coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

तीन महिनामा पूर्ण बक्स अफिस

काठमाडौं - लामो समयको रस्साकस्सीपछि नेपालमा साउन १ गतेबाट बक्स अफिस लागू भएको घोषणा गरियो । तर यसको नियामक निकाय चलचित्र विकास बोर्डले भने फिल्मकर्मीले बक्स अफिसको पूर्ण स्वरुप हेर्न भने अझै तीन महिना कुर्नुपर्ने बताएका छन् । बिहीबार चलचित्र पत्रकार संघले आयाजना गरेको ‘बक्स अफिस कार्यान्वयनका चुनौती’ शीर्षकमा भएको छलफलमा सरोकारवालाहरूले यस्तो बताएका हुन्।

चलचित्र विकास बार्ड अध्यक्ष निकिता पौडेले दिनदिनै नयाँ नयाँ चुनौती देखापर्ने गरेका कारण त्यतिका समय लाग्ने बताइन् । ‘सफ्टवेयरको समस्या सुल्झिसकेको छ । अब हलको व्यवस्थापनको पाटोमा केही समस्या देखा परेका छन् जुन सुल्झन समय लाग्न सक्छ । सायद अबको तीन महिनामा हामीले हिसाब किताब दुरुस्त भेट्छौं,’ पौडेलले भनिन् । पौडेलको भनाइमा सही थाप्दै बोर्डका कन्सल्ट्यान्ट मनिष पण्डितले अहिले १ घन्टा ढिला गरी रिपोर्ट आइरहेकोमा केही दिनमै टिकट काउन्टर बन्द हुने बित्तिकै निर्माता तथा वितरकलाई रिपोर्ट दिने तयारी गरिरहेको बताए ।
‘अहिले हामी डाटा चेक गरिरहेका छौं । डाटा मात्र पाउनुभन्दा पनि सही डाटा पाउनु ठूलो कुरा हो । अहिले यसमा काम भइरहेको छ । पहिलो हप्ता केही समस्या थियो तर अब छैन । तर अबको तीन महिना अगाबै हामी रियल टाइम डाटा उपलब्ध गराउँछौं,’ उनले भने।

छलफलमा निर्माताहरूले हलले फर्जी टिकट काटेर दर्शक छिराएको, वितरकबाट सही हिसाब किताब नआएको आदि गुनासा आएका थिए । बोर्ड अध्यक्ष पौडेलले आफूहरुले अनौपचारिक रुपमा समस्याका बारेमा जानकार भए पनि सम्बन्धित पक्षबाट लिखित उजुरी नआउँदा कारबाही गर्न अप्ठेरो भएको बताइन्।

‘सरकारी कामको आफ्नै प्रक्रिया हुन्छ । बेलैमा त्यो प्रक्रिया पूरा नहुँदा ठूला हलमा टिकटको केही समस्या आयो । हामी त्यसलाई मिलाउने प्रयास गरिरहेका छौं । नचाहँदा नचाहँदै पनि समय लागिरहेको छ,’ उनले भनिन् । उनले त्यसो भनिरहँदा अध्यक्ष पौडलकै हल गोपीकृष्णमा पनि टिकट नकाटी मान्छे छिराएको चर्चा चलेको थियो ।
छलफलमा सहभागी निर्माताले भने वितरक र बक्स अफिसबाट प्राप्त तथ्यांकमै एकरुपता नभएको पनि गुनासो गरेका थिए । ‘भैरे’ फिल्मका निर्देशक बोहराले हलले बदमासी गरेको भेटिए पनि बक्स अफिस शिशु अवस्थामा रहेकोले किन ठूलो इस्यु बनाउनु भनेर उजुरबाजुरमा नगएका बताए।

निर्माता संघका अध्यक्ष आकाश अधिकारीले  बोर्डले तीन हप्ताको समय माग गरेकाले सतहमा आएका मुद्दामा पनि संघ चुप लागेर बसेको बताए । ‘मिडियामा आएका कुरामा हामीले पनि चासो राखिराखेका छौं । तर बोर्डले हामीलाई तीन हप्ताको समय दिनुस् भन्नुभएको छ । त्यो समयसीमा पूरा भएपछि निर्माता संघ पनि सक्रिय हुन्छ,’ अधिकारीले भने, ‘निर्माताले पनि १ हप्ता अगाडि नै सेन्सर गरेर आफ्नो फिल्म रजिस्ट्रर गर्न भनिरहेका छौं । यही मञ्चबाट म निर्मातालाई पनि योे प्रक्रियामा जानकार रहन अनुरोध गर्दछु ।’ अधिकारीले निर्माताका लागि संघले काउन्सिल डेस्क राख्ने बारेमा छलफल गरिरहेको पनि बताए।

चलचित्र संघका अध्यक्ष प्रदीप उदयले भने नेपालमा लागू भएको बक्स अफिस सरकारले लगाएको  पहिलो बक्स अफिस भएको बताउँदै नियत सफा नभएसम्म सानातिना समस्या आइरहने बताए । ‘धेरै साथीहरूले हलमा मात्रै समस्या छ भन्ने हिसाबले आफ्नो कुरा राख्नु भयो, त्यो सही हैन । नेपालमा नीतिको कुरा मात्र गरेर हुन्न । व्यवहारिक छ कि छैन भन्ने कुरा पनि हेर्नुपर्छ,’ उदयले भने, ‘नेपालको त्यस्ता ठाउँमा पनि हल छन् जहाँ फोन इन्टरनेटको सुविधा छैन । अब यस्तो ठाउँबाट हिसाब तुरुन्तै आएन भनेर कचकच गर्नु राम्रो होइन । बक्स अफिसको सुरुवात भएको छ । यो आउनेबित्तिकै पूर्ण हुन्छ भन्ने नठानौं।’

फिल्मकर्मीको लामो समयको दबाबपछि सरकारले गत साउन १ मा बक्स अफिस लागू भएको घोषणा गरेको थियो । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले औपचारिक रुपमा उद्घाटन गरेको बक्स अफिस अहिले काठमाठौं उपत्यकामा मात्र सीमित छ । सरकारले माघ १ देखि काठमाडौं बाहिरका हलमा पनि बक्स अफिस लागू गर्ने घोषणा गरेको छ ।

फिल्मकर्मीको लामो समयको दबाबपछि सरकारले गत साउन १ मा बक्स अफिस लागू भएको घोषणा गरेको थियो । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले औपचारिक रुपमा उद्घाटन गरेको बक्स अफिस अहिले काठमाडौं उपत्यकामा मात्र सीमित छ । सरकारले माघ १ देखि काठमाडौं बाहिरका हलमा पनि बक्स अफिस लागू गर्ने घोषणा गरेको छ ।
 

प्रकाशित: १८ श्रावण २०७५ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App