coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘सिक्टा नहरमा लापरवाही गर्नेलाई कारबाही गरियोस्’

फाइल फाेटाे

नेपालगन्ज - राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाई आयोजनाको मूल नहर सञ्चालन अगाडि नै परीक्षणका क्रममा दुईपटक भत्कन पुगेको छ।

मूल नहरको डिजाइन वा निर्माणमा कस्को लापरवाही भएको हो भन्ने विवाद अहिले उठेको छ । आयोजना बनेपछि सिँचाइ सुविधा पाउने आशामा बसेका स्थानीयवासीमा अहिले निराशा छाएको छ । आयोजना निर्माणमा कसले गल्ती गरेको हो ? सरकार वा ठेकेदार । स्थानीयवासीको धारणा यस्तो छ :

 

हरी रेग्मी
स्थानीयवासी
सिक्टा सिँचाइलाई राष्ट्रिय गौरवको आयोजना त भनियो तर, राष्ट्रिय गौरवको आयोजना भनेर पनि नसुहाउने स्थितिमा पुगेको छ । आयोजनामा आएको पैसा सिध्याउने हिसाबले मात्र काम गरियो । उपलब्धिमूलक काम केही भएको छैन । सिक्टा सिँचाइ आयोजनाको काममा सुरुदेखि नै त्रुटी हुन पुगेको छ ।

यति ठूलो आयोजनाको माटो सही ढंगले परीक्षण गरेर त्यतिबेला नै निकास खोजिएको भए सायद यो समस्या अहिले आउने थिएन होला । नहरमा अहिले विभिन्न समस्या आइराखेका छन् । कतै नहर चर्केको छ, कतै फुटेको छ, कतै भत्किएको छ । बाहिरबाट नयाँ माटो ल्याएर नराख्दासम्म यो समस्या कहिल्यै समाधान हुँदैन । सम्बन्धित निकायले बेलैमा सोँच्न जरुरी छ । भोलीका दिनमा बस्ती क्षेत्रमा पनि नहर भत्कियो भने के हालत होला ? नहर निर्माणमा संलग्न ठेकेदार, आयोजनाका कर्मचारी सबैलाई कारबाही गर्नुपर्छ।

महावीर ओली
वडा अध्यक्ष
सिक्टा सिँचाइ आयोजनाको मूल नहर किन पटक–पटक भत्किने गरेको छ । यसको सही जवाफ आयोजना कार्यालयले दिन सकेको छैन । आयोजना कार्यालयले माटोले साथ नदिएको कुरा मात्रै गरिरहेको छ । हामीले बुझेअनुसार यति ठूलो आयोजनाको काम गर्नका लागि ल्याब टेस्ट नै गरिएन जस्तो लाग्छ । ल्याब टेस्ट गरेर काम गर्नुपथ्र्यो । त्यो नगर्नु नै पहिलो कमजोरी भयो । ल्याब टेस्ट गरिएको भए त्यतिबेला अनुचित ठहरिएको माटो प्रयोग हुँदैनथ्यो । त्यतिखेर नै  आयोजना कार्यालयले गम्भीर लापरवाही गरेको हो । माटोकै कारणले यो नहर फुट्यो । अहिलेमात्र होइन, ०७३ सालमा परीक्षण गर्दा पनि नहर फुटेको थियो । अहिले जंगलमा फुट्यो, गाउँमा फुटेको भए के हालत हुन्थ्यो होला ?


अशोक रोकाय
स्थानीयवासी एवं पूर्वसांसद
यसमा पहिलेदेखि नै लापरवाही भएको हो । त्यतिबेला योभन्दा माथिल्लो ठाउँबाट नहर बनाएर लैजानुपर्ने आवाज हामीले उठाएका थियौं ।

तर, खर्च बढी लाग्ने भनेर त्यतिबेला हाम्रो कुराको सुनुवाइ गरिएन । हामीले धेरै अनुरोध गरेका हौं । खै किन हो, प्राविधिकले भनेकै ठाउँबाट गर्नुपर्ने रहेछ । सिक्टाका तत्कालीन प्राविधिकको अटेरीले गर्दा गलत ठाउँबाट नहर खनियो । त्यही लापरवाहीले अहिले समस्या आयो ।

