coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

'ह्वाइट सन'लाई भेनिसमा अवार्ड

काठमाडौं- दीपक रौनियारद्वारा निर्देशित फिल्म 'ह्वाइट सन'ले ७३ औं भेनिस फिल्म फेस्टिभलमा 'इन्टरफिल्म अवार्ड' जितेको छ। इटालीको भेनिसमा हुने उक्त संसारकै सबैभन्दा पुरानो फिल्म फेस्टिभलको होराइजन (ओरिजान्टी) सेक्सनतर्फ 'ह्वाइट सन' सहभागी भएको थियो।

इन्टरनेसनल इन्टरचर्च फिल्म अर्गनाइजेसनले प्रदान गर्ने भेनिसका थुप्रै स्वायत्त अवार्डमध्ये एक हो इन्टरफिल्म अवार्ड। अर्गनाइजेसनले संसारका प्रतिष्ठित १८ वटा फिल्म फेस्टिभलमा यो अवार्ड प्रदान गर्दै आएको छ। धार्मिक विषयमा बहस पैदा गराउने फिल्महरुमध्ये उत्कृष्ट एकलाई यो अवार्ड प्रदान गरिन्छ।

'ह्वाइट सन'ले हिन्दु गाउँमा संस्कृति, जाति, राजनीति र पितृत्वका मुद्दा उठाउँदै धार्मिक पक्षबारे बहस उठाएकोमा इन्टरफिल्म अवार्ड पाएको हो। भेनिसमा यसपालि छैटौं संस्करणको इन्टरफिल्म अवार्ड प्रदान गरिएको हो। जर्मनीका, इटाली, स्विट्जरल्यान्ड र फ्रान्सका फिल्मकर्मी सम्मिलित निर्णायक समितिले इन्टरफिल्म अवार्डको टुंगो लगाएको थियो।

शनिबार सम्पन्न भएको ११ दिने भेनिस फिल्म फेस्टिभलको ओरिजान्टी सेक्सनमा १९ फिल्म छानिएको थियो। ओरिजान्टीलाई भेनिसको अफिसियल कार्यक्रम मानिन्छ। भेनिसको दोस्रो महŒवपूर्ण सेक्सन हो यो।

दुई भाइबीचको फरक राजनीतिक आस्थाले पैदा हुने वैचारिक द्वन्द्वमा फिल्म आधारित छ। निर्देशक रौनियार र डेभिड बार्करको पटकथा रहेको 'ह्वाइट सन'मा दयाहाङ राई, आशा मगराती, रवीन्द्रसिंह बानियाँ, अमृत परियार, सुमी मल्ल, दीपक क्षेत्री र देशभक्त खनालले मुख्य भूमिकामा अभिनय गरेका छन्। नेदरल्यान्ड, कतार र अमेरिकाको समेत लगानी रहेको यो फिल्म क्यानडाको टोरन्टो फिल्म फेस्टिभल र कोरियाको बुसान फिल्म फेस्टिभलमा समेत छनोट भइसकेको छ।

रौनियारले यसअघि निर्देशन गरेको 'हाइवे' सन् २०१२ मा जर्मनीको ६२ औं बर्लिन फिल्म फेस्टिभलमा छनोट भएर चर्चा कमाउन सफल भएको थियो।

प्रकाशित: २७ भाद्र २०७३ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App