coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

झनै खस्कियो १२ को नतिजा

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले बिहीबार प्रकाशित गरेको कक्षा १२ को नतिजा विगतमा भन्दा झनै खस्किएको छ। परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को नतिजा पहिलो पटक अक्षरांकन पद्धतिबाट प्रकाशित गरेको हो। वैशाख १४ गतेदेखि २७ गतेसम्म संचालित परीक्षामा कुल २ लाख ९९ हजार ५ सय ७५ विद्यार्थी सहभागी थिए।

प्रकाशित नतिजाअनुसार जिपिए ३.६१ देखि ४.० ग्रेडप्वाइन्ट अर्थात एप्लस प्राप्त गर्ने १ हजार १ सय ६९ विद्यार्थी मात्र रहेका छन्, जुन ०.४१ प्रतिशत मात्र हो। नतिजाअनुसार जिपिए ०.०० देखि २.४० ग्रेडप्राप्त गर्ने विद्यार्थीको संख्या १ लाख ८४ हजार १ सय ५७ रहेको छ, जुन परीक्षामा सहभागी कुल विद्यार्थीको ६५.१८ प्रतिशत हो। त्यस्तै, ६० देखि १०० अंक अर्थात जिपिए २.४१ देखि ४.० जिपिए प्राप्त गर्ने विद्यार्थीको प्रतिशत ३४.८१ रहेको छ।

बिहीबार प्रकाशित नतिजा विगतमा हुने गरेको अंकका आधारमा प्रकासित नतिजाभन्दा फरक नभएको विज्ञहरुले औंल्याएका छन्। नतिजा अनुसार सबैभन्दा बढी सी प्लस ग्रेड अर्थात जिपिए २.०१ देखि २.४० मा ९० हजार २ सय ९९ विद्यार्थी रहेका छन्। अर्थात ५०–५९ अंक प्राप्त गर्ने विद्यार्थीको जमात निकै ठूलो छ, जुन ३१.९६ प्रतिशत हो। ए ग्रेड अर्थात जिपिए ३.२१ देखि ३.६० ग्रेड ल्याउने विद्यार्थीको संख्या ११ हजार २ सय २१ मात्र छ, जुन कुल विद्यार्थीको ३.९७ प्रतिशत हो।

बी प्लस र जिपिए २.८१ देखि ३.२० ग्रेड ल्याउनेको संख्या २७ हजार ६ सय ४३ रहेको छ, जुन ९.७८ प्रतिशत हो। त्यस्तै, बि ग्रेड जिपिए २.४१ देअि २.८० ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या ५८ हजार ३ सय ४५ रहेका छन्, जुन संख्या परीक्षामा सहभागी कूल विद्यार्थीको २०.६५ हो। कक्षा १२ मा अनिवार्य अंग्रेजी र नेपालीमा समेत कमजोर नतिजा देखिएको छ। अंग्रेजीमा कुल २ लाख ९८ हजार ९ सय २९ विद्यार्थी सहभागी भएकामा ए प्ल्स ल्याउने १ सय ७० मात्र छन् भने अनिवार्य नेपालीमा कुल सहभागी ४८ हजार ९ सय ६ विद्यार्थीमा ए प्लस ल्याउने १ सय ३६ मात्र छन्।

बोर्डका सदस्य सचिव दुर्गा अर्यालले एसइई कक्षा ११ को प्रवेशद्वार १.६ जिपिए अर्थात सि ग्रेड ४० देखि ४९ अंक बनाइँदा कक्षा १२ को नतिजा सन्तोषजनक नरहेको बताए। उनले तुलनात्मक रुपमा कक्षा १२ को नतिजा निरासजनक नरहेको बताउँदै ग्रेड वृद्धि परीक्षा भदौ १६ लाई तोकिएको बताए। ‘प्रकासित नतिजा सुधारबारे विषयत अध्ययन आवश्यक छ,’ अर्यालले भने, ‘अध्ययन पश्चात प्राप्त सुझावअनुसार सुधार गर्दै जानुपर्ने देखिन्छ।’

शिक्षाविद् विद्यानाथ कोइरालाले सरकारले ग्रेडिङ कार्यान्वयन गरे पनि त्यसलाई निरन्तर मूल्यांकन गर्ने सहयोगी प्रणाली कार्यान्वयन गर्न नसक्दा विद्यालय शिक्षाको नतिजा खस्कँदै गएको टिप्पणी गरे। ‘सबैजना पास हुने भएपछि शिक्षकले पढाउन अल्छी गर्ने भए भने विद्यार्थीहरुले पनि पढ्न मानेनन्। परीक्षाको रुप फेरियो तर गुदि फेरिएन,’ कोइरालाले भने, ‘न्यून ग्रेडमा पर्ने विद्यार्थीबारे शिक्षकलाई कक्षामै थाह हुन्छ। तर शिक्षकले विद्यार्थीको सुधार गर्ने तर्फ शिक्षण सिकाइ गरेको पाइँदैन । अब राज्यले यस्ता जनशक्तिका लागि गरिखाने शिक्षा दिन सक्नुपर्छ।’

उच्च शिक्षा तथा विद्यालय संचालक संघ नेपाल (हिसान)का अध्यक्ष रमेश सिलवालले ग्रेडिङले परीक्षाको मूल्यांकन गर्ने पद्धति हटाइँदा नतिजा खस्किएको बताए। ग्रेडिङले द्वितिय र तृतिय श्रेणीमा पास हुने विद्यार्थीको जमात वृद्धि भई माथिलो ग्रेडका विद्यार्थीको संख्या घटाउँदै गएको टिप्पणी उनले गरे। ‘पहिले अंकमा आधारित नतिजामा पास नम्बर ३५ थियो अहिले डिप्लस अर्थात ३० कायम गरिएको छ,’ अध्यक्ष सिलवालले भने, ‘ग्रेडिङ प्रणाली राम्रो हुँदाहुँदै पनि हामी कहाँ यसको गलत व्याख्याले शिक्षालाई डुबायो।’

प्रकाशित: १८ श्रावण २०७५ ०३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App