coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेशको राजधानी र नामको बहस तात्यो

धनगढी - हिजोको सुदुरपश्चिमलाई नै अखण्ड राखेर प्रदेश बनाउने कि तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर टुक्र्याएर छुट्टै थरूहट राज्य बनाउने भनेर भएको लामो संघर्ष र घम्साघम्सीबीच पहाड, तराई र हिमालको भूभागसहितको ९ जिल्ला रहेको प्रदेश ७ बनाइयो। अखण्ड सुदुरपश्चिम बनाइनु पर्ने र कैलाली कञ्चनपुरसहितको थरूहट हुनुपर्ने परस्परविपरीत मागसहितको आन्दोलन पहिलो संविधानसभाको पूर्वसन्ध्यामा र २०७२ सालमा महिनौंसम्म भए। यही आन्दोलनका क्रममा टीकापुरमा एक बालकसहित ९ सुरक्षाकर्मीको ज्यान गयो। अहिले यही प्रदेशको नाम के राख्ने र स्थायी राजधानी के बनाउने भन्ने विषयको बहसले चिया पसलदेखि समाजिक सन्जालसम्म तातेको छ।

प्रदेशको नाम र राजधानी तोक्न ढिलो भएको भनिएका बेला प्रदेशसभा बैठकले संसदीय समिति गठन गरेसँगै यो बहस चुलिएको हो। प्रदेशसभा बैठकले राजधानी र नामकरणबारे अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेश गर्न साउन १४ गते नेकपाका सचेतक तारालामा तामाङको संयोजकत्वमा ५ सदस्यीय संसदिय समिती गठन गरेको थियो। समितीमा नेकपाका ४ जना र नेपाली काग्रेसका १ जना रहेका छन्।

राजधानीका लागि आवश्यक जग्गाको उपलब्धता, हवाई सेवा, पहाडी जिल्लामा आवतजावतमा सहजता, जनसंख्यालगायत आधारमा अत्तरिया आसपास नै राजधानीका लागि उपयुक्त हुने उनीहरूले तर्क अघि सारेका छन्।

राजनीतिक नेता, कार्यकर्ता, सासंद, नागरिक समाज, सर्वसधारण लगायतका काहाँ राजधानी राख्ने र के नाम राख्ने भनेर छलफल र बहस जुटेका छन । राजधानी तराईमा हुनुपर्ने र पहाडमा हुनुपर्ने दुई मत रहेका छन।

विगतमा क्षेत्रिय सदरमुकाम रहेको र केन्द्रमा पर्ने भन्दै पहाडको पक्षमा रहेका राजधानी दिपायल हुनुपर्ने मत अघि सारेका छन । तराईको पक्षमा रहेकाले अत्तरिया वा धनगढी हुनुपर्ने मत राखेका छन्। ‘हामीले राजधानी र नामबारे परामर्श लिन सुरु गरेका छौं,’ गठित संसदीय समितिका अध्यक्ष तारा लामा तामाङले भने। सासंदसँग विभिन्न राजनीतिक दल र नागरिक समाजसँग परामर्श लिएर संसद्मा पेश गर्ने उनले बताए। प्रदेशको नाममा विभिन्न व्यक्तिले आफ्नो धारणा राखेर चर्चा गरेपनि नाम तोकिदाँ सबैले चित्त बुझाउने देखिन्छ। राजधानीका विषयमा भने सर्वसधारणदेखि सांसदसम्म विभाजित छन् । सबैले आफूले भनेको ठाउँमा हुनुपर्छ भनेर जोडवल लगाइरहेका छन्। राजधानीका बिषयमा लबिङ गर्न विभिन्न जिल्लामा औपचारिक र अनऔपचारिक छलफल र बहस सुरु भएका छन। सत्तापक्ष र प्रतिपक्ष दुवै दलभित्रकै नेता र सांसदबीच पनि राजधानीका विषयमा गम्भीर मतभेद भएको छ। पहाडी जिल्लाका धेरैजसो राजनीतिक दलका नेता र सांसद राजधनी पहाडमा हुनुपर्ने पक्षमा छन्। ‘भूगोललगायत सबै कुराले उपयुक्त वैज्ञानिक र न्यायोचित राजधानी दिपायलमा हुदाँ हुन्छ,’ नेकपाका प्रदेशसभा सदस्य पूर्णा जोशीले भनिन्। यसैगरी डोटीबाट निर्वाचित नेपाली काग्रेसका सांसद भरत खड्का भूगोल, सन्तुलित विकास, ऐतिहासिक निरन्तरता र सामरिक दृष्टिले राजधानीका दिपायल नै उपयुक्त भएको बताउँछन्।

