८ वैशाख २०८१ शनिबार
समाज

'देश भित्रै शरणार्थी भएँ'

पुर्णे पुन

रोल्पा- ‘खानेमा मेरो नाम काँ पर्ला। म सोझो मगर परे। २०५६ साल वैशाख २२ गतेबाट घर छोडेको तिनै माओवादीलाई पनि थाहा छ। श्रीमती र छोरी बोकेर त्यतिका बर्ष आफ्नै जिल्लामा शरणार्थी जस्तो भएर बसे। तर बिस्थापितको राहत पाउनेमा मेरो नाम छैन। धेरै छुटेका छन। राहत खानेमा गैर विस्थापितको नाम पो छ। हामी त सधै शरणार्थी मात्र बन्यौ।’ तत्कालीन माओवादी द्धन्द्धका क्रममा आन्तरीक विस्थापित पुर्णे पुनले भने। सुनछहरी गाउँपालिका ८ जेलवाङका ६६ वर्षिय पुन बिगत १९ बर्ष देखि सदरमुकाम लिवाङमै छन्।

तत्कालीन माओवादी सशस्त्र द्धन्द्धका क्रममा बिस्थापित नै नभएकाहरुलाई समेत राहत आएको तर वास्तबिक विस्थापितको नाम काटिएकोमा पुनको गुनासो छ। गत साल पनि विस्ताथापित नभएकाको नाम बढि आएको भन्दै राहत फर्काएको जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्षको अन्त्यमा राहतका नाममा ५ करोड ४ लाख ८८ हजार बितरण गरेको छ। ३ सय ४१ परिवारका १७ सय ८२ जनाको नाममा जनहि २५ हजारका दरले राहत आएकोमा धेरैजसो पीडितको नाम काटिएको विस्थापितहरुको आरोप छ।

‘मेरा कुरा त कति छन् कति । जे भए पनि शान्ति स्थापना पछि अलि सजिलो भो। कम्तीमा मजदुरी गरेर सुख मनले खान पाईयो । अहिले त अलि बुढो भए । श्रीमतीले ज्याला मजदुरी गर्छ । उसैले भए पनि पालेको छ ।’

‘उ बेला भएको कति राम्रो ढुङ्गे घर जलाईदिए। दुहुनो भैसि, १३/१४ वटा गाई, ३०/३२ वटा भेडा बाख्रा सबै काटेर खाईदिए। घरमा रहेको अन्नपात, लुगालत्ता सबै लुटे, जलाईदिए। एकजोर कपडा लगाएर सदरमुकाम आएको थिए। बचेको त्यत्ति हो’ उनले सुनाए। बारम्बार गाउँ छोड्न धम्की आईरहँदा स्थानीय प्रहरी चौकिको छेउछाउ लुकेर बसेका उनि २०५६ साल वैशाख २० गते स्थानीय चुनाव सकाएर २२ गते चौकि उठे संगै जिल्ला मै शरणार्थी जीवन बिताउन थाले।

एकदुई महिना सदरमुकाम लिवाङ बसेर २०५६ सालमै सुलिचौर झरेका पुनले २०५८ सालसम्म त्यतै मजदुरी गरेर जीवन विताए। ‘२०५८ सालमा सुलिचौरको पुलिस चौकि उठेसंगै म पनि फेरी लिवाङ बसाई सरे। के को यहाँ आउनु झनै दु:ख सुरु भो। माओवादीले गाउँबाट विस्थापित बनायो, यता फेरी सेनाले गोली बोकाएर गाउँगाउँ हिडाउन थाल्यो। २०५९ सालको दशै त लिस्ने लेकमा पो मानियो। उतैबाट हेलिकप्टरमा रुकुम मुसिकोट अनि पैदल फेरी रोल्पा ल्यायो।’ विगतको कथा सुनाउँदै पुनले थपे।

‘मेरा कुरा त कति छन् कति । जे भए पनि शान्ति स्थापना पछि अलि सजिलो भो। कम्तीमा मजदुरी गरेर सुख मनले खान पाईयो । अहिले त अलि बुढो भए । श्रीमतीले ज्याला मजदुरी गर्छ । उसैले भए पनि पालेको छ ।’ लामो समय राप्रपाको जिल्ला उपाध्यक्ष बनेका पुन: पार्टी विभाजन पछि राजनीतिमा निष्कृय जस्तै छन्। ‘११ वर्ष शरणार्थी ‐बिस्थापित) संगठनको जिल्ला अध्यक्ष पनि बने। हामीलाई सरकारले उपेक्षा गरेको विरोधमा आन्दोलन गर्न काठमाडौ पनि गए। तर आज सरकारले युद्ध बेलाका विस्थापितलाई दिने भनेको पैसा म जस्ताले पाएनौ।’

