न्युयोर्क– संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेस नागासाकी समारोहमा सहभागी हुन आगामी मंगलबार जापान जाने भएका छन्।
जापानका प्रधानमन्त्री सिन्जो आबेसँग भेटघाट गर्न र ७३औं नागासाकी समारोहमा सहभागीता जनाउन महासचिव गुटेर्रेस जापान जान लागेका हुन् । जापानको नागासाकीमा यही अगष्ट ९ मा नागासाकी समारोहको आयोजना गरिएको संयुक्त राष्ट्रसंघीय कार्यालयले जनाएको छ । जापानको नागासाकी नगरमा सन् १९४५ को अगष्ट ९ मा अमेरिकी सेनाले एटम बम प्रहार गरेको थियो । दोस्रो विश्वयुद्धका क्रममा प्रहार गरेको सो बमबाट त्यहाँ ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो ।
आगामी मंगलबार सो आक्रमणको ७३ वर्ष पूरा हुँदैछ । सोही अवसरमा नागासाकीमा उक्त बम हमलाको ७३औं स्मरणस्वरुप भव्य समारोहको आयोजना गरिँदै छ । एटम बम हानेर क्षति पु¥याइएको सहर नागासाकीमा पुग्ने गुटर्रेस पहिलो राष्ट्रसंघीय महासहचिव हुने भएका छन् । यसअघि सन् २०१० मा राष्ट्रसंघका पूर्व महासचिव बान कि मुन जापानको अर्काे सहर हिरोसीमाको भ्रमणमा गएका थिए । जापानको अर्काे सहर हिरोसीमामा पनि दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्ट ६ मा अर्काे शक्तिशाली एटम बम प्रहार गरिएको थियो । नागासाकी भन्दा शक्तिशाली मानिएको सो आक्रमणमा परी लाखौं नागरिक हताहत भएका थिए ।
यी दुई आक्रमणपछि अमेरिकाले जापानमाथि विजय हासिल गरेको थियो र दोस्रो विश्वयुद्धको अन्त्य भएको घोषणा गरिएको थियो । यस विषयमा राष्ट्रसंघ मुख्यालयमा मंगलबार भएको पत्रकार सम्मेलनका क्रममा राष्ट्रसंघीय प्रवक्ता एरी कानेकोले महासचिव गुटेर्रेसले नागासाकी भ्रमण गर्ने र त्यस अवसरमा उनले दिने सन्देशमा निःशस्त्रीकरणको विषय प्राथमिकतामा हुने बताइन् । महासचिव गुटेर्रेसले नागासाकीका अधिकारीहरुसँग भेटवार्ता गरी उनीहरुका समस्याका बारेमा जानकारी लिनुका साथै नागासाकीमा भएको नरसंहारको अनुभवबाट आगामी दिनमा निःशस्त्रीकरण अपनाउन के कसो गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल गर्ने प्रवक्ता कानेकोले बताइन् ।
भ्रमणका क्रममा महासचिव गुटेर्रेसले जापानका प्रधानमन्त्री सिन्जो आबेसँग पनि भेटवार्ता गर्ने प्रवक्ता कानेकोलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । जापान र संयुक्त राष्ट्रसंघको सम्बन्धका बारेमा पनि गुटेर्रेस र आबेबी कुराकानी हुने बताइएको छ । खासगरी निःशस्त्रीकरणका विषयका साथै हालैमात्र भएको उच्चस्तीय बैठकपछि उत्तर कोरियाले यस विषयमा गरेको प्रतिबद्धताको बारेमा पनि उनीहरु बीचमा कुराकानी हुने राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् ।
प्रकाशित: १७ श्रावण २०७५ ०३:२३ बिहीबार