८ वैशाख २०८१ शनिबार
विचार

यसपालिको तीज बलात्कारविरुद्ध

‘यो वर्ष २०७५ सालको सुरुका तीन महिना (वैशाख, जेठ, असार) भित्र मात्रै १ सय ५ वटा बलात्कारका घटना भएका छन् । सामूहिक बलात्कार चार वटा र बलात्कारपछि हत्या तीन जना ।’ रेणु राजभण्डारी बहुचर्चित महिलावादी हुन् । यसको अर्थ के भने उनले मात्र महिलामाथि हुने गरेका अत्याचारका विषयमा लेख्नुपर्छ भन्ने होइन । तर किन पुरुषहरू यस विषयमा सबैभन्दा पछाडि परेका होलान् ? के महिलामाथि हिंसा भएकाले पुरुषले बोलिरहनु पर्दैन ? कि महिलाले पुरुषविरुद्ध जेजस्ता कुरामा पनि आरोप लगाइरहेकाले त्यसको विरोधस्वरूप चुपचाप बसेका हुन् ? कि महिलाले दुःख पाए हामीलाई के खाँचो भन्ने साबित गराउन पुरुष जाति नै लागिपरेका हुन्?

एउटा बाबु, मामा, काका, भिनाजु, भतिजो, पति, सालो, मितबा, दाजु, भाइ आदि जेजस्ता साइनो लगाए पनि महिला हाम्रा छोरी, भान्जी, काकी, दिदी–बहिनी, पत्नी, साली, मितिनी आमा हुन् । अनि उनीहरूमाथि उनीहरूको मन्जुरीबेगर भएका जे जति हिंसा हुने गर्छन् तिनीप्रति विरोध गर्न मात्र होइन, हुनै नदिने जिम्मेवारी छैन ? छ भने खै हाम्रो स्वर ? छैन भने किन हामी पाषाण बनिरहेका छौँ ? यसको जवाफ कसले दिने ? के हामी पुरुष भनाउँदाहरूले दिनुपर्ने होइन ? हो भने खै त हाम्रो संगठित आवाज ? किन हामी पुरुषहरूको मात्रै सक्रियतामा पहिलामाथि भइरहेका आततायी क्रियाकलापको विरोध, बन्द, प्रतिकार?

कडा प्रतिरोध त अभियानका रूपमा कहिलेकाहीँ भइहाल्ला तर स्वाभाविक रूपमा महिलाहरूमाथि गरिने सभ्य, सुसंस्कृत र सम्मानजनक व्यवहारलाई जीवनशैली बनाउने हो भने महिला हिंसामाथि हिंसा गर्न उद्यत हुने पागलमाथि प्रभावकारी अंकुश लाग्न सक्छ कि?

यसपालि पनि तीज आउनु दुई महिना अघिदेखि छड्के तिलहरी लगाएर क्याटरिङमा नाच्ने, उफ्रने, गाला जोडेर हग गर्ने, आँखा झिम्क्याउने, रामदेवले जसरी भुँडी हल्लाउने रिहर्सलमा अलमलिइरहेका छन्? तर, यो बलात्कारविरुद्ध सलह जसरी महिलाहरू निस्कनुपर्ने समय हो।

लेखको सुरुमै राखिएको यो वर्षको तीन महिनाको महिला हिंसाको तथ्यांक डा. रेणुको नाममा प्रकाशित भएपछि फेसबुकबाट उद्धरण गरिएको हो । उनले जुन तथ्यांक राखेकी छन्, त्यसबाट के थाहा पाउन सकिन्छ भने महिलामाथि भइरहेका ज्यादतीको शृंखला उनले राखेभन्दा पनि धेरै छन् किनभने उनले राखेका हिंसाका खबर सार्वजनिक मिडियामा आएका मात्रै हुन् । पहिला हिंसाबारे बाहिर आउन नसकेका भित्री यातनाका घाउहरू असंख्य छन्।

सहर बजारमा मात्र होइन, सुदूर गाउँहरूमा पनि बलात्कारका घटना बाहिर आउन थालेका छन् । जुनसुकै उमेरका महिला तथा बालिकामाथि भइरहेका बलात्कारका बीभत्स घटनाहरूले महिला हुनु नै अभिशाप जस्तो भइरहेको छ । के यो महिलाको दोष हो?

