coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ठूला गाडीले कर्णाली राजमार्गमा जोखिम

कर्णाली राजमार्गमा जाममा परेका ट्रक। तस्बिर : डिबी/नागरिक

जुम्ला - सुर्खेत हुँदै जुम्ला यात्रामा निस्केका सिँजाका डिल्ली तिवारी दैलेख जिल्लाको दहीखोलानजिकै तीन घण्टा जाममा परे। बिहान ६ बजे यात्रा सुरु गरेका उनी समयमै घर पुग्ने आसमा थिए तर जाममा पर्दा जुम्ला–कालिकोटको सिमाना नाग्मामै बास बस्नुप-यो। कर्णाली राजमार्गमा जाम हुनुको कारण ठूला गाडीको बाक्लो आवागमन भएको तिवारीले बताए। उनले भने, ‘कर्णालीको साँघुरो सडकमा ठूला गाडीको ओहोरदोहोरका कारण यात्रुले दैनिकजसो सास्ती खेप्नुपरेको छ । यो राज्यका लागि पनि चुनौती हो।’

तिवारीले कर्णाली राजमार्गको चौडाइलाई ध्यानमा राखी उपयुक्त गाडीलाई मात्र सञ्चालन अनुमति दिनुपर्ने बताए। ‘हिउँदको समयमा त जसोतसो यात्रा सहजै हुने गर्छ’, उनले भने, ‘वर्षायाममा जताततै पहिरो जाने हुनाले ठूला गाडी आवागमनमा निगरानी राख्न जरुरी छ। यसको जिम्मेवारी कर्णाली प्रदेश सरकारले लिनुपर्छ।’ कर्णाली राजमार्गको अधिकांश स्थानमा पहिरो गएको छ। ससाना खहरे बढेर नदी जस्तै बनेका छन्। यस्तो अवस्थामा जोखिम मोलेर कर्णालीवासीले यात्रा गर्नुपरेको छ।

खत्तम बाटोमा कोचाकोच यात्रु चढाएर गाडी गुडाउने गर्दा जोखम झनै बढेको छ। राजमार्गमा डेढ दर्जनजति प्रहरी चेकपोस्ट छन् तर उनीहरुले राम्रोसँग चेक नगर्दा जोखिम नियन्त्रण हुन सकेको छैन।

जुम्लाकी गोमा कुँवर पूर्व पशुपन्छी राज्यमन्त्री हुन्। सुर्खेत हुँदै जुम्ला आउने क्रममा उनी घट्टेखोलामा एक घण्टा जाममा परिन् । उनले भनिन्, ‘कर्णालीको सडकप्रति राज्य कहिल्यै पनि सकारात्मक देखिएन, यो विडम्बना हो।’ कर्णाली राजमार्गको स्तरोन्नति गरी कर्णालीलाई पर्यटन केन्द्रका रुपमा विकसित गर्नु अहिलेको सरकारको दायित्व भएकोमा उनले जोड दिइन् । कर्णाली रारा पर्यटन वर्ष २०७५ सफल बनाउनकै लागि भए पनि यो राजमार्ग चौबीसै घण्टा बिनाअवरोध चल्न सक्ने बनाउनुपर्नेमा उनको जोड छ।

‘कर्णाली सरकारले २०७५ साललाई कर्णाली रारा पर्यटन वर्षका रुपमा मनाइरहेको छ’, कुँवरले भनिन्, ‘तर कर्णाली घुम्न आउने पर्यटकले पहिरो र जामका कारण सास्ती बेहोरिरहेका छन्। यसले पर्यटकमाझ नकारात्मक सन्देश जान सक्छ । राजमार्गमा बिनाअवरोध पर्यटकलाई कर्णाली घुम्ने वातावरण बनाउनु अहिलेको माग पनि हो।’

कर्णाली राजमार्गको दहीखोला र घट्टेखोलामा बढी नै जाम पर्छ । दहीखोला, गगनेखोला, ताडी, खल्लागाडलगायतका स्थानमा पहिरोको उच्च जोखिम छ। आकाशबाट पानी खस्नेबित्तिकै पहिरो आउने त्रास हुन्छ । राजमार्गको पिच उप्किँदै गएको छ। पहिरोल बाटो पनि साँघुरिँदैछ। पहिरो गइहालेमा पनि पन्छाउने स्काभेटर तयारी अवस्थामा हुँदैन। ट्रकलगायतका ठूला गाडीका कारण जुनसुकै समयमा कर्णाली राजमार्गमा ठुलो दुर्घटना हुन सक्ने देखिएको यात्रु बताउँछन्।

कर्णाली यातायात व्यवसायी संघ जुम्लाका अध्यक्ष मीनबहादुर थापाले कर्णाली राजमार्गको चौडाइ कम भएकाले सवारीसाधन आवतजावतमा ठूलो समस्या आउने गरेको बताए । ‘कर्णाली राजमार्ग कतै ५ मिटर त कतै ६ मिटर चौडा छ’, थापाले भने, ‘कम चौडाइका कारण ठूला सवारीसाधन चल्दा जाम पर्नुका साथै जोखिम पनि बढेको छ।’ यो राजमार्गमा कति टनसम्मको गाडी आउन पाउने भन्ने मापदण्ड राज्यले बनाउनुपर्ने उनले बताए। ‘जुम्ला–कालिकोट जोड्ने बेलिब्रिज पुलमा १० टनभन्दा बढिको गाडी आउन मिल्दैन’, उनले भने, ‘तर पन्ध्र बीस टनका सवारीसाधन त्यसैमा वारपार गर्छन्। यसले गर्दा पुल निकै जीर्ण भइसकेको अवस्था छ तर राज्यको ध्यान पुग्न सकेको छैन।’

सडक साँघुरो भएका कारण यहाँ पटकपटक दुर्घटना हुने गरेको छ । यही कारण स्थानीयले यसलाई ‘मृत्यु मार्ग’ को नाम दिएका छन्। सडक डिभिजन कार्यालय कर्णालीका प्रमुख माधव अधिकारी कर्णाली राजमार्गको चौडाइको कुनै हिसाबकिताब नै नभएको बताउँछन्। ‘यो राजमार्गको चौडाइ कुनै ठाउँमा ४ मिटर, कतै ५ मिटर र कतै ६ मिटर छ । राजमार्गको स्तरोन्नतिका लागि कुनै पहल भएको छैन, परिपत्र पनि आएको छैन’, उनले भने।

खत्तम बाटोमा कोचाकोच यात्रु चढाएर गाडी गुडाउने गर्दा जोखम झनै बढेको छ। राजमार्गमा डेढ दर्जनजति प्रहरी चेकपोस्ट छन् तर उनीहरुले राम्रोसँग चेक नगर्दा जोखिम नियन्त्रण हुन सकेको छैन। एक यात्रुले भने, ‘सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने चालकसँग प्रहरी रिचार्ज खर्च माग्छन् र त्यसै छाडिदिन्छन्।’

प्रकाशित: १८ श्रावण २०७५ ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App