८ वैशाख २०८१ शनिबार
राजनीति

आचार्यलाई झिकाउने पत्र परराष्ट्र पठाइयो

काठमाडौ - कृष्णप्रसाद अधिकारीका हत्या आरोपी रुद्र आचार्यलाई नेपाल झिकाउन गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र काटेको छ। गंगामाया न्याय अनुगमन सउबलश्रको पहलपछि गृह मन्त्रालयले बेलायतले मागेको जवाफी पत्र र आचार्यलाई नेपाल पठाउने अनुरोधको व्यहोरासहितको पत्र बेलायत पठाउन गृहबाट परराष्ट्र पठाएको समितिले जनाएको छ।

नेपालले आयरल्यान्डमा छन् भनिएका आचार्यविरुद्ध रेड कर्नर नोटिस जारी गरे पनि उनको प्रक्राउ प्रक्रिया अघि बढ्न सकेको थिएन। बेलायतले उनको विस्तृत विवरण र नेपाल पठाएपछि उनको सुरक्षा हुनुपर्ने जवाफी पत्र दुई वर्ष अघि नै मागेको थियो। २०६१ सालमा गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीलाई मामाघर चितवन पुगेको बेला हत्या गरिएको थियो। छोराको हत्यारालाई कारबाही हुनुपर्छ भन्दै उनी न्यायको खोजीमा विगत ७ वर्षदेखि अनसन बस्दै आएकी छिन्। अनसनकै क्रममा पति नन्दप्रसाद अधिकारीको २०७१ सालमा मृत्यु भएपछि सरकारले उनीसँग पाँच बुँदे प्रतिबद्धता गरेको थियो।

समितिका सदस्यले पहल गरेपछि सरकारले पत्र काटेको हो। ‘पत्र गृहले परराष्ट्र पठाइसकेको छ। त्यहाँबाट बेलायती दूतावास हुँदै बेलायत पुग्छ,’ अनुगमन समितिका संयोजक तथा गृह मन्त्रालयका उपसचिव वशिष्ठ घिमिरेले भने।

अनसनरत गंगामायासँग तत्कालीन सरकारले गरेका सहमति पूरा गर्ने प्रतिबद्धता सरकारले गरेपछि उनले अनसन स्थगित गरेकी थिइन्। २०७२ सालमा सरकारले गंगामायासँग पाँच बुँदे प्रतिबद्धता गरेको थियो। प्रतिबद्धताअनुसार गंगामाायाको पुनरस्थापना गर्ने, क्षतिपूर्ति दिने, सरकारको प्रतिनिधिको उपस्थितिमा गंगामायाको पति नन्दप्रसाद अधिकारीको अन्तिम संस्कार गर्ने, जिल्ला अदालत चितवनले अनुसन्धानका लागि गोली हान्ने काममा संलग्न भएका भनिएका रुद्र आचार्यलाई नेपाल झिकाउने लगायतका विषय छन्। प्रतिबद्धताका केही बुँदा कानुनी प्रक्रियाकै क्रममा रहेको समिति संयोजक घिमिरेले बताए।

क्षतिपूर्तिभन्दा पनि अपराधीलाई उचित कारबाही हुनुपर्ने आफ्नो मुख्य माग भएको गंगामायाको भनाइ छ। ‘मैले अनसन बसेको पैसाको लागि हैन, मेरो छोरा र मेरा बुढाले न्याय पाउनुपर्छ,’ उनले भने। जेठको अन्तिम साता सर्वोच्च अदातलमा आत्मसमर्पण गरेका गोर्खाका छविलाल पौडेलसहित अन्य पाँच आरोपितलाई सजायँ तोक्नुपर्ने उनको माग छ।

छविलालले आत्मसर्मण गरेको भोलिपल्टै जिल्ला अदालतले पत्रकार सम्मेलन गरी न्यायिक प्रक्रिया विपरीत कार्य गरेको भन्दै गंगामायाले मंगलबार नै न्याय परिषद्मा उजुरी दिएकी छिन्। उजुरीमा जिल्ला अदालत चितवनका न्यायाधीशको आचारण विपरीत कार्य गरेको उल्लेख छ। ‘जिल्ला अदातल चितवनले आफ्नो आचारसहिंता विपरीत पत्रकार सम्मेलन गरी साउन २० गतेभित्रै मुद्दा फैसला गर्छु भन्नु कानुन विपरीतको कुरा थियो,’ अनुगमन समिति सदस्य प्रसाइँले भने।

गोर्खा फुजेलकी गंगामाया अधिकारी १३ वर्षअघि चितवनमा हत्या भएका छोरा कृष्णप्रसाद अधिकारीको न्यायको लागि ६ वर्षदेखि अनसनरत छिन्। न्याय नपाएकै कारण उनका अर्का छोरा नुरप्रसाद अधिकारी सम्पर्कमा आउन नसकेको गंगामायाले बताएकी छिन्। समिति सदस्य चरण प्रसाइँले सरकारको न्यायिक प्रक्रियामा विश्वास नभएरै नुरप्रसाद सम्पर्कमा नआएको हुनसक्ने बताए।

प्रकाशित: १८ श्रावण २०७५ ०३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App