coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राज्यमन्त्री शर्मालाई पक्राउ गर्न परमादेश

जनकपुर/जलेश्वर - विभिन्न मुद्दामा संघीय प्रहरीसँग टकरावमा उत्रिएको प्रदेश सरकार र प्रहरीबीच एकपटक फेरि घम्साघम्सी पर्ने संकेत देखिएको छ ।

उच्च अदालतबाट प्रदेश सरकारका एक राज्यमन्त्रीसमेतलाई पक्राउ गर्न प्रहरीलाई परमादेश भएपछि विवाद अझ चुलिने खतरा बढेको हो । उच्च अदालत जनकपुरले सशस्त्र प्रहरीका असई थमनबहादुर विक हत्याका आरोपितलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा उक्त कार्यालयका प्रमुखका नाममा मंगलबार परमादेश जारी गरेको छ ।

जिल्ला अदालतको आदेशलाई बेवास्ता गर्दै महोत्तरी प्रहरीले आरोपितलाई पक्राउ गर्न आलटाल गरेको भन्दै मृतककी श्रीमती शोभा गहतराजले चार महिनाअघि उच्च अदालत जनकपुरमा रिट दायर गरेकी थिइन् । उक्त रिटउपर सुनुवाइ गर्दै न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र डा. रवि शर्मा अर्यालको संयुक्त इजलासले मंगलबार जिल्ला प्रहरी कार्यालय र उक्त कार्यालयका प्रमुखका नाममा आरोपितलाई पक्राउ गर्न परमादेश जारी गरेको हो।

असई थमनबहादुर विकको हत्या मुद्दामा उच्च अदालत जनकपुरबाट प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गरी अदालतमा पेस गर्न महोत्तरी प्रहरीका नाममा आदेश भएको हो।

मधेश आन्दोलन क्रममा २०७२ भदौ २५ मा आन्दोलनकारीले महोत्तरीको जलेश्वरस्थित सशस्त्र प्रहरीको जलसागर गणमा कार्यरत असई विकको हत्या गरेका थिए । उक्त घटनामा संलग्न भएको आरोपमा मृतकका दाजु प्रेमबहादुर विकले असोज १ मा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा २८ जनाको नाम किटेरै जाहेरी दर्ता गराएका थिए । सोही जाहेरी आधारमा जिल्ला अदालतले आरोपितलाई बयानका लागि पेस गर्न आदेश गरेको थियो । २८ जनामध्ये प्रहरीले अहिलेसम्म तीनजनालाई पक्राउ गरेको छ । तीमध्ये सञ्जय साह र प्रमोद साह पुर्पक्षका लागि कारागारमा छन् भने मोहन ठाकुर तारेखमा छन् । अन्य आरोपित फरार रहेको भन्दै प्रहरीले पक्राउ गरेको छैन ।

महोत्तरी प्रहरीले फरार भनेका अरोपित अभिराम शर्मा हालै प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन् । उनी राजपाका नेता हुन् । उनले एक साताअघि मात्रै शपथग्रहण गरी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । अर्का आरोपित महोत्तरी खैरबनीका कौशलकुमार यादव संघीय समाजवादी फोरमबाट प्रदेश सांसद छन् । शर्मा महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ (१) र यादव महोत्तरीकै ४ (१) बाट निर्वाचित प्रदेश सांसद हुन् ।आरोपितमध्येका राजपाका स्थानीय नेता शंकर शाही भनिने रामशंकर मिश्र जलेश्वर नगरपालिकाका मेयर छन् । आरोपित राजपाकै लक्ष्मी महतो प्रदेशसभा सदस्य पदमा महोत्तरी १ (१) बाट झिनो मतान्तरले पराजित भएका हुन् । उनीहरू खुलेआम घुमफिर गर्दा पनि प्रहरीले अदालतको आदेशसमेतलाई बेवास्ता गरी पक्राउ गर्न आलटाल गरेको भन्दै मृतककी पत्नी गहतराजले बारम्बार गुनासो गर्दै आएकी थिइन् ।

यसअघि अदालतले गहतराजको रिटउपर सुनुवाइ गर्दै महोत्तरी प्रहरीको नाममा कारण देखाऊ आदेश गरेको थियो । जवाफमा महोत्तरी प्रहरीका प्रमुख एसपी कुवेर कडायतले रिटमा झुटो अभियोग लगाइएको जिकिर गर्दै उक्त रिट खारेजीको माग गरेका थिए ।मंगलबार प्रहरीका नाममा उच्च अदालतले परमादेश जारी गरेको छ । सो आदेशपत्र पाएपछि पाउनासाथ कार्यान्वयनमा जाने कडायतले बताए । ‘अदालतले परमादेश जारी गरेको अनौपचारिक खबर पाएको छु । परमादेशबारे लिखित जानकारी आएपछि कार्यान्वयन गर्छु,’ एसपी कडायतले भने ।

प्रकाशित: १८ श्रावण २०७५ ००:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App