हामी सबैलाई थाहा छ, देशको आधाभन्दा केही बढी जनसंख्या स्त्रीहरूकै छ तर उनीहरू नै सबैभन्दा बढी त्रस्त भएर बाँच्नु परिरहेछ । कार्यक्षेत्रमा होस् वा घर परिवारमै, मेलापात होस् वा कर्पोरेट अफिसहरूमै, उद्योगहरूमा होस् वा स्कूल कलेज, यात्रा गर्दा होस् वा साँझ बिहानका दैनन्दिनीय क्रियाकलापका बेला!

एकछिन आँखा चिम्लिएर यस विषयमा विचार मात्र गर्ने हो भने पनि स्थिति भयावह रहेको प्रतीत हुन्छ । के यसबाट मुक्त हुने उपाय नै नभएको हो ? होइन, यसलाई नियन्त्रण गर्ने उपायहरू छन् । त्यसो भए विकसित देशहरूमा किन महिला हिंसा कायम छ त ? एउटा गम्भीर प्रश्न सबैको अगाडि तेर्सिन्छ।

पश्चिमी विकसित मुलुकका बुद्धिजीवीहरू भन्छन्, हाम्रो समाजमा पनि महिला हिंसा हुन्छ भन्ने हामी स्वीकार गर्छौं तर यो जघन्य अपराधलाई हामीले एकदमै न्यून रूपमा पु-याउने सफलता पाएका छाैँ। जो जबर्जस्ती करणी वा बलात्कार गरेकामा दोषी ठहरिन्छ त्यसले कठोर भन्दा कठोर सजाय पाउँछ । यसले गर्दा दिन परदिन हाम्रो समाजमा अत्यन्त घृणित मानिने यो अपराध घटिरहेको छ।

तर नेपाल ? डा. रेणुको तथ्यांकले नै नेपालमा हुने बलात्कारको विकराल समस्यालाई उदांगो पारिरहेको छ । अन्य देशमा हुने बलात्कारका घटना र हामीकहाँ भइरहेका बलात्कारलाई तुलना गर्ने हो भने, यद्यपि यो तुलनाको विषय होइन, हाम्रो देशमा विकृतिको पराकाष्ठा नै रेकर्ड भइरहेका छन् । के तपाईं पत्याउन सक्नुहुन्छ ? गएको तीन महिनाभित्रै मात्रै नवलपरासीका एउटा बाबुले आफ्नी ८ महिनाकी छोरीलाई बलात्कार ग-यो । त्यसैगरी कैलालीमा आफ्नै सहकर्मीले सामूहिक बलात्कारपछि एउटी युवतीको बीभत्स तरिकाले हत्या ग-यो । त्यसलगत्तै कञ्चनपुर जिल्लामा १३ वर्षकी किशोरी बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परिन्।

अछाममा आफ्नै काकाका छोरा (दाइ) ले ८ वर्षकी बहिनीलाई बलात्कार ग¥यो । बाँके जिल्लामा एउटा ६५ वर्षको वृद्ध ८ वर्षकी बालिका करणी गर्ने आरोपमा पक्राउ परेको छ । नेपाल प्रहरीको रेकर्डमा गत वर्ष साउनदेखि गत असारसम्म १ हजार ४ सय ८० महिला बलात्कारका घटना दर्ता भएका छन्।

यौन मनोविज्ञान आफैँमा एउटा शास्त्र हो तर समाजमा यौन हिंसाको चरम रूप बलात्कारले विकृत रूपमा जरा गाडिसक्दा पनि यसका विज्ञहरूले जिम्मेवारहरूलाई झक्झक्याउन सकेका छैनन् । तर सामाजिक रूपमा जुन मूल्य मान्यता हाम्रो समाजमा थियो, त्यसको पनि क्रमैसँग स्खलन भइरहेको छ।

