नारायणगढ–मुग्लिन सडक

पाँच वर्षमा १२५ को मृत्यु, ४३२ घाइते

बिहिबार, १७ साउन २०७५, ०७ : ४५ सविता श्रेष्ठ

चितवन - नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी दुर्घटनामा परेर पाँच वर्षमा १ सय २५ जनाको ज्यान गएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पछिल्लो पाँच वर्षमा भएका १ सय ७२ वटा दुर्घटना भएका हुन् । जसमा ४ सय ३२ जना घाइते भएका थिए।

गत आर्थिक वर्ष २०७४/०७५ मा ५१ वटा सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको ट्राफिक कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। उक्त दुर्घटनामा १ सय ३१ जना घाइते भएका थिए । आर्थिक वर्ष ०७३/०७४ मा नारायणगढ– मुग्लिन सडकखण्डमा ३५ वटा दुर्घटना भएका थिए । जसमा ४७ जनाको ज्यान गएको थियो भने ९५ यात्रु घाइते भएका थिए। आर्थिक वर्ष ०७२/०७३ मा २८ दुर्घटना हुँदा १४ जनाको मृत्यु र ५२ जना घाइते भएका थिए। यस अघिको आर्थिक वर्ष ०७१/०७२ मा ३२ वटा दुर्घटना हुँदा २१ जनाको ज्यान गएको थियो भने ६९ जना घाइते भएका थिए। यस्तै, आर्थिक वर्ष ०७०/०७१ मा भने उक्त सडकखण्डमा २६ दुर्घटना हुँदा १५ जनाको मृत्यु तथा ८५ जना घाइते भएका थिए।

दुर्घटना कम गर्न सडकका आवश्यक ठाउँमा ट्राफिक चिह्न राखिएका छन् भने सवारीसाधनको तीव्र गतिलाई नियन्त्रण गर्न टाइम कार्ड लागू गर्ने तयारी पनि गरिएको छ।

यसैगरी पछिल्लो पाँच वर्षमा चितवनमा ९ सय ८ वटा सवारी दुर्घटना भएको र ५ सय ३१ जनाको ज्यान गएको तथ्यांक छ। उक्त दुर्घटनामा १ हजार ९ सय ५९ जना घाइते भएका थिए। यी दुर्घटनामध्ये ३० प्रतिशत दुर्घटना नारायणगढ–मुग्लिन सडकमा मात्र भएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ।

नारायणगढ–मुग्लिन सडकको दूरी ३६ किलोमिटर छ। यो सडकखण्डमा दुर्घटना जोखिम धेरै छ। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनदेखि मौवा खोलासम्म पनि बढी दुर्घटना हुने सडकमा पर्छ।

अहिलेसम्म भएका दुर्घटनाको तथ्यांक यी दुई सडकखण्डमा बढी दुर्घटना भएको देखिन्छ। भौगोलिक अवस्थाका कारण पनि दुर्घटनाको जोखिम धेरै भएको ट्राफिक प्रमुख गौतम बताउँछन्। अहिले पहाड फोरेर बाटो विस्तार गरेपछि हुन थालेको पहिरो झर्ने समस्याका कारण पनि दुर्घटना जोखिम बढेको उनको भनाइ छ। दुर्घटना कम गर्न सडक कार्यालयसँगको सहकार्यमा आवश्यक ठाउँमा ट्राफिक चिह्न राखिएका छन् भने सवारीसाधनको तीव्र गतिलाई नियन्त्रण गर्न टाइम कार्ड लागू गर्ने तयारी पनि गरिएको छ। अहिले पहिरो झरेर सडक अवरुद्ध भइरहने भएकाले वर्षात्पछि सडकखण्डमा टाइम कार्ड लागू गरिने ट्राफिक प्रमुख गौतमले जानकारी दिए।

