७ वैशाख २०८१ शुक्रबार
समाज

त्रिभुवन विमानस्थल खुल्याे (अपडेट)

फाइल तस्बिर

काठमाडाैं- धावनमार्गको कालोपत्र उप्किएका कारण केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान/अवतरण अहिले नियमितरुपमा सञ्चालन भएको छ। 

धावनमार्गमा समस्या देखिएपछि आज बिहान ११ बजेर १० मिनेटबाट विमानस्थलमा उडान अवतरण रोकिएको थियाे। जहाज अवतरण गर्ने कोटेश्वरतर्फको धावनमार्गमा कालोपत्र उप्किएको विमानस्थलले जनाएको छ। करिब २० मिनेटको समयपछि सेवा पुनःशुरु भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले जानकारी दिए। 

खासगरी वर्षाको समयमा यस्तो समस्या पटक–पटक निम्तिने गरेको छ। केही दिन पहिले नेपालगञ्जबाट काठमाडौँ आएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सवार विमानसमेत धावनमार्ग उप्किएका कारण करीब ४५ मिनेट आकाशमै घुम्ने (होल्ड) मा परेका थिए।

विमानस्थलको धावनमार्ग मर्मतका लागि पटक–पटक टेण्डर भए पनि प्रक्रिया अगाडि नबढ्दा वर्षाको समयमा बढी समस्या देखिने गरेको छ। 

महाप्रबन्धक क्षेत्रीले सामान्य समस्या देखिनेवित्तिकै द्रुत मर्मत टोली परिचालन गरी समस्याको समाधान गरिएको बताए। कालोपत्र उप्किएमा तत्काल टाल्ने र त्यो आधा घण्टाभित्र सुक्ने प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग गरिन्छ। 

विज्ञहरुले विमानस्थलको नयाँ धावनमार्ग निर्माण गर्नुपर्ने र हाल सञ्चालनमा रहेको धावनमार्गलाई पूर्णरुपमा मर्मत गर्न सुझाव दिँदै आएका छन्। तर एकमात्र धावनमार्ग भएका कारण मर्मतमा समेत समस्या देखिने गरेको छ। धावनमार्ग पूर्णरुपमा मर्मत गर्न कम्तीमा एक वर्ष लाग्ने बताइएको छ। 

बढी उडान चाप हुने समयमा धावनमार्ग उप्किएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरु होल्ड भएका थिए। मनसुन शुरु भएपछि करिब पटकपटक धावनमार्गमा समस्या आउने गरेको छ। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न नहुँदासम्म धावनमार्गमा आउने समस्याका कारण जहाज आकाशमै होल्ड गर्नुपर्ने वा अन्यत्र पठाउनुपर्ने ‘डाइभर्ट’ गर्नुपर्ने अवस्था कायमै रहने देखिन्छ। .

कतार एयरवेज, नेपाल एयरलाइन्स, विमान बंगलादेश, जेट एयरलगायत जहाज अवतरण गर्न नसकेपछि आकाशमा चक्कर लगाउनुपरेको थियो। आन्तरिक उडानमा रहेका बुद्ध एयर, यति एयरलाइन्सका जहाज जुन स्थानबाट आएका थिए उतै मोडिएका थिए। रासस

प्रकाशित: १८ श्रावण २०७५ ०६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App