८ वैशाख २०८१ शनिबार
अन्य

‘वडालाई कीर्तिपुरकै उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा चिनाउनेछु ’

राजेन्द्र बनियाँ, वडाध्यक्ष कीर्तिपुर नगरपालिका – ०४

जनप्रतिनिधी भएर आएसँगै जनताले महसुस गर्ने गरि के–के काम गर्नुभर्यो ?
 जनप्रतिनिधी भएर आउँदा वडामा खानेपानीको चरम हाहाकार थियो । हामी आएसँगै वडामा खानेपानीको व्यवस्थापनमा जुटेका छौं । २५ लाखको लागतमा सल्यानस्थानमा खानेपानीको योजना अघि सारेका छौं ।

बोरिङ यस अघि नै खनिएको थियो । हामी आएसँगै बोरिङको खानेपानी वितरणको लागि पाइपलाइन बिछ्याइसक्यौं । अहिले पाइप परीक्षणको काम गरिरहेका छौं । एक साताभित्रै जनताको घरदैलोमा खानेपानी वितरण गर्ने तयारीमा लागेका छौं ।  उक्त योजनाबाट करिव तीन सय धरधुरी लाभान्वित हुनेछन् । बस्नेतगाउँमा दुई सय मिटर सडक ढलान गरिसक्यौं । सिमक्षेत्रमा पर्खाल तथा सडक ढलान कार्य गर्यौं ।  वडा कार्यालयले विभिन्न स्थानका सडक ग्राभेलिङ कार्य गरिरहेका छौं।

जनप्रतिनिधी भएर काम गर्न कतिको सहज हुने रैछ ?
२० वर्षसम्म स्थानीय तह जनप्रतिनिधी विहीन् रह्यो । जसको कारणले स्थानीय जनतामा धेरै चाहाना र आकांक्षा रहेका छन् । जसलाई परिपूर्ति गर्न निकै हम्मे हम्मे परेको छ ।

गत वर्ष नगरपालिकाबाट वडा कार्यालयका लागि ७५ लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो । उक्त रकम विभिन्न योजनामा कनिका छरेजस्तै भयो । जसको कारणले जनताले महसुस गर्ने काम देखिन सकेको छैन । वडामा गर्नुपर्ने कामको थाती यति धेरै छ की ? अहिले गन्ती गरेर नै साध्य हुदैंन ।तर, वडा कार्यालयसँग प्रर्याप्त बजेट नभएकाले  जनताले सोचे अनुसारको काम गर्न सकेका छैनौं । वडा कार्यालयले वार्षिक तीन करोड भन्दा धेरै रकम आम्दानी गर्छ ।

उक्त रकम सवै नगरपालिकामा नै दाखिला गर्नुपर्ने व्यवस्था रहेकाले पनि वडाको विकास गर्न नसकिएको हो । नगरकार्यपालिकाको बैंठकमा वडा कार्यालयले उठाएको रकममध्ये ७० प्रतिशत वडाले नै खर्च गर्न पाउनुपर्ने माग राखेको छु् । त्यसो हुन सकेमा वडाको विकास हुने थियो।

पुष्पलाल बसपार्क क्षेत्र अस्तव्यस्त रहेको छ, कहिलेसम्म व्यवस्थित गर्नुहुन्छ ?
पुष्पलाल बसपार्क क्षेत्र लामो समयदेखि अस्तव्यस्त ढंगले सञ्चालन हुुदैं आइरहेको छ ।केही समय अघि सानो चौरमा सञ्चालनमा ल्याएकाले समस्या भएको हो ।

अर्काेतर्फ बसपार्क क्षेत्रमा कालोपत्रे गर्न नसक्दा वर्षायाममा हिलाम्मे हुने समस्या रहेको छ । वडा कार्यालयले बसपार्क क्षेत्रमा ग्राभेलिङ गरेको छ ।बसपार्क क्षेत्रमा सार्वजनिक शौचालय समेत निर्माण गर्न सकिरहेका छैनौं । वडा कार्यालयले विभिन्न संघसंस्थासँग पहलकदमी गरिरहेको छ ।

तपाईको वडामा जातीय संग्रहालय बनाउने योजना कहाँ पुग्यो ?
जातीय संघसंस्थाले सम्पूर्ण जातीको पहिचान झल्किने संग्रहालय बनाउने योजना सार्वजनिक गरेका थिए ।तर, अहिलेसम्म जातीय संग्रहालयको काम अघि बढ्न सकेको छैन् ।