सडकखण्डमा अहिले पनि राडर गनको प्रयोग गरेर तीव्र गतिमा सवारीसाधन चलाउनेलाई कारबाही गर्न सुरु भइसकेको छ। तीव्र गतिका कारण हुने सवारी दुर्घटना कम गर्न नारायणगढ–मुग्लिन सडक आयोजनाले सडकखण्डमा केबुल ब्यारियर सिस्टमसँगै अरू सेफ्टी ब्यारियर बनाइरहेको छ। यस्तै पुल क्षेत्रमा सवारीसाधनको गति नियन्त्रण गर्न रुम्बल स्ट्रिप निर्माण भइरहेको आयोजनाले जनाएको छ।

सवारीसाधनका शायरी मेटाउँदै ट्राफिक
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सवारीसाधनमा लेखिने शायरी तथा स्लोगन मेटाउने अभियान पनि थालेको छ। सवारीसाधनमा लेखिने असभ्य शायरी मेटाउन सुरु गरिएको ट्राफिक प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए।

सवारीसाधनमा धाक, धम्कीपूर्ण तथा अश्लिल शब्दमा लेखिएका शायरी मेटाउन थालिएको उनले बताए। कार्यालयको गोन्द्राङ र आँपटारीमा रहेका ट्राफिक बिटले सवारीसाधनमा लेखिएका शायरीहरू असभ्य भएको पाइएमा तत्काल मेटाउन लगाउने गरेको उनले जानकारी दिए। ठाउँ–ठाउँमा परिचालित हुने ट्राफिक प्रहरी टोलीले पनि यस किसिमका शायरी भेटेमा मेटाउन लगाउने गरेको उनले बताए।

सवारीसाधनमा सचेतनामूलक स्लोगन भने लेख्न पाइनेछ। ट्राफिक कार्यालयले प्रेसर हर्न राख्ने सवारीसाधन र साइलेन्सर मोडिफाइ गर्ने मोटरसाइकललाई समेत कारबाही गरिरहेको छ। गत वर्ष भदौ ६ गतेदेखि अहिलेसम्म १ हजार २ सय ९५ सवारीसाधनको प्रेसर हर्न झिकेर कारबाही गरिएको ट्राफिक प्रमुख गौतमले जानकारी दिए।

गत माघ ४ गते यता ३ सय ७४ मोटरसाइकललाई मोडिफाइ गरिएको साइलेन्सर झिक्न लगाइएको उनले बताए। राजमार्ग क्षेत्रमा तीनपांग्रे सवारीसाधन चलाउन रोक लगाएपछि म्याजिक भ्यानले मुडा राखेर यात्रु चढाउन थालेकाले मुडा हटाउने अभियान पनि थालिएको उनी बताउँछन्। यही साउन ७ गतेदेखि भरतपुर महानगरको राजमार्ग क्षेत्रमा तीनपांग्रे सवारीसाधन चलाउन रोक लगाइएको हो।

वर्षाले सडक बन्द भएपछि समस्या

सरिता श्रेष्ठ

धादिङ - सवारीसाधन चल्न नसक्दा सिद्धलेक गाउँपालिका –३, डुमिडाँडाका मीननारायण श्रेष्ठले बनाउन थालेको घर त्यतिकै छाडेका छन्। भूकम्पले घर भत्किएपछि घर बनाउन सुरु गरेका श्रेष्ठले डिपीसी गरेको घरमा गारो लगाउन इँटा र बालुवा लैजान सकेका छैनन्। ‘पानी परेर हिँड्न त नसकिने भएको छ, त्यस्तो बाटोमा गाडी त झन् चल्ने अवस्थै छैन,’ श्रेष्ठले भने, ‘सामान ल्याउन नपाउँदा बनाउन थालेको घर अलपत्र बनेको छ।’