यौनलाई संवेदनशील मानेर हाडनाता करणी मात्र होइन, अवैध यौन सम्बन्धलाई रोक लगाउने सामाजिक मान्यताहरूलाई आधुनिकताको नाममा कमजोर पारिनु पनि यौन हिंसाको एउटा जिम्मेवार कारक हो । समाज परिवर्तनसँगै यौन शिक्षालाई प्रयोगमा ल्याउनु त के कुरा महिला चेतनामा समेत खेलबाड गरियो । आफूलाई महिला अधिकारवादी भन्नेहरूले समेत जबर्जस्ती करणीलगायत यौन शिक्षाबारे स्कुल, कलेज र हाम्रा सांस्कृतिक सामाजिक चाडपर्वहरूमा पढाउने, सिकाउने, बताउने र चनाखो बनाउनेतिर होइन, सजिलै डलर बचाउनेमै ध्यान केन्द्रित गरे।

समाजमा पहिलाको जस्तो हाडनाता करणी, बलात्कार, यौन हिंसा गर्नेलाई गाउँ निकालादेखि सामाजिक बहिष्कार गर्ने, खेद्ने कार्य हराउँदै गयो । बेलायती उपनिवेशवादीहरूले समेत हाडनाता करणीजस्तो जघन्य अपराध गर्नेहरूलाई, जो शासककै सन्तान थिए, मार्नुको बदला बेलायतबाट खेदेर निर्जन टापु अस्ट्रेलियामा छोडिदिन्थे । चारैतिर समुद्र भएकाले ती फर्केर आउन सक्दैनन्, बरु त्यतै मरून भनेर।

सामाजिक रूपमा हाम्रा दुर्गम गाउँहरूमा समेत बलात्कारजस्तो जघन्य अपराध हुनुका कारणहरू पनि कम छैनन् । गाउँबाट सशक्त, सामाजिक चेत भएका सक्रिय युवाहरू विदेशिएका छन् । गरिबी, अशिक्षा, अभाव, फजुल खर्ची सामाजिक व्यवहारले गर्दा कमाउनका लागि प्रत्येक परिवारका सदस्य सके विदेश, नसके सहर बजार पुगिरहेका छन् । परिवार टुक्रिएर समाज होइन, एकादुई व्यक्तिमा खुुम्चिइरहेको छ । त्यसैले गाउँठाउँ एकान्तमा परिणत भइरहेका छन् । सुनसान छ गाउँ । यसले गर्दा गाउँको लय नै परिवर्तन भएकाले अपराध मनोवृत्ति भएका विकृत व्यक्तिका लागि अवसर जस्तो भएको छ।  

गाउँ सुनसान हुनु, सहर बजारमा उपभोक्तावादी संस्कृति दिन दुई गुना रात चौगुना बढिरहँदा महिला अधिकारवादीका नाउँमा कतिपय टाउकोमा कालो चश्मा लगाएर गाडी हाँक्नेहरूको ध्यान के गर्दा समाजमा जघन्य अपराध घट्छ भनेर त्यसको यथोचित खोजी गरेर समाधान गर्नेतिर लागेको पाइएन । उनीहरूको ध्यान के गर्दा डलर बढी बटुल्न सकिन्छ भन्नेतर्फ नै गएकाले बलात्कार, चेलीबेटी बेचबिखनजस्ता अपराधमाथि प्रहार केन्द्रित हुन सकेन । अहिले पनि यौन हिंसाको तथ्यांक यस्तो आइरहेको छ, तर खै डलरवालीहरू?