जातीय संग्रहालय बनाउने भनेको क्षेत्रमा करिव दुई सय रोपनी सार्वजनिक जग्गा रहेको छ । अहिले उक्त स्थानमा तारझाली लगाउने काम भइरहेको छ । संग्रहालय बनाउने जातीय संगठनको ढिलासुस्तीकै कारणले संग्रहालय निर्माण कार्यले गति लिन नसकेको हो।

तपाईको वडामा भूकम्पपीडितको समस्या कस्तो छ ?
वडामा रहेका अधिकांश भूकम्पपीडितले राहत रकम पाएका छैनन् । जसकोे कारणले  अझै पनि उनीहरु टहरामा नै बसोबास गर्दै आइरहेका छन् ।सार्वजनिक स्थानमा घर बनाएर बसेका भूकम्पपीडीतले राहत रकम पाउन सकिरहेका छैनन् । कोही भूकम्पपीडीतसँग लालपूर्जा नहुँदा पनि  राहत  पाउन समस्या देखिएको छ ।

वडा कार्यालयले भूकम्पपीडीतको समस्याको बारेमा बारम्बार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग अनुरोध गरिसक्यौं ।तर,अहिले पनि भूकम्पपीडीतको समस्या ज्ुकात्याई नै रहेको छ । वडामा  दुई सय ५० को हाराहारीमा भूकम्पपीडीत रहेका छन् । तिमध्ये हालसम्म एक सय २७ जनाले पहिलो किस्ता वापतको राहत रकम पाएका छन् । दोस्रो किस्ता प्राप्त गर्नेको संख्या २५ जना रहेका छन् । अन्य भूकम्पपीडीतले कुनै प्रकारको राहत रकम पाउन सकेका छैनन्।

तपाईंको वडामा सार्वजनिक जग्गा मिचिने क्रम रोकिएको छैन नि ?
लामो समय स्थानीय तहमा जनप्रतिनिधी नहुँदाको फाइदा उठाउँदै केही भूमाफियाले सार्वजनिक जग्गा अतिक्रमण गर्दै आइराखेका छन् । वडामा करिव ४० रोपनीभन्दा धेरै सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा परेका छन् ।

वडा कार्यालयले सार्वजनिक जग्गा छुट्टाउनको लागि नापी तथा मालपोत कार्यालयसँग समन्वय गरिरहेका छौं । अबको केही समयभित्रै सार्वजनिक जग्गाको नापी गरेर अतिक्रमणमा परेका सार्वजनिक जग्गालाई फिर्ता ल्याउनेछौं।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट गत चालु आर्थिक वर्षमा वडा कार्यालयका लागि ७५ लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो । बिनियोजित बजेट मध्ये अधिंकाश रकम भौतिक पूर्वाधार निर्माण,  वडा कार्यालय भवन खानेपानी, ढल निर्माण लगायतका योजनामा खर्चियौं ।

आगामी आर्थिक वर्षको लागि एक करोड रुपैयाँ बजेट बिनियोजन भएको छ । वर्षेनी वडाबासीको चाहाना र आकांक्षा  बढ्दै गइरहेका छन् । तर, बजेट अति नै न्यून रहेको छ । त्यसैले जनआकांक्षा अनुसार काम गर्न समस्या देखिएको छ।

 वडामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने कस्तो योजना अघि सार्नुभएको छ ?
वडा कार्यालयले चम्पादेवि मन्दिर क्षेत्रलाई समेटे्र पर्यटकीय गन्तब्य बनाउने तर्फ अग्रसर भइराखेको छ ।कीर्तिपुरदेखि चम्पादेवीसम्म साढे एक घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ ।

वडा कार्यालयले कीर्तिपुरदेखि चम्पादेवीमन्दिरसम्म साइकल ट्रयाक खोल्ने तयारी गरेको छ । त्यसको लागि पाँच लाख रुपैयाँ बजेट बिनियोजन गरेका छौं । उक्त क्षेत्रमा घना जंगल पर्ने भएकाले कालिज, मृग चितुवा लगायतका पशुपंक्षी समेत पाइने गर्छ ।त्यसैले ती क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्यको रुपमा स्थापना गरिनेछ।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?
पाँच वर्षभित्र व्यवस्थित र समृद्ध वडा बनाउने लक्ष्य लिएर काम गरिरहेको छु । वडालाई सफा सुग्घर र हराभरा बनाउने लक्ष्य छ । वडालाई पाँचवर्षभित्रै कीर्तिपुरकै उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा चिनाउनेछु । 

प्रस्तुति हिमाल लम्साल

 

प्रकाशित: १८ श्रावण २०७५ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App