लन्डन– छ साता लामो सुत्केरी बिदापछि न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्दा आर्डेन आफ्नो कार्यालय फर्किएकी छन्।
३८ वर्षीया प्रधानमन्त्री आर्डेनले यही जुन महिनामा आफ्नो पहिलो सन्तानलाई जन्म दिएकी थिइन् । प्रधानमन्त्री रहँदै सन्तान जन्माउने उनी विश्वको दोस्री नेत्रीसमेत हुन् । छ साता लामो बिदा बसेर यसै साताबाट कार्यालय जाने सोच बनाएकी प्रधानमन्त्री आर्डेनले शनिबार लामो बिदापछि कार्यालय के गर्नेछु भनेर एउटा भिडियो फेसबुकमा सेयर गरेकी थिइन् । सुत्केरी बिदामा बस्दा आर्डेनले आफ्नो जिम्मेवारी उपप्रधानमन्त्री विन्स्टन पिटर्सलाई सुम्पिएकी थिइन् । उनले सो अवधिलाई जीवनमा सबैभन्दा छिटो बितेको छ साता भन्दै काममा फर्कन आफू तयार रहेको बताएकी छन्।
‘प्रधानमन्त्री कार्यालयमा आफ्नो जिम्मेवारीमा केन्द्रती हुनेबारे मैले सोचिरहेको छु,’ शनिबार फेसबुकमा गरिएको प्रत्यक्ष प्रसारणमा आर्डेनले बताएकी थिइन् । चिकित्सकले दिएको मितिभन्दा चार दिन अगावै उनले जुन २१ का दिन पहिलो सन्तानका रूपमा छोरी नेभ गेफर्डलाई जन्म दिएकी थिइन् । टिभीएनजेडसँग कुरा गर्दै आर्डेनले देशका जनता, आफ्नो टोली र कार्यवाहक प्रधानमन्त्रीको सदासयता र सहयोगले गर्दा आफू छोरीसँग बस्न पाएकोमा प्रसन्नता व्यक्त गरेकी छन् । सुत्केरी बिदामा बस्दा पनि उनले आफ्नो मन्त्रिपरिषदले गरेका निर्णयको कपी अध्ययन गरेको र महŒवपूर्ण मुद्दामा छलफल गरेकी थिइन् ।
गत अक्टोबर महिनामा न्युजिल्यान्डकी प्रधानमन्त्री निर्वाचित भएकी आर्डेनले जनवरी महिनामा आफू गर्भवती भएको घोषणा गरेकी थिइन् । ‘विविध काम गर्ने विश्वमा म मात्रै एउटा महिला हैन । काम गरेर बच्चा हुने पनि म मात्रै हैन । मभन्दा नि पहिले यस्तो गर्ने विश्वमा धेरै महिला छन्,’ त्यसबखत उनले बताएकी थिइन् । सन् १८५६ पछि न्युजिल्यान्डमा उनी सबैभन्दा कान्छो उमेरकी प्रधानमन्त्री हुन् । प्रधानमन्त्रीकै पदमा बहाल रहँदा सन् १९९० मा पाकिस्तानी प्रधानमन्त्री बेनेजिर भुट्टोले छोरी जन्माएकी थिइन् । प्रधानमन्त्रीको पदमा रहँदा सन्तान जन्माउने भुट्टो नै विश्वकी प्रथम महिला हुन्।
पिताले स्याहार गर्ने
‘यो विशेष परिस्थिति हो र म काममा फर्किन धेरै उत्सुक छु,’ उनले भनिन् । छोरी निभ जन्मेपछि केही साता सपरिवार उनी अक्ल्यान्डमा बसिन् । यही शनिबार उनी देशको संसद् पनि रहेको राजधानी वेलिङ्टन फर्किदै छन् ।
आर्डेनलाई आफ्नो राजनीतिक उत्तरदायित्व निर्वाह गर्न सहज होस् भनेर उनका प्रेमी तथा टेलिभिजन प्रस्तोता क्लार्क गेफोर्डले घरमै बसेर छोरीको स्याहारसुसार गर्नेछन् । आर्डेनले यस्तो सौभाग्य धेरै महिलाले नपाएको तर आफूले पाएको टिप्पणी गरेकी छन् ।‘म धेरै नै भाग्यमानी छु,’ टिभीएनजेडसँगको कुराकानीका क्रममा उनले बताइन् । आफ्ना प्रेमी सहयोगी भएको र पिताका रूपमा छोरी हुर्काउन उनले संयुक्त जिम्मेवारी स्वीकारेको भन्दै उनले गेफोर्डको प्रशंसासमेत गरेको बिबिसीले उल्लेख गरेको छ ।
प्रकाशित: १८ श्रावण २०७५ ०४:११ शुक्रबार