यतिखेर त दोषीलाई कठोर भन्दा कठोर सजाय दिनका लागि सिंहदरबार घेरिनुपर्ने थियो । पूरै चक्रपथ जनआन्दोलनमा जसरी हाते सांग्लो बनाएर ठप्प हुनुपर्ने थियो । तर सिंहदरबारमा बस्ने सांसद, कपालमा कालो चश्मा अड्काउने महिलावादीहरू, डा. केसीको समर्थनमा माइतीघर मण्डलमा जाम गराउनेहरू, चौबीस घन्टे रिले अनशन बस्नेहरू, महिला ककस, सञ्जाल र पार्टीका महिला संगठनका नेत्रीहरू कहाँ अलमलिएका छन् ? खै, अनशनमा निस्किएका ? समाजमा सिर्जित बेथिति, सामाजिक मूल्य मान्यता र संस्कारहरू स्खलित भइरहेको समयमा खै मधेसी आन्दोलनकारीहरू ? सबैभन्दा बढी महिला हिंसाका घटना मधेसमै भइरहेका छन् ! तर सबै तैँ चुप मैँ चुप भइरहेछन्!

ओशोले भनेका छन्, हरेक प्राणीका लागि सम्भोग सबैभन्दा ठूलो आनन्द दिने क्रियाकलाप हो, जो खुसीराजी, सहमतिसाथ उमेर पुगेकाहरूले गर्छन् । तर असहमति, अस्वीकृतिसाथ गरिएको जबर्जस्ती करणी संसारकै जघन्य अपराध हो । यो भन्दा ठूलो अर्को जघन्य अपराध छैन।

त्यसैले बलात्कारीलाई धेरै देशमा मृत्युदण्ड दिइन्छ । हाम्रो संविधानले मृत्युदण्ड दिइने छैन भनेको छ भने दोषीलाई आजीवन कारावास दिन रोक लगाएको छैन । तर यो विषयलाई बलात्कार विरोधीहरूले जबर्जस्त रूपमा उठाउन खोजेकै देखिएन।   

अनि राष्ट्रपति सम्माननीय विद्या भण्डारी कहाँ छन् ? उनी राष्ट्रकै अभिभावक र महिला पनि हुन् । उनले यस्तो आततायी बेलामा देशभरका माननीय, महिला नेत्री, युवा विद्यार्थीहरूलाई बोलाएर बलात्कारविरुद्ध जगाउनुपर्ने होइन ? पुरुष माननीय, मन्त्री, बुद्धिजीवी, प्राध्यापक, डाक्टर, इन्जिनियरहरूलाई विरोधमा उत्रन बाध्य पार्नुपर्ने होइन ? कहाँ छिन् महिलामन्त्री थममाथा थापा ? पोइल जान पाऊँ भनेर बहुचर्चित गीत गाउने माननीय कोमल वली कता छिन् ? उनले अहिले संसद्मा बलात्काविरुद्ध गीत गाएर सांसदहरूलाई सदनमै छमछमी नचाउनुपर्ने होइन ? यसपालिको तीजलाई बलात्कारविरुद्धको जेहाद बनाउने हो भने अपराधीले कठोर दण्ड पाउँछन् पाउँछन्।

यसपालि पनि पोहोर पह्रारजस्तै तीज आउनु दुई महिना अघिदेखि छड्के तिलहरी लगाएर क्याटरिङमा नाच्ने, उफ्रने, गाला जोडेर हग गर्ने, आँखा झिम्क्याउने, रामदेवले जसरी भुँडी हल्लाउने रिहर्सलमा अलमलिइरहेका छन् ? यो अलमलिने समय होइन, सलह जसरी महिलाहरू निस्कनुपर्ने समय हो।

सडक, सदन, चाडपर्व मात्र होइन, कुनै पनि पेसा वर्गका महिला चाहे ती सामाजिक क्षेत्रमा काम गरून् वा राजनीतिक, आर्थिक रूपमा गरून् वा प्राविधिक, वैज्ञानिक, चिकित्सक, इन्जिनियर, वकिल, प्रहरीमा रहेका महिला वा अहिले त सेनामा पनि महिलाको संख्या निकै नै भइसक्यो जो जहाँ छन् सबैले बलात्कार र यौन हिंसाविरुद्ध काली भएर जाग्ने बेला हो । जेहाद छेड्ने बेला हो।

प्रकाशित: १८ श्रावण २०७५ ०३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App