जिल्लाका अधिकांश ग्रामीण बस्ती कच्ची सडक पार गरेर जानुपर्ने हुन्छ । यी बस्तीमा जाने बाटोमा वर्षा लागेदेखि नै यातायात बन्द भएको छ। धादिङबेसी–सल्यानटार, सांकोश–तिप्लिङ, आदामघाट–किराञ्चोक लगायतका सडक ठाउँठाउँमा पानीले बिगारेको छ। जसका कारण सवारीसाधन चल्न नसक्दा स्थानीय बासिन्दा समस्यामा परेका हुन्।

बन्दै गरेका पक्की सडकहरू पनि प्रायः ठाउँमा अलपत्र अवस्थामा छन्। सडक निर्माणलाई तीव्रता दिएर यातायात सहज बनाउन स्थानीय बासिन्दाले आग्रह गरेका छन्। ‘गाडी नचल्दा भनेका सामानहरू समयमै ल्याउन सकेका छैनौं, जोखिम मालेर सामान ल्यायो बाटोमै फसिदिन्छ,’ श्रेष्ठले भने, ‘बाटोको अवस्था यति बिग्रिएको छ कि सवारीसाधनमा यात्रा गर्नुभन्दा हिंड्न सुरक्षित र छिटो हुन्छ।’ वर्षा लागेयता गन्तव्यमै नपुगिएला कि भन्ने डर हुने गरेको उनको भनाइ छ।

जिल्लाको उत्तरी भेगमा चल्ने सवारीसाधन चल्न नसक्दा यस क्षेत्रमा दैनिक उपभोग्य सामान र पुनर्निर्माणका लागि आवश्यक सामग्री पु-याउन सकेको छैन सकिएको छैन । उत्तरी क्षेत्रमा खाद्यान्नसमेत लैजान कठिनाइ भइरहेको छ। उत्तरी क्षेत्रमा जाने धादिङबेंसीबाट सल्यानटार, सांकोश तिप्लिङ जोड्ने सडक निर्माण हुन नसक्दा स्थानीय बासिन्दाले हरेक वर्ष बर्खामा सास्ती बेहोर्दै आएका छन्। हिउँदमा जेनतेन सवारीसाधन चले पनि बर्खामा भने यी सडक बन्द हुने गरेका छन्।

धादिङबेसीदेखि टारीबेंसीसम्म २६ किलोमिटर सडकको स्तरोन्नति नुहुँदा सल्यानटार, मुलपानी, बसेरी, फूलखर्क लगायतका ठाउँमा जान समस्या भइरहेको छ। वर्षातका कारण कच्ची सडकहरू ठाउँ–ठाउँमा भत्किएका छन्। खाल्डाखुल्डी भएका ठाउँमा पानी जमेर सडक नै भासिएको छ भने हिलाम्य बनेको छ।

सुरु सुरुका दिनमा यात्रुले गाडी धकेलेरै भए पनि गन्तव्यमा पु-याउने गरेकमा अहिले त्यो पनि सम्भव नभएको स्थानीय बासिन्दा बताउँछन्। २०४२ सालदेखि जिटिजेडको सहयोगमा हरियाली मार्गका रूपमा निर्माण सुरु गरिएको धादिङबेसी–सल्यानटार सडक हरेक वर्ष सडक मर्मत सम्भारका लागि एक करोड रुपैयाँ हाराहारीमा खर्च हुने गरेको छ। तर सडकको अवस्थामा भने कहिले सुधार आउन सकेको छैन।

धादिङका अधिकांश ग्रामिण सडक वर्षा लागेदेखि प्रायः बन्द अवस्थामा छन। सदरमुकामबाट ग्रामिण क्षेत्रमा जाने सडकहरू बर्खा लाग्नेबित्तिकै सवारीसाधनहरू गुडाउनै नमिल्ने गरी बिग्रिएका छन्। दैनिक ६० भन्दा बढी सवारी साधन चल्ने जिल्लाको ग्रामीण क्षेत्रमा अहिले एउटा पनि चलेको छैनन्।








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad