coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

सभ्यता मास्ने क्षेप्यास्त्र

सुमात्राको राजधानी थियो– श्रीविजया सहर । बौद्ध धर्मावलम्वीको साम्राज्य थियो त्यो । पूर्वी जाभामा सनातन धर्मको प्रभाव थियो । कम्बोडियाको अङ्कोर सनातन हिन्दु धर्मको अर्को केन्द्र थियो । सभ्यता बचाउन सक्षम कोरियामा सन् ९३५ मा स्थापित राजतन्त्र झण्डै ४ सय ४० वर्ष चल्यो । चीन र जापानझैँ एकीकृत कोरिया प्राचीन साहित्य र सभ्यताको केन्द्र थियो । पाँच हजार वर्ष पुरानो लिखित इतिहास भएको नेपाल सभ्यता र संस्कृतिको अर्को केन्द्र थियो दक्षिण एसियामा । काठमाडौँ, ललितपुर तथा भादगाउँका प्राचीन मन्दिर र बौद्ध मठहरू नै त्यो सत्य बोलिरहेका छन् । ‘प्रत्यक्ष किम् प्रमाणम्’ भनिन्छ । हाम्रो सभ्यता साक्षी छ, हामी दरिद्र थिएनौँ । असभ्य थिएनौँ । धर्मप्रति विमुख थिएनौँ । ‘धर्म निरपेक्ष’ पनि थिएनौँ । सभ्यता हाम्रो प्राण हो भन्ने चेतनाप्रति अचेत थिएनौँ।

‘भारत’ भन्ने स्वाधीन राष्ट्र निर्माण भएको ७० वर्ष पनि भएको छैन । नेपालमा राजा त्रिभुवनको शासन रहेका बेला भारतले बल्ल आफ्ना मुद्रा र झण्डा देखेको हो । त्योभन्दा अघि भारतमा ब्रिटेनको शासन थियो । तर प्राचीन धर्म÷संस्कृृृृृति बचाउन उनीहरूले ठूलो संघर्ष गर्नुप¥यो । दार्चुलापारिको धार्चुला, इलामपारिको दार्जिलिङ, नेपालगन्ज दक्षिणको नानपारा होस् वा विराटनगरछेउको जोगबनी सबैतिर अंग्रेजको शासन थियो । पाकिस्तान र बर्मा (म्यानमार) भारतकै क्षेत्रमा थिए । श्रीलंकामा ब्रिटेनकै झण्डा फर्फराएको थियो । नेपाल कहिले पनि पराधनी थिएन । आज जस्तो परावलम्वी चिन्तन थिएन । राजा र जनताको निर्णयबाट राष्ट्र चलेको थियो । सभ्यता जोगिएको थियो । ‘आफ्नोपन’ बचेको थियो । आमाहरू ‘ममी’ भइसकेका थिएनन् । (इजिप्टमा त ड्याडी पनि ममी हुन्छ।)

बितेका ३०–४० वर्षमा सभ्यता मास्न बन्दूक होइन, डलर प्रयोग भइरहेको छ नेपालमा। ‘दसैँ–तिहार किन मान्ने, धर्म/संस्कृति किन चाहियो, मन्दिर र गुम्बामा पूजा गरेर पेट भरिन्छ र?’ भन्नेहरू बढेका छन्।

