८ वैशाख २०८१ शनिबार
समाज

आयोजना नै जोखिममा

बाँकेको ढकेरी क्षेत्रमा भत्किने अवस्थामा पुगेको सिक्टाको पश्चिम मूल नहर। तस्बिर : अर्जुन/नागरिक

नेपालगन्ज - सिक्टा सिँचाइ आयोजना परीक्षण गर्ने क्रममा दुई वर्षअघि मूल नहर भत्कियो। बाँके ढकेरीस्थित झिझरी खोलाछेउमा भत्किएको मूल नहरलाई त्यतिबेला आयोजना कार्यालय र ठेकेदारले हतारमा मर्मत गरे। तर, नहरको अन्य अवस्थाबारे चासो देखाएनन्। दुई वर्षसम्म मूल नहरको अवस्था परीक्षण भएन। गत साता सिक्टाले नहर परीक्षण गर्न खोज्दा ढकेरीस्थित चंगाई नालाछेउमा भत्कियो। भत्केको नहरलाई आयोजना कार्यालयले यसपटक पनि हतारमा मर्मत गरिसकेको छ। तर, भत्केको स्थानबाहेक अन्य ठाउँको अवस्थाबारे आयोजना सम्बद्ध अधिकारीले चासो दिएका छैनन्।

पश्चिम मूल नहरअन्तर्गत १७.७ देखि ३५ किमिको बीचमा पर्ने नहरका अधिकांश ठाउँमा भत्किने अवस्थामा पुगेको छ। नहरछेउमा रहेको माटो बगेर ठुल्ठुला भ्वाङ परेका छन् भने स्लोप चर्किएका छन्।

राप्तीसोनारी–९ ढकेरीका स्थानीय हरि रेग्मीले मूल नहरको धेरै ठाउँ भत्किने अवस्थामा पुगेको बताए। ‘जहाँ माटो खराब छ, त्यहाँ धेरै स्थानमा नहर भत्किने अवस्थामा पुगिसकेको छ’, उनले भने, ‘आयोजनाले समयमै ध्यान दिनुपथ्र्यो, त्यो हुन सकेको छैन।’ घुलनशील माटो परीक्षण गरेर पहिल्यै नहर निर्माण गरेको भए यति चाँडै भत्किने समस्या नआउने रेग्मी बताउँछन्।

पश्चिम मूल नहरअन्तर्गत १७.७ देखि ३५ किमिको बीचमा पर्ने नहरका अधिकांश ठाउँमा भत्किने अवस्थामा पुगेको छ। नहरछेउमा रहेको माटो बगेर ठुल्ठुला भ्वाङ परेका छन् भने स्लोप चर्किएका छन्।

उक्त क्षेत्रमा बुधबार स्थलगत अनुगमन गर्दा सरोकारवाला टोलीले यस्तो तथ्य फेला पारेको हो। अनुगमनको नेतृत्व गरेका विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले सिक्टाको नहर जताततै भत्किने अवस्थामा पुगेको बताए । ‘राष्ट्रिय गौरवको आयोजनाको अवस्था देख्दा साह्रै चिन्ता लाग्यो’, उनले भने, ‘नहर हेर्दा दर्जनौं ठाउँ भत्किने अवस्थामा पुगेको छ, यति ठूलो आयोजना भत्किँदासमेत सरकारले चासो नबढाउनु दुःखद हो।’

मूल नहरको दुवै साइडबाट माटो बगेर स्लोप भत्किने अवस्थामा पुगेको र यसले सरकारमाथि ठूलो आर्थिक भार थप्ने उनले बताए। श्रेष्ठले भने, ‘दुईतीन किलोमिटर क्षेत्र अनुगमन गर्दा दर्जनौं ठाउँ भत्किने अवस्थामा पुगेको देखियो। पूरै नहरको अवस्था त झन् के होला?’ सरकारले यथाशक्य चाडो संसदीय छानबिन समिति गठन गरेर सिक्टाको वास्तविक कमजोरी बाहिर ल्याउनुपर्ने उनले बताए। नहर निर्मित क्षेत्रका स्थानीय बासिन्दा त्रासमा बाँच्नुपरेको श्रेष्ठले बताए। आयोजनाका इन्जिनियरहरु पनि पश्चिम मूल नहर ठाउँठाउँमा भत्किने अवस्थामा पुगेको स्वीकार गर्छन्।

अगैयास्थित आयोजनाको ब्यारेजमा कार्यरत इन्जिनियर विजयकुमार झाले करिब १४ किलोमिटर मूल नहरमा समस्या देखापरेको बताए। ‘एक ठाउँमा भत्किन्छ, त्यो ठाउँमा मर्मत गरेपछि अर्को ठाउँमा भत्किन थाल्छ’, उनले भने, ‘पानी परेपछि घुल्ने र सुख्खा भएपछि ढुंगाजस्तो कडा हुने डिसपर्सिभ सोयलका कारण समस्या बल्झिरहेको छ।’

घुलनशील माटो कटान भएको धेरै ठाउँमा नहर भत्किने अवस्थामा पुगेको इन्जिनियर झाले बताए। ‘नहर बनाउँदा कमजोर माटो प्रयोग गरियो’, उनले भने, ‘आयोजनाको लागत बढे पनि त्यतिबेला राम्रो माटो प्रयोग गरेको भए यो समस्या आउने थिएन।’ आयोजना कार्यालयले मूल नहरको विस्तृत अध्ययन गरेर समाधानको उपाय खोज्न चासो दिएको पाइदैन । ‘जब नहर भत्किन्छ, त्यसपछि स्टिमेट गराएर बजेट सक्ने काम गरिन्छ,’ एक कर्मचारीले भने, ‘भत्किनुभन्दा पहिल्यै सावधानी अपनाएको भए समस्या बल्झिरहने थिएन।’ सरकारले हरेक वर्ष सिक्टाका लागि एक अर्बभन्दा बढी रुपैयाँ विनियोजन गर्दै आएको छ। बजेट अभावको समस्या कहिल्यै नखेपेको सिक्टामा हस्तान्तरण नहुँदै मूल नहर भत्किने समस्या भने कर्मचारीको टाउको दुखाइ बनेको छ।

आयोजनाले सम्पन्न गर्ने कुल ४५.२५० किमि पश्चिम (दायाँ) मूल नहरमध्ये १७.७ किमिदेखि ३५ किमिसम्मको दोस्रो खण्ड समस्याग्रस्त अवस्थामा छ। सिटिसी कालिका जेभीले निर्माण गरेको ‘आइसिबी–टुु’ ठेक्काअन्तर्गत १७.७ देखि ३५ किमिसम्मको करिब १४ किमि क्षेत्रसम्म घुलनशील माटो (डिसपर्सिभ सोयल) प्रयोग भएको सम्बद्ध इन्जिनियर बताउँछन्। २०६३ सालमा निर्माण सुरु भएको आयोजनामा हालसम्म १४ अर्ब ७० करोड रकम खर्च भइसकेको छ। आयोजनाको पश्चिम (दायाँ) मूल नहरमार्फत ३३ हजार सात सय ६६ हेक्टर तथा साढे ५३ किमि पूर्वी (बायाँ) मूल नहरमार्फत राप्तीपारिको कुल नौ हजार हेक्टर क्षेत्र सिँचाइ गर्ने सरकारको लक्ष्य छ।

प्रकाशित: १८ श्रावण २०७५ ००:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App