२०५६ सालमा घरबाट विस्थापीत भएका पुन शान्ति स्थापना भएसंगै करिब एक दशक पछि जिल्ला स्तरीय राजनीतिक नेतृत्व र मानव अधिकारवादीका साथमा लागेर घर गए। ‘घर के जानु ढुङ्गे घरको निसाना मात्रै थियो। भएको सबै लुटिसकेका। न खाने थाल, न सुत्ने बास। तीन चार दिन बसेर यतै फर्कें। भएको सबै सकिए पछि आफ्नो भनिएको गाउँ आफैलाई बिरानो लाग्यो।’ बाझो जग्गामा झार र रुख उम्रिएको देखे पछि बिरक्तीएका पुन गाउँमा रहन सकेनन्। ‘अहिले पनि चार कित्ता बाँझो छ। २ कित्ता छोरीले कमाउँछ। अर्को चार कित्ता अधिया दिएको छु। बाँकि जग्गा पहिरोले खाईसक्यो।’

२०३९ सालमा जेलवाङ गाउँपञ्चायतको उपप्रधान भएका उनी २०४३ सालमा प्रधान पनि बने। उ बेला र अहिले हेर्दा ईमानदारीतामा धेरै बदलाब आएको बताउने पुन हिजो आज निरास छन। ‘बुद्धि नभएकाले पञ्चहरु गलत भने। हिजो हामीलाई बिभिन्न आरोप लगाएर चार्नेहरुले मलाई जे भन्थे आज उनिहरुले त्यहि गरिरहेका छन्' उनि भन्छन ‘जनताका लागि लडेका भनिएकाहरुको ताल देखेर दया लाग्छ । म प्रधान हुदा ईमानदार थिए । हामी कानुनसंग डराउँथ्यौ तर अहिलेकालाई त लाज डर केहि छैन।’

तत्कालीन माओवादी द्धन्द्धमा परेका उनकै कार्यकर्ताको बिचल्ली देखेका पुन भन्छन ‘बिचरा ख्याल ख्यालैमा लड्न लगिएकाहरु अहिले बिचल्लीमा छन। कसैका आँखा छैन, हात छैन, खुट्टा छैनन्। कतिले सरिरमा गोलिबोकेर हिेडेका छन। उनलाई नहेरेर नेता कार्यकर्ता हेर्नेले हामीलाई के हेर्थे।’ आफ्नो सर्बश्व लुटिएको भोगेका पुन संग त्यति ठूलो गुनासो पनि छैन। ‘त्यो बेला लडाई थियो । जे भयो भयो । अब त सबैलाई समान गरे हुन्थ्यो। हामीलाई नहेरे पनि उनकै पार्टीका अपाङ्ग घाईतेलाई सम्म हेरे नि हुने हो। उनिहरु पनि त मान्छे हुन्।’

चार बर्ष अगाडी बिवाहित छोरि चट्याङ लागेर मरे पछि असाध्यै मन दुखाएका पुन प्रहरीमा जागिर खाने छोरो पनि ३ बर्ष अगाडि सल्यानमा मरे पछि झनै बिछिप्त बने। ‘चार बर्षको अन्तरमा ७ जना आफन्ती गुमाए। म मर्ने ठाउँमा छोरा, छोरी, ज्वाई पो मरे। पहिला छोरी मरि, अर्को बर्ष छोरो मर्‍यो। पोहर बैनी ज्वाई पनि मरे। चार बर्षको बिचमा सासु, ससुरा, भान्जी, सालाको श्रीमतीलाई गुमाए। एउटै छोरो पनि मरिगो। बुहारी विदेश गएको छ। नातिहरु दाङ मावलीमा बस्छन।’

पञ्चायतकालमा दाङका रणबहादुर शाहले खोलेर रक्सीको डिस्टलरी राखिएको घरमा बसिरहेका पुनसंग भविष्यको योजना केहि छैन। उनी समयले जता लान्छ त्यतै हिड्ने सोचमा छन्। रोल्पामा पुर्णे पुन र उनि जस्ता धेरै द्धन्द्ध पीडितहरु आज पनि असहज जीवन यापन गरिरहेका छन्।

जिल्लामा जम्मा विस्थापित कति हुन र कतिले राहत पाएनन् भन्ने आधिकारीक तथ्याङ्क कोहि कसै संग नभए पनि स्थानीय शान्ति समितिले केहि नाम भने संकलन गरेको छ। ‘२०७१/०७२ सालमा करिब ३५ सय विस्थापित सुचिकृत भएकोमा अहिले १७ सय ८२ जनाको मात्र राहत आएको छ। राहत कार्यदलले पीडितको निवेदनहरुमा प्रयाप्त रुपमा छानबिन गर्न नसकेर यस्तो भएको हुन सक्छ’ मानव अधिकारवादी तथा स्थानीय शान्ति समितिका पूर्व संयोजक खेम बुढा भन्छन,‘बाँकि अरु त छुटेकै छन्।’

                                 

 

 

प्रकाशित: १७ श्रावण २०७५ ०६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App