सभ्यता मास्न धर्म/संस्कृतिमाथि हमला गरिन्छ । मेसोपोटामियाको सभ्यता मासियो । इजिप्टको अलेक्जान्ड्रिया सहरको हजारौँ वर्ष पुरानो पुस्तकालय जलाइयो । मुगलहरूले भारतमा हमला गरेर सभ्यता मास्न खोजे । इतिहासकार जगदीशचन्द्र रेग्मीले समसुद्दिनले बंगालबाट आएर पशुपतिनाथको मन्दिर लुटेको प्रसंग उल्लेख गरेका छन् । नेपालको अस्तित्व समाप्त पार्न सिन्धुलीगढी, चिसापानीगढीलगायतका क्षेत्रबाट काठमाडौँतिर उक्लन खोज्दा नेपाली फौजले क्रिस्चियन फौजलाई त्यहीँ धुलो चटाएको थियो । त्यसबेला अंग्रेजले नेपाल कब्जा गरेको भए हामी नेपाली हुन पाउने थिएनौँ । अमेरिकाका प्रसिद्ध कूटनीतिज्ञ हेनरी किसिन्जरको ‘अन चाइना’ पुस्तकमा नेपाली फौजले अंग्रेजको सेनालाई पराजित नगरेको भए त्यो फौज चीनसम्म पुग्न सक्थ्यो भनेका छन् । किनभने चीन त्यसबेला सामरिक दृष्टिले आज जस्तो प्रवल थिएन । नेपोलियनको फौजलाई समेत परास्त गर्ने ब्रिटेनको (अंगे्रज) फौजलाई सिन्धुलीको लडाइँमा नेपाली (गोर्खाली) सेनाले जित्नु चानचुने कुरा थिएन । सभ्यता बचाउनका लागि त्यो अनुपम योगदान थियो । प्रा.तुलसीराम वैद्य, प्रा. त्रिरत्न मानन्धर, इतिहास शिरोमणि बाबुराम आचार्यलगायतका इतिहासकारले २ हजार ४ सय अंग्रेजमध्ये १ हजार ५ सय सैनिक सिन्धुलीमा मारिएको उल्लेख गरेका छन् । त्यसबेला अंग्रेजले जितेको भए हजाराैँ वर्ष पुरानो हाम्रो सभ्यता अवश्य मासिन्थ्यो । हामी पराधीन हुन्थ्यौँ । ‘समृद्धि’ त दासत्वमा पनि हुँदोरहेछ उपनिवेशमा तर स्वाभिमान हुँदैन।

बितेका ३०–४० वर्षमा सभ्यता मास्न बन्दूक होइन, डलर प्रयोग भइरहेको छ नेपालमा । ‘दसैँ–तिहार किन मान्ने, धर्म संस्कृति किन चाहियो, मन्दिर र गुम्बामा पूजा गरेर पेट भरिन्छ र ?’ भन्नेहरू बढेका छन् । डलर–युरोको स्वादमा पल्केका कतिपय एनजिओ/आइएनजिओमार्फत दुर्गम गाउँमा पनि विषवृक्ष रोपिएको छ । कैयन् गाउँहरूमा  मनमाया ‘मार्था’ भएकी छ । प्रेमबहादुर ‘पिटर’ बनेको छ । त्रिपिटक र गीता पढ्नेहरूलाई ‘असभ्य’ भनिन्छ । गाउँगाउँमा ‘नयाँ नेपाल’ भन्दै हजारौँ चर्च खुलेका छन् । नेपाल ‘हिन्दु’ अधिराज्य होइन भनेर ठूला दलहरूले नै सहर्ष स्वीकार गरेपछि प्राचीन धर्म र संस्कृतिमाथि चौतर्फी हमला गर्नेहरू उत्साहित भएका छन् । शास्त्रले धर्मलाई ‘रिलिजन’ मानेको छैन, कर्तव्य र जीवनपद्धति मानेको छ । त्यसैले राष्ट्र धर्म निरपेक्ष हुन्छ भन्नु कुतर्कमात्र हो।

