७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दै गुगल

 बेइजिङ – गुगलले चीनको कठोर सेन्सरसिप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एकजना कर्मचारीले जानकारी दिएका छन् । मानव अधिकारवादीले यस कार्यको विरोध गरेका छन्।

सेन्सरसिप र ह्याकिङ गरिएको भन्दै आठ वर्षअघि चीनबाट गुगल बाहिरिएको थियो । तर नाम नबताउने सर्तमा ती कर्मचारीले ‘ड्रागनफ्लाई’ गोप्य नाम राखिएको परियोजनामा अहिले काम भइरहेको बताएका छन् ।

 मानिसले खोजेका कतिपय विषयलाई फिल्टर (छान्ने) गर्नेगरी यो परियोजनामा काम हुँदैछ । स्रोतका अनुसार, यसलाई कम्पनीको आन्तरिक नेटवर्कमा परीक्षण गर्ने तयारी भइरहेको छ । ती कर्मचारीका अनुसार, अमेरिकी सञ्चारमाध्यमले बुधबार यससम्बन्धी समाचार प्रकाशन गरेलगत्तै कम्पनीभित्रै चिन्ता व्यक्त गरिएको छ । प्रविधि क्षेत्रको विशाल यस कम्पनीले यसै वर्ष अमेरिकी सैनिकसँग सूचना आदानप्रदान गर्नेसम्बन्धी एक करोड डलरको सम्झौतामा हस्ताक्षर गरेलगत्तै कम्पनीमा कार्यरत हजारौं कर्मचारी क्रुद्ध बनेका थिए ।

तर यस सम्झौतालाई नवीकरण भने नगरिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । ‘कम्पनीभित्र कर्मचारीले चिन्ता व्यक्त गरेका छन् । कतिपय मानिस ज्यादै पागल हुँदैछन्,’ स्रोतले भन्यो । गुगलका एकजना प्रवक्ताले यस्तो परियोजना रहे नरहेको बारेमा बताउन नचाहेको एएफपीले उल्लेख गरेको छ । ‘हामीले चीनमा धेरैवटा मोबाइल एप्स बनाइरहेका छौं, जस्तै गुगल ट्रान्सलेट र फाइल्स गो । हामीले चिनियाँ निर्माताहरुलाई मद्दत पनि गरिरहेका छौं र जेडी डट कमजस्ता चिनियाँ कम्पनीमा राम्रै लगानी गरेका छौं,’ गुगलका प्रवक्ता ताज मिडोजले बताए । ‘यद्यपि हामी भावी योजनाका बारेमा कुनै अनुमान लगाएर टिप्पणी गर्ने स्थितिमा भने छैनौं,’ उनले बताए ।    

द इन्टरसेप्ट वेबसाइटले सबैभन्दा पहिले गुगलको यस परियोजनाका बारेमा समाचार प्रकाशन गरेको थियो । यस परियोजनामार्फत गुगलको सहयोग रहेको मोबाइलमा प्रयोग हुने एन्ड्रोइड अपरेटिङ सिस्टम सर्च एप्समा आबद्ध भएको छ ।  इन्टरसेप्टका अनुसार, मानव अधिकार, लोकतन्त्र, धार्मिक तथा शान्तिपूर्ण प्रदर्शनजस्ता शब्दावलीहरु कालोसूची (ब्ल्याकलिस्ट) मा पर्दछन् । चीनको ग्रेट फायरवालले अवरुद्ध गरेका वेबसाइटहरु यो एपले पहिचान र फिल्टर गर्दछ । यस योजनाका बारेमा जानकार दुई व्यक्तिको हवाला दिँदै न्युयोर्क टाइम्सले कम्पनीको प्रस्ताव चिनियाँ अधिकारीहरुले हेरेकै आधारमा गुगलको सेवा चीनमा सुरु हुन लाग्यो भन्न नमिल्ने जनाएको छ ।

एम्नेस्टी इन्टरनेसनलले भने गुगललाई आफ्नो धारणा सच्याउन आग्रह गरेको छ । ‘चीनको कठोर सेन्सरसिप नियमलाई यदि गुगलले स्वीकार गर्ने हो भने यो इन्टरनेट स्वतन्त्रतामा कालो दिन ठहरिने छ,’ प्याट्रिक पुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चीनमा हाल ट्विटर, फेसबुक र द न्यूयोर्क टाइम्स अखबारका वेबसाइटहरु प्रतिबन्धित छन् । सन् २०१० मा गुगलले सेन्सरसिप र ह्याकिङको विवादपछि चीनबाट आफ्नो सर्च इन्जिन बन्द गरेको थियो । तैपनि, चीनमा गुगलको अन्य परियोजनामा अहिले पनि सात सय मानिस कार्यरत छन् ।

 

प्रकाशित: १८ श्रावण २०७५ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App