८ वैशाख २०८१ शनिबार
समाज

सडकभर फोहोर छाडेर मेयरसहितका जनप्रतिनिधि भ्रमणमा

लहान–दुई सातादेखि सडकमै छरपस्ट रहेको फोहोरको डंगुर छोडेर लहान नगरपालिकाका मेयरको नेतृत्वमा जनप्रतिनिधि र कर्मचारी भ्रमणमा निस्केका छन् । मेयर मुनी साह सुडीको नेतृत्वमा वडा अध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत सहितको टोली साता लामो देशव्यापी भ्रमण गएका छन् ।

विकासका गतिविधि अवलोकन गर्न भन्दै पश्चिम नेपालको भ्रमणका लागि टोली बुधबार प्रस्थान गरेको हो।
नगरमा फोहोर व्यवस्थापनलाई थाती रखेर मेयरहितको टोली भ्रमणमा हिंडेपछि नगरवासी मात्र नभई नेकपाकै नेता कार्यकर्ताहरु आलोचना गरेका छन् । नेकपाका नेता सत्यनारायण यादवले फेसबुकमा स्ट्याटस लेखेका छन्,‘लहानको फोहोरको बारेमा प्रचार गर्न वहाँहरु देश दौडाहामा निस्कनु भएकोछ, कार्य सफलताको शुभकामना।’

डिभिजन सडक कार्यालयका प्रमुख रामकुमार देवलाई मेयर मुनी साहले नगरक्षेत्र भित्रको  सडकलाई १०३ फिट चौडा गर्न भनेका थिए । तर, देवले कानुनअनुसार त्यसो गर्न नमिल्ने जवाफ फर्काएपछि मेयर साह उनीसँग चिढिएका थिए। राजमार्गक्षेत्र चौडा नगरेसम्म यस क्षेत्रको फोहोर नगरपालिकाले नउठाउँने भन्दै मेयर साहले फोहोर संकलन कार्य रोकिदिए।१७ दिनदेखि लहानको मुख्य चोकको फोहोर उठ्न सकेको छैन्।

, ‘सडक कार्यालयका प्रमुखले हामीलाई सडक विस्तारमा सहयोग नगरेपछि हामी किन सडकको फोहोर उठाउनु? मेयर शाह भन्छन्, जबसम्म हामीलाई १०३ फिट सडक विस्तार गर्न सघाउँदैन तबसम्म राजमार्गको फोहोर नगरपालिकाले उठाउँदैन ।’
लहानका बुद्धिजिबी राकेश झाँले जनताको स्वच्छ वातावरणमा सास फेर्न पाउने अधिकारमाथि जनप्रतिनिधिले धावा बोलेको टिप्पणी गरेका छन्। ‘फोहोरको डंगुरबाट फैलिएको दुर्गन्धले यहाँका जनता आजित र पीडित भएका छन्,’ उनले भने, जनप्रतिनिधि नै जनाताको दुःखको कारण बन्नु जस्तो अत्यास अरु के हुन्छ ?’

दिनदिनै वर्षा र वर्षापछि चर्को घामका कारण फाहोर कुहिएर दुर्गन्ध फैलिएको छ । यो दुर्गन्धित फोहोरका कारण महामारी फैलिन सक्ने जोखिम रहेको डा. अरबिन्द साहले बताए । 

‘यो दुर्गन्ध सहेर बस्नै गाह्रो छ तर, के गर्ने पेट पाल्ने  सवाल छ खतरामा बस्नुपरेको छ, ‘सडक पेटीमा तरकारी बेचेर गुजारा गर्ने बेचनी मण्डलले भनिन्, ‘तर, जनप्रतिनिधिलाई जनताको भन्दा आफ्नै हठ प्यारो छ।’ 
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ अनुसार गाउँ वा नगर सरसफाइसम्बन्धी मापदण्डको कार्यान्वयन, सरसफाइ तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैलाको व्यवस्थापन र स्थानीयस्तरमा सरसफाइ तथा फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी गाउँपालिका तथा नगरपालिकाको कर्तव्यभित्र पर्छ ।

प्रकाशित: १८ श्रावण २०७५ ०७:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App