सेनाको धर्म (मुख्य कर्तव्य) राष्ट्रको संरक्षण हो । शिक्षकको धर्म ज्ञान प्रदान गर्ने हो । चिकित्सकको धर्म उपचार गर्ने हो । पत्रकारको पहिलो धर्म सर्वसाधारणसमक्ष सत्य खबर पु-याउने हो । सबैका आफ्ना धर्म छन् । त्यसमा तटस्थ (निरपेक्ष) हुन सकिँदैन । संविधानले नेपाल राष्ट्रलाई ‘धर्म निरपेक्ष’ भनेको छ । त्यसो भए राष्ट्रको धर्म (राजधर्म) कसले बचाउने ? राष्ट्रले कुनै आध्यात्मिक आस्था वा पन्थको पक्ष/विपक्ष लिँदैन भन्न खोजेको भए ‘पन्थ निरपेक्ष’ भन्नुपथ्र्यो । रिलिजन भनेको धर्म होइन । तसर्थ पश्चिमाहरूको निर्देशनमा बनेको संविधानले राष्ट्रको सभ्यता संरक्षण गर्ने कुरा सोचेकै छैन।

‘धेरै पढेर धनी हुनू’ भन्ने आशीर्वाद दिइन्छ घर–घरमा। आज लाखौँ नेपाली धनी त भए तर संस्कारी कतिजना छन्? सभ्यताको अर्थ बुझ्ने कतिजना छन्? आफ्ना सन्ततिलाई संस्कार सिकाउने कतिजना छन्? सभ्यता मास्ने क्षेप्यास्त्रहरू जताततै देखिन्छ तर त्यसलाई निस्तेज पार्ने रणनीति ख्वै?

सन् १८५१ मा ब्रिटिस लेखक जर्ज ज्याकबले पहिलोपल्ट ‘सेक्युलर’ शब्द प्रयोग गरेको विद्वान्हरूको कथन छ । अंग्रेजको शिक्षा, तालिम र दासत्वमा हुर्केका भारतका टाइसुटे विद्वान्हरूले सेक्युलरको अर्थ धर्म निरपेक्ष नै हुन्छ भनिदिए । संस्कृतका प्रकाण्ड विद्वान् विदुषीहरू धर्म र रिलिजन फरक कुरा भएको तर्क गर्छन् । नेपालको संविधान लेखाउन विदेशीले १ सय करोड रुपियाँभन्दा धेरै खर्च गरेको कुरा सञ्चारमध्यममै आयो । तसर्थ संविधानलाई नै सभ्यता मास्ने क्षेप्यास्त्र बनाइयो । राष्ट्र ‘धर्म निरपेक्ष’ हुँदैन भनेर लाखौँ धर्मपे्रमी, राष्ट्रप्रेमी र स्वाभिमानीहरू सडकमा आउन सक्थे । तर पण्डित, भिक्षु, भन्ते, गुरु÷गुरुआमाहरू पनि पास्टरका पछिपछि जुलुसमा कुदे । गणतन्त्र आएपछि सुख, शान्ति, समुन्नति भइहाल्छ भन्ने बुझे । विश्वका पचासवटा साह्रै दरिद्र राष्ट्रमध्ये सबै गणतन्त्रपथमै छन् । त्यहाँका ठग नेताहरू पनि समृद्धिका सपना देखाइरहेका छन् । सभ्यता मासिँदैछ । राष्ट्र भासिँदैछ । साह्रै अशान्त भएपछि अर्बौँ डलर खर्च गरेर राष्ट्र संघले हजारौँ शान्ति सैनिक पठाएको छ ती राष्ट्रमा । गणतन्त्रका पुजारी हाइटी, कंगो, सियरालिओन, सेन्ट्रल अफ्रिकन रिपब्लिक, मोजाम्बिक, सुडान आदि पचासौँ राष्ट्रमध्ये सेक्युलर, समाजवाद, डेमोक्रेसी, मानव अधिकार, समता, समानता आदि नभन्ने कोही छैनन् । ‘समृद्धि’ र उज्ज्वल भविष्य त त्यहाँका प्रत्येक नेताको भाषणमा पनि छुट्दैन । फोहरको डुंगुरमाथि भाषण गर्दै स्विट्जरल्यान्डको सपना देखाउनेहरू त्यहाँ पनि छन्।

