल्याण्ड्को आमस्टेल्भिन स्टेडियममा जारी खेलमा नेपालका कप्तान पारस खड्काले अर्धशतक प्रहार गरेका छन्। तर पारस अर्धशतक प्रहार गरेसँगै आउट भएका छन्। आउट हुनुपूर्व पारसले ३०.१ ओभरमा अर्धशतक पूरा गरेका हुन्। उनले ६५ बलको सामना गर्दै ६ चौंका र २ छक्काको मद्दतमा ५१ रन बनाउदै अाउट भए।

पारस आउट भएसँगै नेपालले छैटौं विकेट गुमाएको छ। कमजोर ब्याटिङ गर्दै लगातार विकेट गुमाइरहेको अवस्थामा पारसले टोलीको स्कोेर उकासेका हुन्। पहिलो पटक ऐतिहासिक एकदिवसिय क्रिकेट खेलिरहेको नेपालका लागि पहिलो खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले पनि ५१ रन बनाउदै अर्धशतक प्रहार गरेका थिए। योसँगै पारस एकदिवसिय क्रिकेटमा अर्धशतक बनाउने नेपालका दोस्रो खेलाडी बनेका छन्। 

यसअघि पहिलो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल २४ बलमा २ चौंकाको सहायतामा १३, दोस्रो विकेटका रुपमा अनिलकुमार शाह ३ बलमा १ चौंकाको सहायतामा ४, तेस्रो विकेटका रुपमा सुवास खकुरेल ३३ बलमा ३ चौंकाको मद्दतमा १९, चौंथो विकेटका रुपमा दिपेन्द्रसिंह ऐरी १७ बलमा ३ चौंकाको मद्दतले १९ र पाँचौं विकेटका रुपमा रोहितकुमार पौडेल ब्याक्तिगत ६ रन जोड्दै मिचेल रिप्पोनको बलमा आउट भएका छन्। पौडेलले १५ बलमा १ चौका प्रहार गरेर ६ रनमा आउट भए।

नेदरल्याण्ड्सका फ्रेड कलसिनले तीन तथा मिचेल रिप्पोन र पिटर सिलारले एक–एक विकेट लिए। अहिले क्रिजमा आरिफ शेख र सोमपाल कामी खेलिरहेका छन्। नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो। पहिलो खेलमा नेपालले टस हारेर बलिङ गरेको थियो।

यसअघि खेलेको पहिलो खेलमा भने नेपाल कमजोर ब्याटिङका कारण पराजित भएको थियो। शृङ्खला बराबरी गर्न आजको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ। आजको खेलका नेपालले ३ खेलाडी परिवर्तन गरेको छ। शरद भेषावकर,शक्ति गौचन र करण के.सी को ठाउँमा सुवाष खकुरेल, ललित भण्डारी र रोहित कुमार पौडेलले खेलिरहेका छन्। 
ताजा अवस्थामा नेपालले ३३ ओभरमा ६ विकेटको क्षतिमा १३८ रन बनाएको छ।

 

प्रकाशित: १८ श्रावण २०७५ ११:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App