तराईमा राजधानी हुदाँ विकासले पहाड पछाडि पर्ने र तराईमा बसाइँसराइँले पहाड खाली हुने उनीहरूको तर्क छ। कैलाली, कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी मुलका बासिन्दा र यहाँबाट निर्वाचित सांसद प्रदेशको राजधानी कैलालीमै हुनुपर्ने पक्षमा देखिन्छन्। राजधानीका लागि आवश्यक जग्गाको उपलब्धता, हवाई सेवा, पहाडी जिल्लामा आवतजावतमा सहजता, जनसंख्यालगायत आधारमा अत्तरिया आसपास नै राजधानीका लागि उपयुक्त हुने उनीहरूले तर्क अघि सारेका छन्। सिमांकनको लामो आन्दोलनको पृष्ठभूमि रहेको प्रदेश ७ को राजधानी कहाँ बनाउने विषय निकै पेचिलो हुने देखिएको छ। प्रदेशसभा बैठकको दुईतिहाइले प्रदेशको नाम र राजधानी टुंगो लगाउने संवैधानिक प्रावधान रहेको छ। यस प्रदेशका शीर्ष नेता नेपाली कांग्रेसका शेरबहादुर देउवा, नेकपाका भीम रावल र लेखराज भट्टबीचको सहमतिले राजधानी निर्धारण हुनेछ। नेता लेखराज भट्टले अत्तरिया हुनुपर्ने बताउँदै आएका छन्। देउवा र रावल पनि तराईमै राजधानी बनाउने कुरामा सहमत रहेको स्रोतले बताएको छ। ‘तीनै नेताको सहमतिमा अत्तरिया आसपासमा राजधानी हुनसक्ने सम्भावना बढी छ,’ नेकपाका एक नेताले भने।

थारू अगुवा पहाडमा हुनुपर्ने पक्षमा
विगतमा कैलाली र कञ्चनपुर टुक्र्याएर यी दुई जिल्लासहितको थरूहट प्रदेश हुुनुपर्ने माग राख्दै आन्दोलन चर्काएका थारू समुदायका अगुवा भने राजधानी दिपायलमा हुनुपर्ने पक्षमा रहेका छन्। थारू समुदायको भावना समेट्न पनि तराईमा राजधानी हुनुपर्ने तर्क उठिरहेका बेला उनीहरूले पहाडमा राजधानी हुनुपर्ने भन्दै लबिङ नै सुरु गरेका छन । थारू अगुवाहरुको बैठकले वसेर नै पहाडमा राजधानी हुनुपर्ने सामुहिक धारणा बनाएको थारु नागरिक समाजका दिलबहादुर चौधरीले भने ।‘सवैलाई पायक पर्ने भएकाले दिपायलमा नै राजधानी उपयुक्त हुन्छ’उनले भने, ‘पहाड बिकासले पछाडी रहेकोले सन्तुलित बिकासका लागी पनि यो आवश्यक छ।’

थारु कल्याणकारी शभाका प्रभात कुमार चौधरीले तराईमा राजधानी भए पहाड विकासमा अझ पछाडि पार्ने भएकाले पहाडमा राजधानी बनाइनुपर्ने बताउँछन्। ‘पहाडका ७ जिल्ला उपेक्षा गरेर तराईमा राजधानी बनाइनु हुँदैन,’ उनले भने।

कैलाली र कञ्चनपुर टुक्र्याउने मागसहित थरूहट आन्दोलन पुनः ब्यूताउँन सकिने भएकाले थारू अगुवा पहाडमा हुनुपर्ने पक्षमा रहेको विश्लेषण गरिएको छ । यो कुरालाई थारू अगुवाले भने स्वीकारेका छैनन्।

तराइका दुई जिल्ला कैलाली, कञ्चनपुरमा प्रदेश ७ को आधा जनसंख्या रहेको छ। भने प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये १६ यी दुई जिल्लामा छन्।

प्रदेश नाममा सुदुरपश्चिम, सुन्दरपश्चिम, सेतीकाली, मानसखण्ड, पश्चिम प्रदेश नाम, खप्तड चर्चामा रहेका छन्। यसैगरी पहाडमा रहेका पर्यटकिय स्थल खप्तड र तराईमा रहेको घोडाघोडीलाई जोडेर खप्तड घोडाघोडी नाम पनि कतिपयले अघि सारेका छन्। प्रदेशको नाम तराई र पहाड दुवैको भावना समेटिनेगरी राख्ने कुरामा सबै सहमत छन्।

प्रकाशित: १८ श्रावण २०७५ ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App