coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

डान्स क्याम्पमा रमाउँदै विद्यार्थी

‘समर डान्स क्याम्प’ मा नाच सिक्दै स्कुलका विद्यार्थी ।तस्बिरः सविता /नागरिक

चितवन- भरतपुर महानगरपालिका वडा नम्बर ८ सापकोटा चोककी १४ वर्षीया शिक्षिता न्यौपाने स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययन गर्छिन् ।

नृत्यमा रुची राख्ने शिक्षिता स्कुलमा आयोजना हुने अधिकांश सांस्कृतिक कार्यक्रममा नियमित सहभागिता जनाएर पुरस्कार पनि पाएकी छन् । आफ्नो नृत्य कलालाई निखार्ने चाहनामा शिक्षिता यतिबेला डान्स क्याम्पमा छिन् ।
नारायणी कला मन्दिरले कला मन्दिरमा आयोजना गरेको ‘समर डान्स क्याम्प २०७५’ मा शिक्षिता ‘वान, टु, थ्री, फोर’ को ताललाई पछ्याइरहेकी छन् । दैनिक एक घण्टा चल्ने क्याम्पमा उनी हिपहपदेखि शास्त्रिय नृत्यको प्रशिक्षण लिइरहेकी छन् । यो क्याम्पमा शिक्षिता विद्यालयका दुई सहकर्मीसँगै सहभागी भइरहेकी छन्।

‘पहिले ट्रेनिङ सेन्टरमा एक महिना नृत्य सिकेको थिएँ’ डान्स क्याम्पसमा सहभागीहरूसँग रमाइलो गर्दै नृत्य सिकिरहेकी उनले भनिन्, ‘सोचेजस्तो नसिकाएपछि महिना दिन नपुग्दै छाडेकी थिएँ । डान्स सिकेर डान्सिङमा रमाउन मन छ ।’ शिक्षिता जस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ आँपटारीका १६ वर्षे मञ्जिल विक पनि डान्स क्याम्पमा सहभागी छन् । आदिकवि भानु माध्यामिक विद्यालयमा कक्षा नौमा पढिरहेका उनी क्याम्प सुरु भएको तीन दिनपछि क्याम्पमा सहभागी भएका हुन् । स्कुलबाट सहकर्मीहरू डान्समा सहभागी भएको थाहा पाएपछि स्कुललाई अनुरोध गरेरै मञ्जिल क्याम्पमा आएका थिए।

उनको स्कुलबाट तीन छात्रसहित १० जना क्याम्पमा सहभागी छन् । स्कुलमा हुने सांगीतिक कार्यक्रममा आफ्ना साथीहरूले राम्रो नृत्य गर्दा उनलाई पनि त्यस्तै राम्रो नृत्य गर्न मन लाग्थ्यो । नाच नसिकेको कारण राम्रो नाच्न नसक्ने हो कि भन्ने डरले उनी सांस्कृतिक कार्यक्रममा सहभागी भइनन् । ‘जहाँ जुनसुकै ठाउँमा पनि नाचलाई मनोरञ्जन र रमाइलो गर्ने कलाका रुपमा लिएकाले नाच सिक्न मन लागेको हो,’उनले भने,‘यसअघि मैले नाचको कक्षा लिएको थिइँन । घरमा नै केही अभ्यास गरेपनि नाच्न सक्छु भन्ने आँट पनि ममा थिएन।’

मञ्जिलकी दिदी डान्स ट्रेनिङ सेन्टरमा नृत्य सिक्न जाँदा उनी पनि कहिलेकाहिँ त्यहाँ पुग्थे । अरु नाचेको देखेर उनी रमाइलो मान्थे । हिपहप नाच मन पराउने उनी क्याम्पमा सहभागी भएपछि स्कुलका कार्यक्रममा सहभागी हुनसक्ने आँट मञ्जिललाई मिलेको छ । ‘धेरैजना भएर सँगै सिकिरहेको छौं’ उनले भने, ‘अरुका अगाडि नाच्न अप्ठ्यारो लाग्ने बानी हट्दैछ ।’ शिक्षिता र मञ्जिलजस्तै ४० जनाका स्कुलका विद्यार्थी समर डान्स क्याम्पमा सहभागी छन्।

कला मन्दिरका अध्यक्ष अमर प्रधानले स्कुलमा अध्ययनरत बालबालिकाको बिदाको समयलाई सदुपयोग गर्नको लागि क्याम्पको आयोजना गरिएको बताए । उनका अनुसार क्याम्पमा एक बोर्डिङ स्कुल र सात सरकारी विद्यालयका विद्यार्थी सहभागी छन् । विद्यालयका विद्यार्थीलाई लक्षित गरेर कला मन्दिरले पहिलो पटक निःशुल्क आयोजना गरेको डान्स क्याम्पमा विद्यार्थीले लोक, आधुनिक र शास्त्रिय नाच सिकिरहेका छन्।प्रधानले भरतपुरका धेरै विद्यालयका विद्यार्थी सहभागी गराउने योजना भएपनि यो समयमा केही विद्यालयमा मात्र वर्षे बिदा भएकाले थोरै विद्यालय मात्र सहभागी भएको बताए । साउन १० गतेबाट सुरु भएको क्याम्प साउन २४ गतेसम्म सञ्चालन हुनेछ । विद्यार्थीलाई कला मन्दिरका नृत्य प्रशिक्षक सुमित लामाले प्रशिक्षण दिइरहेका छन् ।



 

प्रकाशित: १७ श्रावण २०७५ ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App