झन्डै १७–१८ वर्षअघिको कुरा हो । पाकिस्तानका पूर्वराष्ट्रपति (सन् १९८८ देखि १९९३ सम्म) गुलाम इशाक खाँले काठमाडौँमा आयोजित एउटा कार्यक्रममा प्रमुख वक्ताका रूपमा दिएका लिखित भाषणको धेरैले सराहना गरे । त्यसमा उनले ‘संसारका भ्रष्ट तानाशाह र निरंकुश शासकहरूलाई प्रजातन्त्रवादी भन्ने पश्चिमा राष्ट्रले नै किन शरण र संरक्षण दिन्छन् ?’ भन्ने प्रश्न गरेका थिए।

हुन पनि हो, प्रजातन्त्र, विधिको शासन, पारदर्शिता, मानव अधिकार आदि शीर्षकमा पश्चिमा राष्ट्रले अफ्रिका र एसियामा ठूलो लगानी गरेका छन् । तर फर्डिनान्ड मार्कोस (फिलिपिन्स), बेनजिर भुट्टो र नवाज शरिफ (पाकिस्तान) लगायतका शासकलाई भ्रष्टाचारको अभियोग लागेपछि उनीहरू भागेर अमेरिका र युरोप पुगे । नेपालका कतिपय नेताले ओखती गर्न विदेश जाँदा श्रीमतीका गहना, बारी, बाख्रा वा भैँसी बेच्नुपर्दैन । लाखौँ रुपियाँको बिल विदेशीले नै तिर्छन् । कतिले सिंहदरवारबाटै लाखौँ र करोडौँ रुपियाँ खर्च पाउँछन् । दुःख पर्दा छट्पटाउने त मध्यम र निम्न वर्गका जनतामात्र हुन् । त्यसैले उनीहरूले भोग्ने पीडा र दुःख सरकारको चासो हुनुपर्छ भन्ने आवाज उठिरहेको छ।

पृथ्वीनारायण शाह, आदिकवि भानुभक्त, सिद्धिचरण श्रेष्ठ, राजा महेन्द्र, राम शाह, राजा वीरेन्द्र आदिका सालिक भत्काउनेहरू ‘मालिक’ भएका छन् । महेन्द्र संस्कृत विश्वविद्यालयमा आगो लगाएर प्राचीन धर्म/संस्कृतिका हजारौँ ग्रन्थ जलाउने माओवादी इसाईकै फौज नभएको भए प्राचीन धर्म/संस्कृतिका केन्द्रमाथि किन हमला गर्थे ? नारायणप्रसाद पोखरेल तथा मुक्तिनाथ अधिकारीलगायतका संस्कृतका पण्डितहरू किन मार्थे ? सिन्धुलीगढीलगायतका किल्लामा सयौँ वर्षअघि क्रिस्चियन सेनालाई परास्त गरेको प्रतिशोध लिन क्रिस्चियन फौज बनाएर नेपाली सेनालाई ध्वस्त पार्ने खेल ‘राजनीतिक विद्रोह’ थिएन । सिद्धान्तमा अडिएको भए दरिद्र कार्यकर्तालाई भोकभोकै पारेर माओवादीका कथित कमान्डरहरू एमालेमा विलय हुने थिएनन् । सभ्यता मास्न खोज्नेहरू सिंहदरवारमा पसे । २०६२/६३ सालपछि पशुपति, राष्ट्रपति र सेनापतिको पनि मानमर्दन हुँदै गएको देखियो । ठूला नेता एक्लै हिँड्न सक्दैनन् । आमा र छोरीहरूको बलात्कार होस् वा दिनैपिच्छे बढेको अराजकता, यी सबै सामान्य समाचार जस्तो ठानिएको छ आज।

रामायणमा पाप र पुण्यको एउटा रोचक प्रसंग आउँछ । राजा दशरथ सिकार खेल्न जाँदा नदी किनारमा दलबलसहित बास बसेछन् । हात्तीले पानी पिउँदा आउने जस्तो आवाज सुनेपछि त्यतैतिर लक्षित गरेर राजाले वाण चलाए । मानिस कराएको आवाज सुनियो । राजा दौडेर त्यहाँँ जाँदा एउटा युवक वाण लागेर रोइरहेको देखे । उनी आफ्ना दृष्टिहीन पितालाई पानी लिन आएका श्रमणकुमार (श्रवण कुमार) रहेछन्।