माटो कमजोर छ, यहाँबाट नबनाऔं भनेर भनेका हौं । हाम्रो कुरालाई मतलब गरिएन । पटक–पटक नहर भत्किएपछि यसको जिम्मेवारी आयोजना कार्यालयले नै लिनुपर्छ । त्यसमा ठेकेदार पनि दोषी छ । जिम्मेवारीबाट कोही पनि पन्छिन पाउँदैन । अबको समाधान भनेको कडाइपूर्वक यसको छानबिन गर्नुपर्छ । अर्को कुरा माटो जाँच गरेर पुनः नबनाएसम्म एक ठाउँमा बनाउने, अर्को ठाउँमा भत्किने क्रम चलिरहन्छ ।


पुष्करसिंह ठकुरी
वडा सचिव
राष्ट्रिय गौरवको आयोजना सिक्टाको नहर पटक–पटक भत्किने समस्या आइरहेको छ । दुई वर्षअघि नहर भत्किएपछि साविक महादेवपुरी गाविसको तर्फबाट हामीले ज्ञापनपत्र बुझाएर यसको सही निकास दिनुपर्ने माग गरेका थियौं । त्यतिखेर पनि आयोजनाका कर्मचारीले घुलनशील माटोका कारण समस्या भएको बताएका थिए ।

पटक–पटक एउटै समस्या आइरहेको छ । यसको दीर्घकालीन समस्याका लागि पहल किन भएको छैन । यो त डिजाइनकै त्रुटी हो । आयोजना कार्यालयले पनि स्वीकार गरिसकेको अवस्था छ । आयोजना कार्यालय नै प्रमुख जिम्मेवार हो । पटक–पटक नहर भत्किने समस्याले गर्दा ढकेरी गाउँ अत्यन्तै जोखिममा परेको छ । नहरलाई घुलनशील माटोले धोका दिएको हो भने यसको समाधानतर्फ पहल गर्नुपर्छ।


भाइराम ओली
स्थानीयवासी
नहर जतिबेला बन्दै थियो, त्यतिबेला नै हामीले भनेका हौं । हाम्रो भनाइलाई वास्ता नै गरिएन । नहर बनाउँदा ठेकेदार कालिका कन्स्ट्रक्सन कम्पनीले जिम्मा लिएपनि उसले आफ्नो सबै काम साना पेटी ठेकेदारलाई दिएको थियो । पेटी ठेकेदारले मनपरी हिसाबले काम गरेको देखिन्थ्यो । एक त यहाँको माटो खराब छ ।

खराब माटोलाई राम्ररी रोलिङ गरेको भएपनि धेरै राम्रो हुन्थ्यो, त्यस्तो केही पनि गरिएन । माटोले धोका दिन्छ भन्ने थाहा पाउँदा–पाउँदै किन त्यतिबेला ठेकेदार र आयोजना कार्यालयले मतलब गरेनन् । यो गम्भीर विषय हो । अहिले नहर नबन्दै पटक–पटक भत्किने समस्या बल्झिरहेको छ । यसले गर्दा सिक्टामा समस्यामाथि समस्या आइरहेको छ । यसलाई सरकारले गम्भीररुपमा लिएर छानबिन गर्नुपर्छ । नत्र सिक्टा आयोजनामा राज्यको लगानीमात्रै लाग्ने, प्रतिफल केही नआउने निश्चित छ ।

 

लाली खत्री
स्थानीवासी
नहर कच्ची बन्यो । कच्ची नहरको कुनै भरोसा नै छैन । पटक–पटक भत्किने समस्या आइरहेको छ । हामीलाई धेरै चिन्ता लागिरहेको छ ।

कुनबेला कहाँनिर फेरी भत्किने हो, ठेगान छैन । हामी कहाँ गएर बस्ने हो ? राज्यले ठाउँ देखाइदिनुपर्यो । यो नहरले गर्दा हामी धेरै पीडित भएका छौं । नहर सुरु गर्दा नै हामीलाई शंका लागेको थियो । आखिर अहिले त्यही भयो ।

 


गणेश ओली
स्थानीयवासी
राज्यको यत्रो ठूलो लगानी लागेको सिक्टा नहर सञ्चालनमा नआउँदै भत्किदा धेरै चिन्ता लागिरहेको छ । कहाँनिर सरकार चुक्यो, किन पटक–पटक नहर भत्किरहेको छ ।

सरकारले उच्चस्तरीय समिति बनाएर यसको छानबिन गर्नुपर्छ । नत्र फेरी पनि समस्या बल्झिरहनेछ । राज्यको यति धेरै बजेट खर्च भएको आयोजना भत्किदा बालुवामा पानी हालेझैं भएको छ । यसमा दोषी को–को छन्, पत्ता लगाएर कारबाही गर्नुपर्छ ।

प्रकाशित: १८ श्रावण २०७५ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App