coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दशैंअघि फोहरबाट बिजुली

काठमाडौं- काठमाडौं महानगरपालिकाले दशैंअघि नै फोहरबाट बिजुली उत्पादन गर्ने भएको छ। गत साता भारतबाट बिजुली उत्पादन गर्ने मेशिन आइपुग्नासाथै प्राविधिक टोलीले जडान थालिसकेको छ। दुईवटै डाइजेस्ट प्लान्ट मेसिन जडान भइरहेको टेकुस्थित महानगरपालिकाको फोहर थुपार्ने ठाउँ (ट्रान्सपोर्ट एक्सन स्टेसन)बाटै बिजुली उत्पादन गरिने महानगरपालिकाले जनाएको छ। नेपालमा फोहरबाट बिजुली उत्पादन गर्न लागिएको यो पहिलो पटक हो। 'नमुना परियोजनाका रुपमा फोहरबाट बिजुली निकाल्ने तयारी भइरहेको छ,' महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, 'दशैंसम्ममा उत्पादन थाल्ने गरी काम भइरहेको छ।' महानगरपालिका वातावरण महाशाखाका अनुसार प्राविधिक टोलीले अहिले मेसिन जडान तथा उत्पादन प्रक्रियासम्बन्धी काम गरिरहेको छ।

फोहर व्यवस्थापनसँगै ऊर्जा उत्पादन गर्न युरोपयन युनियन (इयु)सँग सहकार्यमा सन् २०१३ मा महानगरको वातावरण महाशाखाले फोहरमैला व्यवस्थापन परियोजना सुरु गरेको थियो। इयु ८० प्रतिशत लगानी गर्न तयार भएपछि महानगरपालिकाले बाँकी लगानी गरी परियोजना सुरु गरेको थियो। परियोजनाको कुल लागत करिब ३ करोड रुपैयाँ छ। महानगरले भारतबाट खरिद गरेको दुई वटा बिजुली उत्पादन मेसिनको मूल्य १ करोड ८२ लाख रुपैयाँ छ।

महाशाखा प्रमुख तथा परियोजना निर्देशक रबिमान श्रेष्ठका अनुसार काठमाडौंमा दैनिक पाँच सय टन फोहरमैला संकलन हुन्छ। दैनिक तीन टन फोहर प्रशोधन गरी दुई मेसिनले करिब १४ किलोवाट बिजुली उत्पादन गर्ने श्रेष्ठले बताए।

मेसिनमा ग्यास, पानी र फोहरका लागि तीन छुट्टाछुट्टै पाइप जडान गरिएको छ। फोहर प्रशोधनबाट निस्कने ग्यास बेलुनमा जम्मा हुनेछ। पानी र फोहर ट्यांकीमा जम्मा हुनेछ। दैनिक ३ टन फोहर प्रशोधनबाट निस्कने ९६ किलो ग्यासबाट कम्तीमा १४ किलोवाट बिजुली उत्पादन गर्न सकिन्छ। बेलुनमा जम्मा भएको ग्यासबाट जेनेरेटरले बिजुली उत्पादन गर्छ।

'३ टन फोहरबाट २ सय ५० एमक्यू ग्यास, २ सय केजी मल र १५ सयदेखि ३ हजार लिटर पानी उत्पादन हुन्छ,' श्रेष्ठले भने, 'फोहर पेलेर निस्केको पानी पिउन योग्य नभए पनि गाडी धुन, बगैँचामा हाल्न सकिन्छ भने मल खेतीमा प्रयोग गर्न सकिन्छ।' उत्पादित बिजुली कार्यालय र सडक बत्तीमा प्रयोग गर्ने महानगरको योजना छ।

ग्यासको प्रयोग बिजुली उत्पादनका साथै खाना पकाउन पनि गरिनेछ। भान्साबाट निस्कने फोहर, तरकारी बजार, फलफूल बजारका फोहर छुट्याएर त्यसबाट ग्यास उत्पादन गरिनेछ। फोहरमा मिसिएका प्लास्टिक, फलाम, तारजस्ता फोहर भने ग्यास उत्पादनमा काम लाग्दैनन्।

परियोजना सफल भए वैकल्पिक ऊर्जा उत्पादन तथा फोहर मैला व्यवस्थापनमा समेत सहयोग पुग्ने महानगरको दाबी छ। श्रेष्ठका अनुसार महानगरका सबै वडामा यस्ता मेसिन जडान गरी ग्यास र विद्यु उत्पादन थालिने छ।

वैकल्पिक ऊर्जाका रूपमा भारत, चीन, जापानलगायत विकसित देशले यसको प्रयोग गर्दै आएका छन्। यहाँ पनि होटल, रेस्टुरेन्ट, स्कुलजस्ता धेरै फोहर उत्पादन हुने ठाउँमा यसरी ग्यास र विद्युत उत्पादन गर्न सकिने श्रेष्ठ बताउँछन्। उनका अनुसार होटल तथा पशुपति क्षेत्र जस्ता फोहर धेरै उत्पादन हुनेले यस्तो मेसिन सञ्चालन गर्नुपर्ने श्रेष्ठ बताउँछन्। देशभर नगरपालिकाले पनि मेसिन राखे ग्यास र बिजुली उत्पादनसँग फोहर व्यवस्थापन समेत सहज हुने उनको भनाइ छ।

प्रकाशित: २७ भाद्र २०७३ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App