राजाले वाण झिकिदिएपछि श्रवणको मृत्यु हुन्छ । लास बोकेर राजा आफैँ श्रवणका पिताछेउ पुग्छन्। सबै कुराको वर्णन गरेर क्षमा माग्छन् । तर श्रवणका शोकाकुल र विकल पिताले ‘तिमीले अन्योलमा परेर पाप गरेको हुनाले कडा सराप दिन्न तर तिमीले पनि पुत्रशोकमै परेर मर्नुपर्छ’ भनेका थिए । कैकेयीले राजा दशरथलाई चर्को मनोवैज्ञानिक दबाब दिएपछि उनका जेठा छोरा रामचन्द्रले १४ वर्ष वनवास जानुप¥यो । यता पुत्रशोकले राजा दशरथको मृत्यु भयो । तुलसीदासकृत रामायणमा लेखिएको छ– ‘राम राम कही राम कही राम–राम कही राम । तनु परिहरि रघुवरबिरह राउ गयेउ सुरधाम ।।’ (अयोध्याकाण्ड, ।।१५०।।) यस ग्रन्थको नेपाली टीका चन्द्रशमशेरकालमा विद्वत्–शिरोमणि कुलचन्द्र गौतमले बनाएका छन् । उनले नेपालीमा व्याख्या गरेका छन्– ‘राम–राम भनेर (अलि बेरपछि) राम भनेर, (अलिबेरपछि) राम राम भनेर, (आखिरमा) राम भनेर महाराज दशरथ रघुवरको बिरहले शरीर छाडेर स्वर्गलोक गए।’

पापअनुसारको दण्ड इहलोकमै मिल्छ भन्ने हाम्रो मान्यता छ । डाँका गरेर वा लुटेर करोडौँका चल–अचल सम्पत्ति जोड्नेको मन किन बेचैन हुँदो हो । राजनीतिक विद्रोहका नाममा हजारौँको हत्या गर्ने, गराउनेका ओठबाट मुस्कान हराउँदै गएको छ । नेपालका १७ हजारभन्दा धेरै नागरिक दश वर्षे द्वन्द्वमा मारिए । हजाराैँले छोराछोरी गुमाए । हजारौँले अभिभावक गुमाए । जताततै रगत बगाएर उत्सव मनाउनेमध्ये केहीले आफ्नै सन्तानको असामयिक मृत्यु देख्नुप¥यो । मृत्यु कति कहालिलाग्दो हुँदोरहेछ भन्ने हेक्का भयो होला, त्यसबेला तर आत्मज्ञान अबेर आयो।

दैत्यहरूलाई वेद अस्वीकार गर्न लगाएर नास्तिक (ईश्वरको अस्तित्व नमान्ने) बनाउन दैत्यगुरु वृहस्पतिले चार्वाकलाई प्रशिक्षण दिएको धर्मशास्त्रका ज्ञाता बताउँछन् । देखिने (प्रत्यक्ष) बाहेक अरु कुरा स्वीकार गरेनन् चार्वाकवादीले । खानु, लाउनु, मोजमज्जा गर्नु, ‘मरेपछि क्या हो क्या हो’ भन्दै हिप्पीझैँ हिँड्न सिकाए चार्वाकले । सनातन धर्मको पालना गर्ने/गराउने, राजधर्म मान्ने, वैदिक अनुशासनमा बस्ने आदि प्रतिज्ञासहित शपथ ग्रहण गरेर शुभराज्याभिषेक गरेका राजा बेन पनि चार्वाकपथमा हिँडेछन् । राजाले नै धर्म, संस्कृति, सभ्यता र अनुशासन मास्ने छाँटकाँट नदेखेपछि राजसभाको निर्णयबाट राजा बेनको बध गरियो।

सभ्यता, संस्कृति, धर्म र हजारौँ वर्ष पुराना मान्यता धुलिसात् बनाउन खोज्नेहरूलाई क्षमा दिँदा राष्ट्र कमजोर हुन्छ । सरहदबाहिरबाट शस्त्रास्त्र बोकेर शत्रु पस्ने जमाना अब गइसक्यो । घरभित्रै शत्रु उत्पादन गर्न थालिएको छ । उनीहरू नै सभ्यता मास्ने क्षेप्यास्त्र चलाइरहेका छन्।

पुष्पकमल दाहालले दिल्ली गएर पहिलोपल्ट दिएको प्रवचन सुनेर नेपालीहरू लज्जित भएका थिए । काठमाडौँबाट उडेको भारतीय विमान (आइसी ८१४) अपहरणकाण्डमा ‘नेपाल दरवारको हात छ’ भने उनले । भारतका उच्चपदस्थ गुप्तचरले पनि त्यति निम्नस्तरको टिप्पणी गरेका थिएनन् । सन् २००६ को नोभेम्बर २६ तारिखमा प्रकाशित ‘द एसियन एज’ पत्रिकाले दिल्लीमा पुष्पकमल दाहालले दिएको प्रवचनलाई समाचार बनाएको थियो । यस्तै हिन्दुस्तान टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले नेपालमा पाकिस्तानी गुप्तचरलाई राजदरबारले संरक्षण गरेको थियो भनिदिए । निलोभा राय चौधरीसँगको सो अन्तर्वार्तामा दाहालले भारतले चाहेकै बाटोमा आफू हिँडिरहने कुरा अप्रत्यक्षरूपमा व्यक्त गरेका छन् । उनले भारतीयलाई खुसी पार्न ‘ज्ञानेन्द्र शाह र दाउद इब्राहिमबीच सम्बन्ध रहेको’ आरोपसमेत लगाए । भारतीय गुप्तचर संस्था ‘रअ’ ले त्यस्तै बोल्न सिकाएको थियो कि आफ्नै बुद्धिले बोले, त्यो उनै जानून् तर असल मान्छेले विदेशमा गएर राष्ट्रका बारेमा नचाहिँदो कुरा गर्दैन । घर व्यवहारमा पनि यही कुरा लागु हुन्छ।

अमेरिकाका सोहौँ राष्ट्रपति अब्राहम लिंकनले भनेका थिए– ‘हामी एकजुट रहेसम्म हामीलाई कसैले बिगार्न सक्ने छैनन् । तर हामी आफैँ विभाजित भयौँ भने अमेरिकी सभ्यतासमेत ढल्नेछ ।’ हरेक राष्ट्रको इतिहासमा त्यही कुरा लागु हुन्छ ।
नेपालमा आएर नेपाली भाषा–साहित्यमा स्नातकोत्तर (एमए) गरेका जापानी नागरिक हारुहितो नोजुले नेपालका क्याम्पसहरूमा ‘नेपाल परिचय’ विषय किन हटाइयो भन्ने प्रश्न गरेका थिए । स्कुल कलेजमा हाम्रो इतिहास, संस्कृति, प्राचीन धर्म, सभ्यता र संस्कार किन सिकाइँदैन भनेर अभिभावक पनि चासो लिँदैनन् । ‘धेरै पढेर धनी हुनू’ भन्ने आशीर्वाद दिइन्छ घर–घरमा । आज लाखौँ नेपाली धनी त भए तर संस्कारी कतिजना छन् ? सभ्यताको अर्थ बुझ्ने कतिजना छन् ? आफ्ना सन्ततिलाई संस्कार सिकाउने कतिजना छन् ? सभ्यता मास्ने क्षेप्यास्त्रहरू जताततै देखिन्छ तर त्यसलाई निस्तेज पार्ने रणनीति ख्वै?

प्रकाशित: १८ श्रावण २०७५ ०३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App